प्रस, परवानीपुर, १ कात्तिक/
वीरगंजबाट चार दिनदेखि बेपत्ता भएका एकजनाको शव बिहीवार बारा जिल्लामा फेला परेको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नं १ नकटुवाको सरेहमा पर्ने गण्डक नहरको किनारबाट वीरगंज–३ छपकैया बस्ने वर्ष २६ का वीरेन्द्र साह सोनारको शव बरामद भएको हो ।
शव बरामद हुने स्थान इलाका प्रहरी कार्यालय, प्रसौनी–नौतनको चेक प्वाइन्टबाट लगभग डेढ किलोमिटर टाढा र त्रिवेणी पुलभन्दा ५० मिटरनजीक पर्छ । आज बिहान सो शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भारत, रक्सौल घर भई हाल सोनारकै घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसँगै सोनार गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए ।
डेरामा बस्ने ३५ वर्षीय कलवार अहिले सम्पर्कविहीन रहेको बारा प्रहरीले जनाएको छ । शव बरामद भएपछि सर्जमिन, मुचुल्का गरी शल्यपरीक्षणको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए । यस घटनामा पर्सा प्रहरीसँग पनि समन्वय भइरहेको उनले जानकारी दिए ।
सोनारको हत्या गरी गण्डक नहरमा फालिएकोले शरीरका अङ्ग केही कुहिसकेका थिए । हत्या आरोपमा प्रहरीले मृतक सोनारकी पत्नीलाई पक्राउ गरेको छ । अवैध सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि प्रहरीले जनाएको छ ।