नेपाल पत्रकार महासङ्घको अधिवेशन सदस्यतासम्बन्धी विवादका कारण टुङ्गै लाग्न सकेको छैन । सदस्यता विवादका कारण एकपछि अर्को मिति सर्दै गएको छ भने पछिल्लो विवादमा अध्यक्ष, कावा अध्यक्ष र उपाध्यक्ष गरी लगातार तीनजना पदाधिकारीले एकपछि अर्काे गरी राजीनामा दिएका कारण अधिवेशन कहिले हुने भन्नेबारेमा झनै अन्योलता बढेको हो । शुरूमा जेठ २६ गते देशभर अधिवेशन गर्नेगरी सूचना जारी भएको थियो । तर सो मितिमा हुन सकेन र त्यसपछि असार अनि असोजमा दुईपटक मिति घोषणा गरियो । असोज ५ गते गरिएको मितिमा अध्यक्ष विपुल पोखरेलले राजीनामा गरेपछि मिति सरेर असोज १२ गते तोकियो । यसबीचमा कावा बनेका उपाध्यक्ष रमेश विष्टले निर्वाचनको तयारी थालेका थिए । तर उनको बखतमा पनि देशभरका ५३ जिल्ला शाखाले सदस्यता विवादको टुङ्गो लगाएर निर्वाचनमा जान सुझाएका थिए । सोहीअनुरूप कावा अध्यक्ष विष्टले केन्द्रीय पदाधिकारीहरूको बैठक गरेर सदस्यता टुङ्गो लगाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
यसबीचमा महासङ्घमा लगाइएको ताला खुलेको थियो तर उनले बैठक बोलाउँदै राजीनामा दिए । राजीनामा दिनुको कारण उनले गम्भीर देखाए । विभिन्न दलका भ्रातृ सङ्गठनहरूको निरन्तर दबाबका कारण राजीनामा दिनुपरेको उनको आरोप थियो । उनको राजीनामा आएकै दिन अर्की उपाध्यक्ष बाला शर्माले पनि सक्रिय राजनीतिमा संलग्न हुने भनेर पत्रकार महासङ्घको उपाध्यक्षबाट घुमाउरो पाराले राजीनामा दिइन् । अहिले असोज १२ गतेका लागि भनिएको निर्वाचन निर्वाचन समितिले अनिश्चितकालका लागि स्थगन गरिदिएको छ । अहिलेसम्म नेपाल पत्रकार महासङ्घको निर्वाचन २०४६ सालपछि लगातार सरेको यो पहिलोपटक हो । यस अघि तोकिएकै समयमा महासङ्घको निर्वाचन हुँदै आएको थियो । नेपाल पत्रकार महासङ्घको विधानमा जिल्ला शाखाले निर्वाचनको छ महीना अघि नै नयाँ सदस्यता माग गर्ने, नवीकरण गर्ने व्यवस्था छ । सोहीअनुरूप जिल्ला शाखाहरूले नयाँ सदस्यता माग गर्दै पुरानाको नवीकरण गरेका थिए । तर केन्द्रीय पदाधिकारीहरूमध्ये केहीले जिल्ला र प्रदेशबाट सिफारिश नभएकाहरूलाई पनि सदस्यको सूचीमा राख्ने, उनीहरू सदस्य नभए पनि नवीकरण गरेको र कुनै पनि जिल्लामा सदस्य नभएकाहरूलाई पनि जिल्लाबाट अन्य जिल्लामा स्थानान्तरण गरेर पठाएपछि विवाद भएको हो । यही विवादका बीच अहिलेसम्म महासङ्घले चारपटक मतदाता नामावली प्रकाशनमा ल्याइसकेको छ । तर चारैपटकको नामावलीमा शाखाहरू भने सन्तुष्ट नभएकाले विवाद साम्य हुनुको साटो चुलिंदै गएको छ ।
नेपाल पत्रकार महासङ्घ पत्रकारहरूको साझा सङ्गठन हो । यसको विधान छ र सोही विधानअनुरूप सञ्चालन हुनुपर्नेमा विधानविपरीत कार्य हुँदा सोको विरोध बढेको र अहिलेसम्म अधिवेशन हुन नसकेको हो । पत्रकारहरूको साझा र स्वतन्त्र सङ्गठनका रूपमा परिभाषित हुँदै आएको महासङ्घको नेतृत्वमा भने अहिलेसम्म दलकै आर्शिवादमा नेतृत्व चयन हुँदै आएको कुरालाई नकार्न सकिंदैन । अहिलेसम्मको नेतृत्व यसैगरी दलकै आर्शिवादमा हुँदै आए पनि नेतृत्वकर्ताहरूले भने दलगत बनाएका थिएनन्, अपवादबाहेक । तर यसपटकको अधिवेशनमा भने दलगत गुटबन्दी बढी भएको र महासङ्घको विधानलाई लत्याउने कार्य भएको कारण यस प्रकारका विकृतिले प्रश्रय पाएका हुन् ।