- विश्वराज अधिकारी
यो आधुनिक युग ऊर्जाको जगमा उभिएको छ। ऊर्जा उपलब्ध नहुने हो भने यो मानव सभ्यता नै रोकिने स्थितिमा अहिले हामी बाँचिरहेका छौं। हामीलाई यातायातको लागि ऊर्जा चाहिन्छ। उद्योगको लगि ऊर्जा चाहिन्छ। व्यापारको लागि ऊर्जा चाहिन्छ। स्वास्थ्य, सुरक्षा र सफाइका लागि ऊर्जा चाहिन्छ।
घरभित्रको नै कुरा गर्ने हो भने हामीलाई बैठक, सुत्ने कोठादेखि लिएर बाथरूमसम्म पनि ऊर्जा चाहिन्छ। अर्थात् ऊर्जाको अभावमा हाम्रो जीवन कठिन हुने अवस्था छ। तर आश्चर्य ! यति महत्वपूर्ण ऊर्जा हामीकहाँ महँगो छ। ऊर्जा उत्पादन सस्तो हुन सकेको छैन।
बर्सेनि हामीले ठूलो मात्रामा ऊर्जा (पेट्रोलियम पदार्थ) आयात गर्नुपरेको छ। ऊर्जाको लागि केवल एउटै स्रोतमाथि अति आश्रित हुनुपरेको छ। भारतमाथि आश्रित हुनुपरेको छ। भारतबाट वा भारतीय भूमि भएर हामीले ऊर्जा आयात गर्नुको विकल्प नै छैन। पेट्रोलियम पदार्थ चीनबाट आयात गर्न सक्ने स्थितिमा हामी छैनौं। चीनबाट पेट्रोलियम पदार्थ कसरी आयात गर्न सकिन्छ भन्नेबारेमा हामीले ठोसरूपमा सोचेका पनि छैनौं। पेट्रोलियम पदार्थको लागि वर्षौंदेखि भारतप्रति आश्रित रहँदै आएका छौं। भारतप्रति हाम्रो अति निर्भरता कसरी घटाउने त्यसबारेमा सोचेकासम्म पनि छैनौं। भारतबाट हुने पेट्रोलियम पदार्थको आयातलाई सहज पार्न भारतको मोतिहारीदेखि अमलेखगंजसम्म भारतको खर्चमा पाइपलाइन निर्माण गर्न लगाएर ऊर्जा (पेट्रोलियम पदार्थ)का लागि भारतप्रतिको अति निर्भरतालाई झनै चुलीमा पुग्न सहयोग गरेका छौं। तर आफूले कसरी पेट्रोलियम पदार्थका लागि भारतप्रतिको अति निर्भरतालाई घटाउनेबारे सोचेका छैनौं। ऊर्जाको सन्दर्भमा यहाँ केवल पेट्रोलियम पदार्थको कुरा गरिएको हो। यस आलेखमा ऊर्जाको अर्काे स्रोत, जलविद्युत्बारे विशेष किसिमले उल्लेख गर्न खोजिएको छैन।
नेपालमा प्रजातन्त्र स्थापना (२०४७) भएको तीन दशक समाप्त भएर चौथो दशक प्रारम्भ भएको छ। यो तीन दशकमा हामीले ऊर्जा उत्पादनमा कसरी आत्मनिर्भर हुनेबारे गम्भीरतापूर्वक सोचेनौं। खासगरी पेट्रोलियम पदार्थको विकल्पबारे र भारतबाट हुने पेट्रोलियम पदार्थ आयातको विकल्पबारे गम्भीरतापूर्वक सोचेनौं। मुलुकको राजनीतिले पेट्रोलियम पदार्थका लागि भारतप्रतिको अति निर्भरता कसरी घटाउने विषयलाई महत्व दिएन। राजनीतिक दल र तिनका नेताहरू केवल शक्ति र सत्ताको पछि लागे। ऊर्जा उत्पादनमा कसरी हामी आत्मनिर्भर हुनेबारे सोचेनन्।
