प्रस, निजगढ, २१ मङ्सिर/
बकैया खोलाबाट अवैधरूपमा ढुङ्गा निकाली निजगढ नगरपालिका–४ कछडियाबस्ती आसपास थुपारिएको ढुङ्गा जफत गर्ने निर्णय निजगढ नगरपालिकाले गरेको जनाएको छ ।

निजगढ नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले अवैधरूपमा थुपारिएको नदीजन्य पदार्थ ढुङ्गालाई जफत गरी यकीन परिमाण निकाली ठेक्का लगाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । अवैधरूपमा थुपारिएको ढुङ्गा हराउन सक्ने र गिरोहले अन्यत्र लगी लुकाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय सुुरक्षा निकाय इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारालाई पत्राचार गरिएको उनले जानकारी गराएका छन् ।

स्थानीयहरूलाई उस्काउँदै तस्कर गिरोहले दुई करोडभन्दा बढी मूल्यको सात हजार ट्याक्टर भन्दा बढी अवैध ढुङ्गा थुपारी अवैध धन्दा चलाउँदै आइरहेको समाचार प्रतीक दैनिकमा प्रकाशित हुँदै आएपछि निजगढ नगर कार्यपालिकालाई सो ढुङ्गालाई जफत गरी ठेक्का लगाउने निर्णय गर्न कानूनी र नैतिक दबाब परेको थियो ।

उक्त ढुङ्गाको तिहार अघि निजगढ नगरपालिकाले प्राविधिक टोली खटाइ नापजाँच गरी परिमाण निकालेको थियो । परिमाण निकालेको एक महीना बित्न लाग्दासम्म ढुङ्गालाई कानूनी दायरामा ल्याउन निजगढ नगरप्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले आलटाल गर्दै आएको आरोप लागेको थियो । अवैध रूपमा थुपारिएको ठूलो परिमाणको ढुङ्गालाई नदीजन्य पदार्थ सकार गर्ने ठेकेदार कम्पनी जय गणेश सप्लायर्सको कुुल ठेक्का परिमाणबाट घटाइ मिलान हुनेगरी निकासी गर्न दिने नगरप्रमुख पुरी र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको कानूनी मापदण्डविपरीत अवैध योजना रहे पनि अन्ततः विफल भएको छ ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को बुँदा नं ७ मा उत्खनन वा सङ्कलनको परिमाण नियन्त्रणको दफा नं (५)मा गाउँपालिका वा नगरपालिकाले ठेक्का अन्तर्गत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था स्थानीय पालिकालाई दिएको छ । त्यसैगरी, निजगढ नगर कार्यपालिकाको बहुमत सदस्यले पास गरेको निजगढ नगरपालिकाका नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खनन, सङ्कलन र बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७९ को बुदा नं ८ मा उत्खनन वा सङ्कलनको परिमाण नियन्त्रणको दफा नं (ग)मा नदी किनारा, वन क्षेत्र, सार्वजनिक स्थान वा निजी जग्गालगायतका कुनै पनि ठाउँमा भण्डारण गरी राखिएको अवैध नदीजन्य पदार्थ नगरपालिकाले जफत गरी लिलाम बिक्रीको व्यवस्था गर्ने भनिए पनि एक महीना बितिसक्दा पनि ती ढुङ्गा जफत गर्न ढिलाइ गरिएको थियो र यसमा नगरप्रमुख पुरी र प्रप्रअ बर्तौलाको संलग्नताको आरोप थियो ।

जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साहको संयोजकत्वमा मङ्सिर १३ गते बिहीवार बसेको बैठकले अवैधरूपमा भण्डारण गरिएको ढुङ्गा, बोल्डर जस्ता नदीजन्य पदार्थको परिमाण यकीन गरी नियम अनुसार ठेक्का लगाउन निजगढ नगरपालिकालाई गत आइतवार निर्देशानात्मक पत्राचार गरे पनि निजगढ नपाले ढिलाइ गर्दै आइरहेको थियो ।

करोडौं मूल्यका ढुङ्गा जफत गर्न नपर्ने कुनै कानूनी ठाउँ छ कि भन्दै नगरप्रमुख पुरी र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भरपूर प्रयास गरेको देखिएको छ । अधिकांश नगर कार्यपालिका सदस्यहरूले ऐन, कानून, मापदण्डविपरीत जान सक्ने कुनै आधार नभएको दरिलो प्रमाण पेश गर्दै आवाज उठाएपछि अन्ततः केही सीप नलागेपछि जफत गर्न र ठेक्का लगाउन नगरप्रमुख पुरी र प्रप्रअ बर्तौला विवश भएको नपा स्रोतले जनाएको छ ।

निजगढ नपाले ढुङ्गा जफत गरी लिलाम नगर्दा दुुई सय टिपरभन्दा बढी ढुङ्गा गिरोहले नगरपालिकाको संरक्षणमा वैध बनाउँदै निकासी गरिसकेको स्रोतले जनाएको छ ।

यही मङ्सिर ७ गते जिसस बारा प्रमुख साह, प्रजिअ वसन्त अधिकारी, डिभिजनल वन अधिकृत राजीवकुमार झा, जिप्रका बाराका प्रउ महेन्द्र खड्का, सप्रउ सन्तोषबहादुुर सिंह, जिल्ला समन्वय अधिकारी आमेद चौधरीलगायतको टोलीले अवैधरूपमा ढुङ्गा थुपारिएको स्थान र क्रसर उद्योगको निरीक्षण गरेपछि जिल्ला अनुुगमन तथा समन्वय समितिको बैठकले थुपारिएको सो ढुङ्गा नियमानुसार जफत गर्न निर्णय गरी निजगढ नपालाई पत्राचार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here