उत्तर कोरियाली नेता किम जोङ उनले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससंँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् । किमले रूससँगको सैन्य सम्बन्धलाई अझ बलियो बनाउने आश्वासन दिएका छन् । पश्चिमी शक्तिहरूले यस अघिदेखि नै उत्तर कोरियाले युक्रेनी युद्धमा रूसलाई हतियार बेचेको आरोप लगाउँदै आएका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत जूनमा प्योङयाड्ढो भ्रमणको क्रममा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । यस सम्झौताले उत्तर कोरिया र रूसबीच भविष्यमा सहयोग र सहकार्यलाई थप विस्तार गर्ने सङ्केत दिएको छ । यतिबेला रूस र उत्तर कोरियाका सञ्चारमाध्यमहरूले दुई देशबीचको रक्षा सम्बन्धलाई बढी महŒव दिएर समाचार सामग्रीहरू प्रकाशन गरिरहेका छन् । उत्तर कोरियाले हालै युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गर्दै आत्मरक्षाका लागि आणविक हतियारको उत्पादन बढाउने कुरा पनि गरेको छ । यसलाई अमेरिका र दक्षिण कोरियालगायतका राष्ट्रहरूले रूसको युद्धका लागि सैन्य सामग्री आपूर्तिका लागि उत्तरको चाल भनेका छन् ।
रूस, उत्तर कोरियाको प्रमुख सहयोगी राष्ट्रहरूमध्ये एक हो । सन् २०२२ मा युक्रेनी युद्ध शुरू भएपछि पश्चिमसँगको रूसी सम्बन्ध बिग्रिएको छ । यी सबै कुराले के सङ्केत गरेको छ भने रूस–युक्रेन युद्ध छिटो टुङ्गिएन र कुनै कारणवश युक्रेनको जीत जस्तो देखिने अवस्था रह्यो भने रूसले युद्ध छोड्दैन । त्यति बेला उसलाई थप हतियार अपरिहार्य छ । यो अवस्थामा जुनसुकै विघ्न–बाधाको सामना गरेर भएपनि उत्तर कोरिया र रूसबीच हतियार तथा सैन्य सहयोग घोषितरूपमा नै आदानप्रदान हुने सम्भावना छ । ‘मरता क्या नहीं करता’को अवस्थामा रूस पुगेको यसमा दुईमत छैन । पश्चिमा मुलुकहरूले युक्रेनलाई हतियार दिएर युक्रेनमार्फत आफूहरू लडिरहेका छन् भन्ने बुझाइ रूस र उत्तरको छ । यसमा रूस कथं तल परेछ भने उत्तर कोरियाको लागि ठूलो झटका हुनेछ । यसो भएमा उत्तरमाथि पश्चिमाहरूले सिकन्जा झन् साँघुरो बनाउँदै जानेछन् । यसर्थ पनि उत्तरले खुलेर रूसलाई सहयोग गर्नुपर्ने बाध्यता आउन सक्छ ।
उत्तर कोरियाले रूसलाई अधिक हतियार आपूर्ति गर्दा रूसको सैन्य क्षमतामा वृद्धि हुन सक्छ, जसले युक्रेनी युद्धमा रूसको प्रभावकारिता बढाउन मदत पुग्नेछ । यसले उत्तर कोरियाले आफ्नो हतियारहरूको बजार विस्तार गर्ने मौका पनि पाउँछ । त्यसो भएमा उत्तर कोरिया र रूसमाथि थप आर्थिक वा राजनीतिक प्रतिबन्धहरू लाग्न सक्छन् । यदि रूसले उत्तर कोरियाबाट अत्याधुनिक वा अत्यधिक प्रभावकारी हतियार प्राप्त गर्छ भने, यसले युक्रेन र नेटो राष्ट्रहरूको सैन्य रणनीतिमा महŒवपूर्ण चुनौती सिर्जना गर्छ । युक्रेन र नेटो राष्ट्रहरूले रूसको नयाँ हतियारहरूको सामना गर्न थप सैन्य आपूर्ति र आर्थिक सहयोग गर्नुपर्ने हुन सक्छ, जसले तिनीहरूको बजेटमा थप बोझ थप्छ । खुल्ला हतियार आदानप्रदानले ग्लोबल सुरक्षा वातावरणमा अनिश्चितता र अस्थिरता वृद्धि गर्छ । यसले ठूला द्वन्द्व र सङ्घर्षहरूको सम्भावनालाई अझ बढाउन सक्छ, जसले विश्वभरका राष्ट्रहरूलाई जोखिममा पार्न सक्छ । यसर्थ रूस–युक्रेन युद्धबाट कसैले केही जित्न सक्ने होइन, विश्वलाई खतरा मात्रै पैदा गर्छ । तसर्थ शान्तिपूर्ण कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नेतर्फ विश्वको ध्यान जानुपर्छ ।