आपूmलाई असल लागेका पुस्तक म किन्छु । कसैले धेरै प्रेसर दिनुपर्दैन वा कसैले सिफारिश गर्नुपर्दैन । कतिपय पुस्तकको समीक्षा पढेर पनि किन्छु । समीक्षा पढेर राम्रो लाग्दा किन्छु । कतिपय पुस्तकको नामले नै प्रभावित पार्छ । नाम नै काफी हुन्छ पुस्तकको विषयवस्तु जान्नलाई । कतिपय निकै राम्रा पुस्तकहरू नकिने पनि हात पर्छ ।
पुस्तक पढ्नका लागि भनेर साथी र अग्रजहरूले दिने गरेका छन् । मलाई के थाहा छ भने कुनै पनि पुस्तक आफैंमा मूल्यवान् हुन्छ । पुस्तक तोकिएको मूल्यभन्दा अर्थात् मैले तिरेको मूल्यभन्दा बढी मूल्यवान् हुन्छ । अझ मूल्य परेको, परिश्रम परेको पुस्तक जब कुनै लेखकबाट सित्तैमा प्राप्त गर्छु, तब मलाई यो पनि लाग्छ कि यसको मूल्य कसरी तिर्न सकिएला ? अनि उक्त पुस्तक पढिसकेपछि त्यसबारे केही लेख्ने गर्छु । कुनै पत्रपत्रिका वा अनलाइनमा उक्त पुस्तक र सम्भव हुँदासम्म अलिकति लेखकबारे चर्चा गर्छु । वा कतिपय पुस्तकको त समीक्षा नै लेख्ने गरेको छ । हुनत सबै पुस्तक राम्रा हुन्छन् वा होलान् तर कतिपय पुस्तक पढ्न पाउँदिनँ । मैले अहिलेसम्म एकजना निकै प्रिय र श्रद्धेय लेखकको एउटा पुस्तकको समीक्षा लेख्न सकेको छैन किनभने उक्त पुस्तकले मलाई अलिकति पनि आकर्षित गर्न सकेन । आवरण र पुस्तकको डिजाइन, छपाइ सबै असल हुँदाहुँदै पनि र मैले मूल्य नतिरेको भएपनि केही लेख्न सकिनँ किनभने मलाई के लाग्यो कि उक्त पुस्तकको विषयवस्तु वा प्रस्तुतिको शैलीले मलाई आकर्षित गर्न सकेन । जुन पुस्तकले मलाई प्रारम्भमा आकर्षित गर्न सक्दैन, यस्ता पुस्तकका केही अंश पढेर एकातिर राखिदिन्छु । केही दिनपछि पुनः पढ्ने प्रयास गर्छु । यदि तेस्रो प्रयासमा पनि सकिनँ भने एकातिर थन्क्याइदिन्छु । कुनै बेला पढूलाँ भनेर राखिएका यस्ता कतिपय पुस्तकले मेरो समय बचाइदिएका छन् ।
हरेक यात्रामा जाँदा केही पुस्तक किन्ने गरेको छु । यसरी किनिएका पुस्तकहरू मलाई यस कारण बढी प्रिय छन् कि उक्त पुस्तकसित यात्राको याद वा इतिहास जोडिएको हुन्छ । पुस्तक किन्दाको कथा जोडिएको हुन्छ । यसरी मकहाँ रहेका हजारौं पुस्तकका सयौं कथा छन् । जब म पुस्तक हातमा लिन्छु, तब उक्त पुस्तकको कथा सम्झना हुन्छ । कतिपय सम्झना निकै रमाइला पनि हुन्छन् । निकै प्रसिद्धस्थल र निकै टाढा पुगेको समयमा किनेर राखिएका पुस्तकहरू पनि छन् । जब ती पुस्तक कुनै बेला हातमा पर्छ, तब उक्त ठाउँमा पुगेको सम्झना ताजा भएर आउँछ । यसैले मेरो सल्लाह यो छ कि कतै जाँदा अरू सामग्री किन्ने हो भने कति समयसम्म घरमा रहला, तर पुस्तक किन्ने हो भने यात्राको स्मृतिलाई आजीवन ताजा बनाइराख्छ ।
