‘निधि’ पुस्तकको लोकार्पण

प्रस, परवानीपुर, २१ मङ्सिर/
नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित पत्रकार किशोर नेपालद्वारा लिखित ‘निधि’ नामक पुस्तकको शुक्रवार वीरगंजमा लोकार्पण गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले नेका, पर्साको सभाहलमा आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरेका थिए । सो अवसरमा नेता रिजालले स्व महेन्द्रनारायण निधि मधेसका नेता भएपनि सम्पूर्ण नेपाली जनताको मनमा स्थान बनाएको बताए ।

स्व निधि सम्पन्न परिवारमा जन्मे पनि सुखसुविधा त्याग गरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएको बताए । नेपाली जनतालाई अधिकार दिलाउन आफ्नो जीवनकाल अर्पण गरेका निधिले महात्मा गाँधीको मार्गमा हिंडेर नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको चर्चा गरे । निधिले देखेको सपना जस्तो नेपाल बनोस् तर हामी सो कार्यमा असफल भएको उनले बताए । आगामी दिनमा निधिले देखिएको बाटोमा अगाडि बढेर देश समृद्ध गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

नेका पर्साका उपसभापति रामनारायण कुर्मीले स्व निधिको जीवनीबारे पत्रकार नेपालले लेखेको पुस्तक यही मङ्सिर ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले लोकार्पण गरेको र अहिले पर्सामा सोको लोकार्पण गरिएकोमा खुशी व्यक्त गरे । उनले लेखक नेपालले पुस्तक लेखनमा मेहनत गरेको र अहिलेका पुस्ताले स्व निधिको जीवनीबारेमा पुस्तकको माध्यमबाट धेरै कुरा जान्न, बुझ्न र सिक्न सक्ने बताए ।

पुस्तक लेखक पत्रकार नेपालले बहुआयामिक व्यक्तित्व निधिले नेपालमा लोकतन्त्र स्थापना, पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरण जगाउन गरेका कार्यबारे जान्न र बुझ्न चाहनेका लागि आफूले लेखेको यो पुस्तक सङ्ग्रहणीय हुने बताए ।

कार्यक्रममा पत्रकार चन्द्रकिशोर झा, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पुस्तक प्रकाशिका रुचि श्रेष्ठलगायतको सहभागिता थियो ।

कार्यक्रममा स्वागत रमेश पाण्डे र सहजीकरण पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्