प्रस, परवानीपुर, ८ असोज/
एक सातादेखि गर्मी बढ्दा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजबाट प्रवाह हुने विद्युत् सेवा प्रभावित भएको छ ।

वितरण केन्द्र वीरगंजको पर्सा र बाराका शहरी तथा ग्रामीण भेग एवं औद्योगिक क्षेत्रमा समेत विद्युत् सेवा निस्प्रभावी भएको आम उपभोक्ताहरूको भनाइ छ । वीरगंज–१४ पिपरा र बहुअरीका उपभोक्ताहरूको समूहले गएराति वितरण केन्द्रअगाडि प्रदर्शन गरेको थियो ।

छिनछिनमा ट्रिपिङ हुने, आधादेखि एक घण्टासम्म लाइन कट्ने समस्याले आफूहरू मर्कामा परेकोले केन्द्रअगाडि विरोध जनाउन आएको उपभोक्ताहरूले बताएका छन् । कतिपय ठाउँमा लोड अनुसार ट्रान्सफर्मरले लोड धान्न नसक्दा भोल्टेज कम हुने, लाइन आउँदा एमसिभी पटकपटक खस्ने, पङ्खा, फ्रिजलगायत विद्युतीय उपकरणहरू नचल्दा पीडामा परेको उपभोक्ताहरूले बताएका थिए ।

“नेपाल विद्युत् प्राधिकरणले मिटर रिड गरेर महसूलसहितको बिल मात्र पठाउने काम गर्छ । प्रभावकारी सेवा दिंदैन,” वीरगंज–१४ पिपराका जयप्रकाश पटेलले भने, “विद्युत् महसूल एक रुपैयाँ पनि छोड्दैन । एक साता ढिलो हुँदा जरिवाना बढाएर थप महसूल असुल्छ ।”

यस विषयमा वितरण केन्द्र वीरगंजका प्रमुख अवधेश दुबेले अत्यधिक गर्मीले गर्दा विद्युतीय उपकरणको बढी प्रयोग हुँदा लोड बढ्ने गरेको र सो अनुसारको विद्युत्को आपूर्ति नहुँदा समस्या भएको बताए । अहिले वीरगंजमा दैनिक तीन सय मेगावाट विद्युत् खपत भइरहेकोमा आपूर्ति भने २५० मेगावाट भएर त्यसैबाट काम चलाउनुपरेको उनले स्पष्ट पारे ।

एकातिर लाइन काटेर अर्कोतिर दिनुपर्ने अवस्था छ, शहरी तथा ग्रामीण भेगमा सर्वसाधारण उपभोक्ताहरूको विद्युत् खपतमा सात प्रतिशत अर्थात् अघिल्लो आव २०७९/८० भन्दा गत आव २०८०/८१ मा एक लाख सात हजार युनिट विद्युत् खपत बढेको तथ्याङ्कले देखाउँछ भने औद्योगिक प्रयोजनतर्पm तीन प्रतिशतले लोड घटेको उनी बताउँछन् ।

आर्थिक मन्दीको कारण उद्योगधन्दा कम चल्दा औद्योगिक क्ष्Fेत्रमा विद्युत् भार कम परिरहेको छ । वीरगंज, गण्डक, परवानीपुर सबै गरी करीब ३५०० सानाठूला उद्योगहरू ग्राहक छन् भने शहरी र ग्रामीण भेग गरी वीरगंज वितरण केन्द्र मातहत ५२ हजार पाँच सय उपभाोक्ता छन् । यसरी दुवै जोड्दा करीब ५६ हजार उपभोक्ता हुन आउँछन् । शहरी र ग्रामीण भेगमा २५ वटा फिडर छन् भने औद्योगिक क्ष्Fेत्र र ११ हजार केभिएमा १०/१० र ६६ हजार केभिएमा पाँचवटा फिडर छन् । बारा, परवानीपुर गापा–५ नौतन बहुअरीमा स्थापना भइरहेको गण्डक सबस्टेशनमा थप १० वटा फिडर बढ्ने अनुमान छ । सबस्टेशनको काम ग्रिडबाट विद्युत् लिनेदिने व्यवस्थापन मिलाउने हो भने वितरण केन्द्रको काम विद्युत् सेवा उपभोक्तासमक्ष पु-याउने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here