ऊर्जा र मुख्यगरी पेट्रोलियम पदार्थ आपूर्तिमा हामी पूर्णरूपेण भारतप्रति निर्भर रहेको स्थितिले हाम्रो राष्ट्रिय स्वाधीनता पनि प्रभावित हुन पुगेको छ। भारतले केवल एक हप्ता मात्र पनि आफ्नो देशबाट नेपालतिर पेट्रोलियम पदार्थ निर्यात नगर्ने हो भने हाम्रो दैनिक जीवन अस्तव्यस्त हुन पुग्छ। एक किसिमले रोकिन पुग्छ। यो स्थितिको भारतले निकै फाइदा उठाएको छ। पेट्रोलियम पदार्थका लागि भारतप्रतिको हाम्रो अति निर्भरतालाई भारतले आफ्नो त्यस्तो शक्तिको रूपमा उपयोग गरेको छ, जुन शक्ति प्रयोग गरेर भारतले नेपालमा ‘माइक्रो मैनेजमेन्ट’ गर्छ। हाम्रा सानासाना घरेलु कुराहरूमा पनि भारतले हस्तक्षेप गर्छ। हाम्रो राष्ट्रिय राजनीतिमा भारतलाई हरघडी उपस्थित रहन ऊर्जाका लागि भारतप्रति हाम्रो अति निर्भरताले सजिलो पारिदिएको छ। यदि ऊर्जाका लागि भारतप्रतिको हाम्रो अति निर्भरतालाई समाप्त पार्ने हो भने भारतले अहिलेको जस्तो नेपालको राजनीतिमा हस्तक्षेप गर्न पाउँदैन। तर हामीले ऊर्जा उत्पादनको क्षेत्रलाई प्रभावकारी नतुल्याएर, भारतबाट हुने पेट्रोलियम पदार्थ अति आयातको विकल्प नखोजेर हाम्रो राष्ट्रिय राजनीतिमा भारतलाई सजिलै हस्तक्षेप गर्ने मौका दिएका छौं। स्वयम् आफैंले त्यो अवसर प्रदान गरेका छौं।
अब प्रसङ्ग परिवर्तन गरौं। ऊर्जा उत्पादनलाई सस्तो पार्नेबारे चर्चा गरौं।
अबको यो समयमा हामीले ऊर्जा उत्पादनमा कसरी आत्मनिर्भर हुने भनी सोचेर मात्र हुँदैन। अब हाम्रोअगाडि अर्काे चुनौती पनि थपिएको छ। त्यो चुनौती कसरी सस्तोमा ऊर्जा उत्पादन गर्ने र कसरी जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराउने हो।
ऊर्जा र आर्थिक विकासबीच प्रत्यक्ष सम्बन्ध छ। यसैगरी, ऊर्जा र समृद्धिबीच पनि प्रत्यक्ष सम्बन्ध छ। हामीले आर्थिक विकास गर्न तथा देश र जनतालाई धनी पार्ने ऊर्जा उत्पादन सस्तो पार्नैपर्छ। यसको विकल्प छैन। देशमा ऊर्जा उत्पादन सस्तो नभएसम्म देशले आर्थिक विकास गर्न सक्तैन। जनता समृद्ध हुन सक्तैन। हामी गरीबीको कुचक्रबाट कहिले पनि बाहिर आउन सक्तैनौं।
ऊर्जाका दुई प्रमुख स्रोत– पेट्रोलियम पदार्थ र जलविद्युत् हामीकहाँ अति महँगा छन्। पेट्रोलियम पदार्थ त झनै महँगो छ। पेट्रोलियम पदार्थ अति महँगो भएकोले यातायात लागत झनै महँगो हुन पुगेको छ। समग्रमा भन्ने हो भने जलविद्युत् र पेट्रोलियम पदार्थ अति महँगो भएकोले हाम्रो जीवन लागत (ऋयकत या ष्खिष्लन) उच्च हुन पुगेको छ। अति महँगो हुन पुगेको छ। बहुसङ्ख्यक व्यक्तिहरूले महीनाभरिमा जति आम्दानी गर्छन्, त्यस आम्दानीको ठूलो भाग महँगो ऊर्जाद्वारा महँगो पारिएका वस्तु एवं सेवाहरूको खरीदमा खर्च गर्छन्। महँगो ऊर्जाले सबै वस्तु एवं सेवालाई प्रभाव पारेकोले हामीले उपभोग गर्ने सबै वस्तु र सेवा महँगो हुन पुगेका छन्। यसले गर्दा अति महँगीको स्थितिमा हामी बाँच्नुपरेकोले बहुसङ्ख्यक व्यक्तिले बचत गर्न सकेका छैनन्। जति आर्जन गरिरहेका छन्, त्यो आर्जन केवल जीवनयापनमा समाप्त भइरहेको छ। बचत हुन सकेको छैन। