कोलम्बो, ९ साउन/एएफपी
श्रीलङ्काको केन्द्रीय बैंकले बुधवार ब्याजदरमा कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलोपटक ब्याजदर कटौती गरेको हो ।
श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अङ्कले घटाएको जनाएको छ ।
श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रास्फीतिको तुलनामा जूनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।
केन्द्रीय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिंदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्पmत उल्लेख गरेको छ ।
बैंकका अनुसार बुधवारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो । सन् २०२२ को बाह्य ऋणको पुनर्संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महीनाको शुरूमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।
गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैंकले जनाएको छ । यसैगरी, वर्षको पहिलो तीन महीनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैंकले दिएको छ ।
सन् २०२२ मा भएको ७.३ प्रतिशतको ब्याजदर वृद्धिको रेकर्डपछि गत वर्ष अर्थतन्त्र २.३ प्रतिशतले सङ्कुचित भएको थियो । महीनौंको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो ।
उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषबाट २.९ अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाएका थिए । रासस