काठमाडौं, २८ जेठ/रासस

यो सातामा कारोबारको पहिलो आइतवार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमवार दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ। आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो।

आज ३१४ कम्पनीका एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ बराबरको कारोबार भएको छ।

बैंकिङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन्। आज विकास बैंक समूह शून्य दशमलव ३६, वित्त एक दशमलव २१, जलविद्युत् दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेका छन्।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड आठ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेका छन्।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ४१ करोड ८७ लाख ६३ हजार २०६ बराबरको छ लाख २७ हजार ६७६ कित्ता शेयर किनबेच भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here