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्ने स्थितिमा नभएकाले हाम्रो राष्ट्रिय बचत पनि ठूलो हुन सकेको छैन। राष्ट्रिय बचत सानो भएकोले हामी ठूला लगानीका परियोजनाहरूमा आफैंले लगानी गर्न सकिरहेका छैनौं। उल्टो लगानी गरिदिन अनेक सङ्घसंस्था, राष्ट्रहरूको अगाडि हात पसारिरहेका छौं। भीख मागिरहेका छौं।
हामीले ऊर्जा उत्पादन सस्तो पार्ने हो। मुख्यगरी जलविद्युत्लाई अति सस्तो पार्ने हो, भारतबाट हुने पेट्रोलियम पदार्थ अति आयात स्थितिमा सुधार ल्याउने हो भने निश्चय पनि हामीले जीवन लागत कम पार्न सक्छौं। मध्यमवर्गीय (आम्दानीको हिसाबले) परिवारलाई पनि बचत गर्न सक्ने स्थितिमा पु–याउन सक्छौं। राष्ट्रिय बचतमा वृद्धि गर्न सक्छौं। राष्ट्रिय बचतलाई ठूलो पारेर आफ्नै देशभित्रबाट नै ठूलाठूला परियोजनाहरूमा लगानी गर्न सक्ने स्थिति ल्याउन सक्छौं।
धनी देशहरू खासगरी, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स आदि सस्तोमा ऊर्जा उत्पादन गर्न सक्षम भएर नै धनी भएका हुन्। आफ्नो जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराएर धनी भएका हुन्। उद्योग र व्यापारको क्षेत्रलाई सस्तोमा ऊर्जा उपलब्ध गराउन सक्षम भएर नै धनी भएका हुन्। अमेरिकाको यातायात व्यवस्था ऊर्जा सस्तो भएकोले नै सस्तो हुन पुगेको छ। व्यक्तिहरूको आम्दानीको तुलनमा अमेरिकामा ऊर्जाको मूल्य ज्यादै नै सस्तो छ। अमेरिकामा ऊर्जा सस्तो भएकोले, पेट्रोलियम पदार्थ सस्तो भएकोले, एक निम्न आय भएको व्यक्ति पनि अमेरिकामा कार राख्न अर्थात्
कार प्रयोग गर्न आर्थिक हिसाबले सक्षम छ। ऊर्जा सस्तो भएकोले नै अमेरिकामा जीवन लागत पनि सस्तो छ। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्षम छन्। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्षम भएकोले अमेरिका धनी हुन पुगेको छ। विश्वको सर्वाधिक धनी राष्ट्र हुन पुगेको छ।
हामीले आर्थिक विकासको गतिलाई तीव्रता दिने हो भने हामीले जसरी भएपनि ऊर्जा उत्पादन सस्तो पार्नेपर्छ। ऊर्जा सस्तो नभएसम्म हामीलाई हाम्रो गरीबीले सदासर्वदा पछ्याइनै रहनेछ। यो समय कसरी ऊर्जा उत्पादन सस्तो पार्न सकिन्छ भनी सोच्ने समय हो। यो सोच्ने जिम्मेवारी सबैको हो। जनता, नेता सबैको हो।