• सञ्जय मित्र
१. विषय प्रवेश
नेपाली साहित्यमा नियात्रा विधा वर्तमानमा निकै सशक्त भएर आएको छ । यात्राको जीवन्त अनुभूति गराउन सक्ने सामथ्र्य भएको नियात्राले यात्रा गर्न पनि प्रेरित गर्छ । देशाटन गर्ने तथा प्राप्त अनुभूति र अनुभवलाई समेटेर यात्रावर्णनकै शैलीमा निबन्ध लेखिने भएकोले यसले पाठकलाई आकर्षित गर्छ । नेपाली साहित्यमा नियात्रा विधा निकै पुरानो छ । यही विधालाई आफ्नो परिचयसित जोडिएर पहिचान बनाउनेमा एक हुन्, रमेशमोहन अधिकारी । अधिकारीको हालै एउटा नियात्रा सङ्ग्रह प्रकाशित भएको छ– संयात्राको संयोग ।
२. परिचय
रमेशमोहन अधिकारीको जन्म रौतहटमा भएको हो । नेपाली साहित्यमा स्नातकोत्तर अधिकारी अध्यापन मूल पेशाबाट निवृत्त भएर पनि पूर्णतः अलग भइसकेका छैनन् । अधिकारीले ५० को दशकदेखि साहित्यमा आफ्नो पहिचान बनाउन थालेका हुन् । साहित्यिक संस्थाको स्थापना, पत्रिका प्रकाशन र सम्पादन, पुरस्कारको स्थापनाजस्ता प्रोत्साहनमूलक सबै क्षेत्रमा कम्तीमा तीन दशकदेखि सक्रियताको पर्याय बनेका अधिकारीको मूल कर्मथलो र बासस्थान मकवानपुर रहँदै आएको छ ।
दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित भएका अधिकारीको ‘सम्झनाको सेरोफेरो’ संस्मरण तथा नियात्रा सङ्ग्रह (२०६३), ‘घुम्तीहरू छेलिएपछि’ संस्मरण तथा नियात्रा सङ्ग्रह (२०७४), ‘गुराँस र युद्ध’ कविता सङ्ग्रह (२०७५) तथा ‘आफैंसँग’ संस्मरण तथा नियात्रा सङ्ग्रह (२०७८) प्रकाशित साहित्यिक कृतिहरू हुन् । प्रस्तुत ‘संयात्राको संयोग’ (२०८१, असार) अधिकारीको पाँचौं साहित्यिक कृति तथा प्रथम पूर्णतः नियात्रा सङ्ग्रह हो ।
बुलबुल प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको प्रस्तुत कृतिमा विभिन्न २८ नियात्रा सङ्कलित छन् ।
३. संयात्राको संयोग
अधिकारीको ‘संयात्राको संयोग’ पूर्णतः नियात्राको पहिलो कृति हो । शिक्षकबाट सेवानिवृत्त भएपछि अधिकारी निरन्तर यात्रामा निस्केका छन् र तिनै यात्राका विषयवस्तुलाई साहित्यको आकार दिएका छन् । यही आकारको ज्वलन्त दृष्टान्त यो कृति बन्न पुगेको छ । यही भ्रमणलाई आधार बनाएर कृतिलाई पाँच खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्ड ‘हिमाल हेर्दै हिमालतिर’ रहेको छ । यस खण्डको पहिलो नियात्रा ‘हिमाल हेर्दै मुक्तिनाथतिर’, दोस्रो नियात्रा ‘सिमसिम पानीमा श्राद्ध’, तेस्रो नियात्रा ‘स्याउ छुटेको थकथक’, चौथो नियात्रा ‘फेरि मुक्तिनाथ’ र पाँचौं नियात्रा ‘जोमसोमदेखि पर्वतसम्म’ रहेका छन् ।
कृतिको दोस्रो खण्ड रहेको छ– एक फन्को पूर्व । ‘किम्बुको स्वाद’ शीर्षकबाट शुरू हुन्छ, दोस्रो खण्ड । ‘ कालिन्चोकमा एक चक्कर’ दोस्रो खण्डको दोस्रो नियात्रा हो । यसपछि आएको छ ‘पुख्र्यौली घर खोज्दै कठजोर’ नियात्रा । पाँचौं नियात्रा हो– ‘ओखलढुङ्गाबाट ओखलढुङ्गै’ । सबैभन्दा बढी शीर्षक समेटेको यस खण्डको अर्को नियात्रा ‘गुफा घुम्दै हलेसीबाट इटहरी’ रहेको छ । ‘लालबाबू पान खान्छ’ शीर्षकमा यस खण्डको छैटौं नियात्रा रहेको छ । अनि आउँछ, ‘उदपुरको घिडघिडो’ । दोस्रो खण्डको अन्तिम नियात्रा हो, ‘बन्दीपुरका बिरामी जोगी’ ।