पुस्तकजस्तो एकान्तको साथी अरू कोही छैन । जतिखेर कुनै धार्मिक, ऐतिहासिक र दार्शनिक प्रश्न मनमा उब्जन्छ, तब आजभोलि सोझै गूगललाई सोधेर वा गूगलमा प्रश्न लेखेर उत्तर खोज्ने चलन बढेको छ । अब त एआईका धेरै एप आइसकेका छन् । इन्टरनेटले सजिलै उत्तर दिने रहेछ तर हामीजस्ता पाठकलाई ती उत्तरहरूमा तिर्खा मेट्ने साधन पाउन निकै कठिन हुन्छ । बलजफ्ती तृप्त हुनुपर्छ । वास्तविक आनन्द पाउन त पुस्तक नै पढ्नुपर्छ । यही आनन्दको खोजीमा मेरो घरमा पुस्तकहरू आएका छन् ।
गौरको बिपीचोकमा एउटा पुस्तकपसल छ । मलाई के लाग्छ भने गौर पुस्तक पढ्ने शहर होइन । यहाँ महीनामा एउटा मात्र पुस्तक पढ्ने कोही मान्छे पनि छन् कि ? पछिल्लो चरणमा एकजनाले आप्mनो जीवनको उत्तराद्र्धमा पुनः पढ्न थालेका छन् तर उनी आपूmलाई गौरको मान्दैनन् । जेहोस्, बिपीचोकको पुस्तकपसलमा मात्र होइन, गौरको कुनै पनि पुस्तकपसलमा, पुस्तक भन्नासाथ कुनै बोर्डिङ वा क्याम्पसका किताब वा गेस पेपर वा गाइड बुझिन्छ । कुनै पनि साहित्यिक पुस्तक खोज्दा हामीजस्ताले राखिदिएका एक/दुई पुस्तकबाहेक अन्य पाइँदैन तर बिपीचोकको उक्त पुस्तकपसलमा एउटा पुस्तक देख्छु–भारतीय दर्शनों में क्या है ?
‘वेदमा के छ ?’ नेपालमा निकै चर्चित कृति हो । भारतीय दर्शन भनेको यही गौरसँग सिमाना जोडिएको बैरगनिया वा वीरगंजसित सिमाना जोडिएको रक्सौल वा बिहारको दर्शनको सवाल हैन ? कृतिले भारतीय भनेको चाहिं करीब पूर्वीय हो । अर्थात् भारतीय दर्शनमा के छ ? भन्नुको अर्थ पूर्वीय दर्शनमा के छ भनेको हो । इतिहास, संस्कृति र साहित्यका साथै धर्मसम्बन्धी हजारौं पुस्तक मेरो घरमा छ तर यो पुस्तक चाहिं एउटा आँखीझ्यालजस्तो लाग्छ । गौरको पुस्तकपसलमा यस प्रकार दर्शनसम्बन्धी पुस्तक अचम्म मान्दै माग्छु । ठीक त्यति बेला आइपुग्छन्, रामपुकार पटेल ।
पटेल पत्रकार हुन् । कुनै बेला जिल्लामा यिनले दैनिक पत्रिका चलाउने आँट गरेका थिए । यिनी अरूभन्दा यस अर्थमा फरक देखिएका थिए कि कुनै पनि हालतमा पत्रिका निकाल्थे । यिनले मलाई यो पनि आग्रह गरेका थिए कि केही लेखकहरू मिलाइदिनुहोस् कि पत्रिकामा मौलिक लेखहरू छाप्न पाइयोस् । मैले आफूले पनि लेखेको थिएँ, केही अङ्क र केही साथीहरूका रचनाहरू पठाएको थिएँ । यिनी मलाई श्रद्धा गर्छन् र म पनि उनलाई आदर गर्छु ।
भारतीय दर्शनों में क्या है ? पुस्तक मेरो हातमा पर्दा नपर्दै अभिवादनको औपचारिकता पूरा हुन्छ । हामी केही कुरा गर्छौं । मलाई एउटा समाचार चाहिएको थियो । उनी समाचारसित सम्पर्क गराउने सूत्र बन्छन् । समाचारबारे त्यहीं कुराकानी हुन्छ । जसलाई खोजेको थिएँ, पटेलजीले नै बोलाइदिन्छन्, फोन गरेर । उनकै अगाडि कुराकानी हुन्छ । मलाई चाहिएको समाचारको सामग्री पूरा हुन्छ । मेरो समाचारको लागि चाहिएको फोटोको लागि भन्छु ।
