पटेर्वासुगौलीमा १० शय्याको आधारभूत अस्पतालको उद्घाटन, शिक्षा, स्वास्थ्यमा नेपाल आत्मनिर्भर बन्दैछ –पूर्वप्रम देउवा

प्रस, पंचगावाँ, ८ असोज/
पटेर्वासुगौली गाउँपालिका–४ सुपौली फरहदवामा निर्मित १० शय्याको आधारभूत अस्पतालको मङ्गलवार नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सभापति देउवाले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाल आत्मनिर्भर बन्दै गएको बताए । उनले पछिल्लो समयमा शिक्षा र स्वास्थ्य सेवामा ग्रामीण मानिसहरूको पहुँच पनि बढिरहेको बताए । उनले यो क्षेत्रलाई निश्शुल्क सेवाप्रवाह गर्ने बताउँदै यसको भरपूर लाभ उठाउन आग्रह गरे । उनले पटेर्वासुगौलीमा १० शय्याको आधारभूत अस्पतालसँगै आधुनिक उपकरण जडान भएपछि यहाँका मानिसहरू सेवा लिन वीरगंज जानु नपर्ने अवस्था सिर्जना भएको बताए । उनले शिक्षा, स्वास्थ्य जस्ता कुरामा सरकार संवेदनशील भएको र जनताले पनि सरकारको साथ दिनुपर्ने बताए ।

गापा अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेका, पर्साका सभापति एवं मधेस प्रदेशका मन्त्री जनार्दनसिंह क्षत्री, सङ्घीय कानूनमन्त्री अजय चौरसिया, पूर्वमन्त्री रमेश रिजाल, सुरेन्द्रप्रसाद चौधरी, नेकाका आर्थिक समितिका संयोजक अनिल रूँगटा, प्रदेशसभा सदस्य शङ्कर चौधरी, राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गाना, पूर्वमन्त्री उमाकान्त चौधरी, नगिना यादव, मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गापा उपाध्यक्ष ममता महतोले स्वागत गर्दै पर्सा जिल्लामा आधारभूत अस्पताल पहिलोपटक पटेर्वासुगौलीमा सञ्चालनमा आएको बताइन् । उनले तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा २०७७ मङ्सिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास भएकामा पटेर्वासुगौलीमा १० शय्याको आधारभूत अस्पताल रु आठ करोड १० लाखमा निर्माण भएको बताइन् । उनले अस्पतालमा पालिकाले उपकरणको लागि दुई लाख रुपैयाँ व्यवस्था गरेको बताइन् । आधारभूत अस्पतालमा डिजिटल एक्स–रे, प्रयोगशाला, इसिजी, अल्ट्रासाउन्ड, फार्मेसी, ओपिडी, प्रसूतिगृहको पनि सुविधा भएको उनले जानकारी गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here