‘सरसर्ती सुदूर’ तेस्रो खण्ड हो, कृतिको । यसमा पहिलो नियात्रा रहेको छ, ‘प्रियालाई नभेटी छाडियो कैलाली’ । ‘टनकपुरमा मन कुँड्याउँदै डडेलधुरा’, दोस्रो नियात्रा हो । तेस्रो खण्डको तेस्रो नियात्रा ‘दार्चुलामा एक रात’, चौथो नियात्रा ‘साँधमा बास र पाँचौ नियात्रा ‘हुस्सु छिचोल्दै कर्णाली पुल’ रहेका छन् ।
‘पश्चिमतिर पाइला’ उपशीर्षक चौथो खण्डमा सात नियात्रा रहेका छन्– ‘साथी खोज्दा’, ‘तिलौराकोटतिर’, ‘सहकारीसँग स्वर्गद्वारी’, ‘लुम्बिनीतिर पाइला’, ‘कपिलवस्तुका केही कुरा’, ‘स्याङ्जादेखि रानीमहलसम्म’ र ‘रिडीको रौनक र पाल्पाको टोपी’ ।
कृतिको अन्तिम खण्ड हो, ‘छिरलिएका सम्झना’ अन्तर्गत ‘सौराहामा रमाउँदै देवघाट’, ‘छङ्गु लेकमा पहिलो लेक’ तथा ‘झरनाको यात्रा : झरनामा’ रहेका छन् । नियात्राकारले ‘आफ्नो भनाइ’ कृतिको अन्तिम पाठको रूपमा प्रस्तुत गरेका छन् । यसरी पाँच खण्डमा विभाजित ‘संयात्राको संयोग’भित्र २८ वटा नियात्रा सङ्ग्रहित छन् ।
४. विषयवस्तु
‘संयात्राको संयोग’ रमेशमोहन अधिकारीको प्रवृत्तिसित मिल्दो कृति हो । घुम्न रुचाउने र लेख्न मन पराउने व्यक्तिमा हुनुपर्ने यायावरीयपनको विम्ब हो, यो कृति । अधिकारीका पहिलेका संस्मरण र नियात्राजस्तै यो पनि सरल प्रवाहमा बग्ने कृति बन्न पुगेको छ ।
पहिलो खण्डमा परेका पाँच नियात्रामा क्रमबद्धता र अन्तरसम्बन्ध पाइन्छ । नियात्राहरू पूर्णतः अलग होइनन् ।
मुक्तिनाथतिर बढेका पाइला जोमसोममा रोकिन्छ । पृथक अनुभूतिसहित दोस्रो नियात्राले मुक्तिनाथ दर्शन गराउँछ । तेस्रो नियात्रामा उत्सुकताको अवतरण हार्दिक र आत्मीय छ, पोखरामा । दोस्रोपटकको मुक्तिनाथ यात्रा पहिलेभन्दा धेरै मानेमा फरक छ । यस खण्डको अन्तिममा जोमसोमभन्दा पर्वतले बढी माया पाएको देखिन्छ ।
सिन्धुलीमा उमानाथ शास्त्री प्रतिष्ठान र भोको पेटमा किम्बुले दिएको आनन्दको स्वाभाविक वर्णन छ । अन्य मन्दिरको भन्दा कालिन्चोकमा भोगेको पृथक यथार्थ पाठकलाई रोचक लाग्छ । कठजोरको वर्णन यस कृतिको जीवन्त रचना हो, बहुमूल्य सम्पत्ति हो । ओखलढुङ्गालाई चिनाउन सक्ने सामथ्र्य र साहित्यिक भावले ओतप्रोत नियात्रा रोचक छ । इटहरीसम्म पुगेको भनिएको नियात्राले पनि धेरै कुराको जानकारी दिएको छ । लालबाबूप्रति समर्पित रचनाले मित्रताको धेरै पक्षलाई यात्रासँगै समेटेको छ । उदयपुरबाट फर्किनुपर्दाको सास्तीलाई र त्यस अघिको हार्दिकतामा पाठकले पनि सामञ्जस्य मिलाउन सजिलो हुँदैन । बन्दीपुरको नियात्रा निकै जानकारीमूलक र वर्णनात्मक छ ।
सुदूरतिर जाँदा श्रेष्ठ प्रिया पत्थरलाई समय मिलाएर पनि भेट्न नपाएको पीडाबोध छ । टनकपुरमा मन कुँडिएको छ र कुँडिनुको कारण पनि चित्रित छ । दार्चुला पुगेपछि अलिकति वीरताबोध हुन्छ । साँधमा बास भनिए पनि यो नियात्रामा देशभक्तिको उच्च भाव पाइन्छ । इतिहासका पुज्य व्यक्तित्वहरूप्रति उच्च सम्मान छ । महँगो गाडी भाडा, यात्राका सास्ती, होटेल अति नै महँगो र कर्णालीपुलको अवलोकन । अनेकानेक भावबोध गराउने अन्तिम नियात्राको यो स्मरणीय छ– गयो डोटी खायो रोटी फर्कंदा, धोती न टोपी ।