अलिअलि पानी परेको छ । मेरो हातमा उक्त पुस्तक छ । अब अलिकति विषयवस्तु हेरूँ किनी हेरूँ भन्नेमा थिएँ । मूल्य पनि कति होला ? पुस्तक पुरानो भइसकेको छ । पुरानो पुस्तकको मूल्य प्रायः कमै हुन्छ । म पुस्तकमा अलमलिइरहेको बेला पटेलजी भन्छन्–लानुस् यो पुस्तक । तपाईं त धर्म, इतिहास तथा संस्कृतिका बारेमा पढ्ने–लेख्ने मानिस हुनुहुन्छ । यो पुस्तक तपाईंलाई धेरै काम लाग्ने किसिमको छ ।
पुरानो कोट लगाऊ, तर नयाँ पुस्तक किन । यो भनाइ यस किसिमको कतिपय अवस्थामा लागू हुँदैन । कतिपय पुराना कुराहरू पुरानै स्वरूपमा थाहा पाउन पुरानै वस्तु चाहिने हुन्छ । वास्तविक आनन्दका लागि मूल पुस्तक नै चाहिन्छ । पटेलजी पुस्तक साहुलाई खोज्न थाल्छन् । पसलमा साहुका छोरा वा अन्य कोही छन् । उनीसित पनि दोहोरो चिनजान र घनिष्टता छ, पटेलजीको । पटेलजीको आग्रह अनुसार मैले पुस्तक आप्mनो झोलामा राख्नुभन्दा पहिले खल्तीबाट नेपाली पाँच सय रुपियाँको एउटा नोट पसलेतिर बढाउँछु । पटेलजी भन्छन्– मैले लैजानू भनेपछि तपाईंले मूल्य तिर्नुपर्दैन । लैजानुस् भनेपछि लैजानुस् । उनी अझ थप्छन्– उसको (पसलेको) बुवा भइदिएको भए अझै केही धार्मिक र सांस्कृतिक पुस्तकहरू दिन लगाउँथे । सबैको पैसा म तिर्छु । तपाईंले पैसा तिर्नुपर्दैन ।
पटेलजीले सिफारिश नगरीकनै मैले पुस्तक निकाल्न लगाएको थिएँ । भारतीय अर्थात् पूर्वीय दर्शनबारे सङ्क्षेपमा जानकारी दिने पुस्तक भएकोले मैले लिन खोजेकै हो । पैसा तिर्नको लागि म अलिकति बलजप्mती गर्न खोज्छु र पटेलजी मेरोअगाडि अझ बलियो भएर उभिन्छन् ।
उनी बिरामी परेर दिल्ली उपचार गराइरहेका छन् । पहिलेको जस्तो जीउ छैन । पत्रिकाको प्रकाशन यही कारणले रोकिएको छ । उनको हिम्मत भने कम भएको छैन । उनी पत्रकारितामा निष्क्रिय भइसकेका छैनन् । मूलतः हिन्दू वा सनातन धर्मप्रति अटुट आस्थावान् छन् । यस्ता पुस्तक कति पढ्छन् ? मलाई खासै जानकारी छैन तर उनी भन्छन्– यस्तो पुस्तक पढ्ने मानिस कमै छन् । यिनीसित अझ राम्रा पुस्तक छन्, तपाईंलाई कुनै दिन साहुजीसँग चिनजान गराउँला । आफू पनि पुस्तक पढ्छन् । पुस्तक पढेर जानकार भएका मानिस हुन् । म पनि उत्सुक हुन्छु चिनजानको लागि, तर अहिलेसम्म संयोग मिलेको छैन ।
त्यो पुस्तक लिन्छु, पैसो भने तिर्नुपरेन । त्यहाँ चार/पाँच जना भेला भइसकेका हुन्छन् । सबै पटेलजीकै पक्षमा हुन्छन् । अहिले पनि पुस्तक मसित छ । जब मलाई कुनै बेला पूर्वीय दर्शनसम्बन्धी केही कुरा जान्न मन लाग्छ, तब म सोझै उक्त पुस्तक पल्टाउन पुग्छु । जब पुस्तक पल्टाउँछु, मलाई सम्झना हुन्छ– गौरको त्यो दिन र पटेलजीका साथै उनको राजदेवी दैनिक ।