वर्षौं होइन, दशकौं पुरानो साथीको खोजी आनन्द, जोखिम र उत्सुकताले भरिएको छ । बुद्धकालीन तिलौराकोटको दर्शन र अन्य सम्बद्ध पक्षहरूबारे रोचक जानकारी छ । दुई भ्रमणमध्ये एक रोजेर स्वर्गद्वारी पुगिएको छ । किंवदन्तीले पनि यसमा स्थान पाएको छ । लुम्बिनी तथा कपिलवस्तुका दुई नियात्राले यथोचित जिज्ञासालाई साम्य पार्न र नियात्राकारको भावलाई बुझाउन पर्याप्त सामथ्र्य राख्छन् । रानीमहलप्रति नियात्राकार निकै भावुक भइदिन्छन् । अनि रिडीको रौनकले तानेको तथा पाल्पाको टोपीले सजाएको विषयवस्तु नियात्रामा सज्जिएका छन् ।
सौराहामा रमाउँदै देवघाट पुगेको वर्णन सरल छ । गान्तोकभन्दा ४२ किलोमिटर उत्तरपूर्वमा रहेको छङ्गु लेकसम्म पुग्न र त्यहाँबाट फर्किन गरिएका सम्पूर्ण शब्द पूर्णतः सार्थक छन् । नजीकैको यात्रालाई माया गरिएको अन्तिम नियात्रा झरनाको बारेमा छ । झरना र झरनाको यो सान्निध्य सुन्दर छ ।
अधिकारीका नियात्राले नै विषय बोलेको हुन्छ । धार्मिक दृष्टिले महŒवपूर्ण नेपालका मुख्यतः पहाडी क्षेत्रको भूगोल आएको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलहरूमा समूहमा नियात्राकार पुग्छन् । यस सङ्ग्रहका अधिकांश शीर्षकमा ठाउँको नाम आएको छ । यसर्थ विषयबोधमा खासै जटिलता रहेको छैन । केही निबन्धको शीर्षकले स्थानबोध गराउँदैन तर यसलाई, कम्तीमा यस कृतिभित्रका नियात्रा शीर्षकहरूको आधारमा, अधिकारीको प्रवृत्ति मान्न सकिंदैन ।
५. विशिष्टतार सुझाव
‘संयात्राको संयोग’को मुख्य विशेषता एकै यात्राका विभिन्न नियात्रा हुनु हो । एउटा नियात्रा टुङ्गिनु र अर्को त्यहींबाट शुरू हुने नियात्राहरूले शृङ्खलाबद्धता सिर्जना गरेका छन् । यात्राको क्रममा आउने विभिन्न ठाउँहरूको नाम उल्लेख गर्नुले अरूलाई पनि यात्रा गर्दा सरल बनाइदिएको छ । अनेकानेक व्यक्ति वा पात्रहरूको नाम समावेश गरिएका छन्, यात्रामा भेटिएका र भएका । सरलता यसको अर्को सम्पत्ति हो । सम्भव भएसम्मका जानकारीहरू खाँदिएका छन् । वर्णनात्मकता र विवरणात्मकता दुवै शैलीको उपयोग गरिएको छ । धेरै नियात्रामा पूर्वदीप्तिको उपयोग गरिएको छ । नियात्रा सिर्जनाको तिथिमिति उल्लेख गरिनु र अधिकांश नियात्राको समापनमा उत्सुकता बाँकी नरहनु पनि यसको विशेषता बन्न पुगेको छ । धार्मिकस्थलहरूको बाहुल्य यस नियात्राको अर्को विशेषता हो ।
यात्राको गतिमा कतिपय अवस्थामा व्यक्ति र स्थानका नामले पाठकलाई अवरोध सिर्जना गरेको लागेको छ । कुनै कुनै ठाउँमा दुईपटक पुग्दाको अनुभूति राखिएका छन् । एउटै कुरोलाई दोहो¥याएर पढ्नुपर्दा अघाएकोलाई मीठो खानाजस्तो हुन पुग्छ । नियात्रालाई लामो बनाउन सकिने ठाउँमा कुनै पत्रिकाको आवश्यकता अनुसार बनाइएको अनुभूति हुन्छ । सलल बग्न दिनुपर्नेमा रोकिदिएको जस्तो । कृतिभित्र रहेका पाँच खण्डमध्ये चार खण्डलाई अलिक अझ विस्तार गरेर चार कृति बनाउन सकेको भए अझ बढी जानकारीमूलक र साहित्यिक बनाउन सकिन्थ्यो ।
र, अन्त्यमा
‘संयात्राको संयोग’मा संयोगले हुन पुगेका, यात्राको संयोग मिलाइएका गरी दुवै किसिमका नियात्रा रहेका छन् । कृतिको शीर्षक पूर्णतः सार्थक छ । यस कृतिसँगै नियात्राकारले आफूलाई चिनाउन खोजेको पहिचान कायम भएको छ– नियात्राकार रमेशमोहन अधिकारी ।