– सञ्जय मित्र

भनिन्छ, नदी निरन्तर बगिरहेझैं साधुको पनि महत्ता निरन्तर बढिरहन्छ। साधु त्यो हो, जसमा साधना हुन्छ। साधनाले उसको क्षेत्रको पहिचान गराउँछ। साधनाको क्षेत्रले भौगोलिक क्षेत्रलाई आलोकित पारेको हुन्छ। हरेक समयका साधुले वर्तमानको पथप्रदर्शन गरेका हुन्छन्। साधुताको प्रभुत्व यसै कारण टाढासम्म फैलिएको हुन्छ। अहिले सन्दर्भ नुनथर पहाड र जङ्गली बाबाको रहेको छ।

नुनथर पहाड मूलतः रौतहटमा पर्दछ। रौतहटको उत्तर पूर्वी कुनामा रहेको बागमती किनारमा अवस्थित नुनथरलाई मधेस प्रदेशकै एक प्रसिद्ध पर्यटनस्थलको रूपमा मानिएको छ। यहाँ हरेक वर्ष लाखौं मानिस पर्यटनको दृष्टिले पुग्दछन्। हरेक दिन यहाँ मानिस पुग्ने गरेको भए पनि शनिवार अलिक बढी हुन्छन्। कुनै पनि नयाँ वर्ष तथा चाडपर्वको दिन तथा विशेष दिनहरूमा नुनथरमा निकै भीड हुन्छ। कहिलेकाहीं थामि नसक्नुको भीड हुन्छ। प्राकृतिक सौन्दर्य यहाँको मुख्य आकर्षण हो।

चन्द्रपुर नगरपालिकामा पर्ने नुनथरको नामकरण कसरी भयो होला ? यस विषयमा अनेक विचार पाइन्छ तर यहाँ अझै पनि एउटा इनार छ। उक्त इनारको पानी नुनीलो छ। पहिले यहाँ गाईवस्तु चर्न आउँदा यहाँको पहाडको फेंदीमा रहेको चट्टानलाई चाट्ने गर्दथे। पछि थाहा भयो, चट्टान नुनीलो भएकोले गाईवसतुले चाटेको हो। अनि यहाँबाट निस्कने पानीको स्वाद पनि नुनीलो छ। नुनीलोलाई स्थानीय बज्जिका भाषामा नुनगर भनिन्छ। यही नुनगरबाट अपभ्रंश भई नुनथर भएको हुनुपर्छ। यसैगरी नुनको थलो अर्थात् नुनथल हो। नुनथलबाट अपभ्रंश भई नुनथर भएको हुनुपर्छ।

रौतहट र सर्लाहीका मानिसका लागि सबैभन्दा प्रिय पर्यटनस्थल नुनथरको नाम जसरी परे पनि यसको इतिहास भने निकै पुरानो छ। महाभारतकालीन समयभन्दा पहिलेदेखि नै यहीं बाटो बागमतीको किनारैकिनार पशुपतिनाथसम्मको यात्रा हुन्थ्यो रे। अर्थात्, यहीं एउटा मार्ग थियो। पहाड झरेर आउँदा अन्तिम विश्राम गर्ने तथा तराईबाट पहाड चढ्न पनि अन्तिम तल्लो विश्रामस्थलको रूपमा यो ठाउँ रहेको थियो। र, यो पनि मान्यता रहेको छ कि महाभारत युद्धपछि भगवान् श्रीकृष्ण पाण्डवलाई लिएर यही बाटो भगवान् पशुपतिनाथको दर्शन गर्न नेपाल उपत्यका गएका थिए।

यस्ता अनेकौं किंबदन्तीहरू छन्। भगवान् शिव र पार्वती यस क्षेत्रमा वन विहार गर्ने गरेका थिए रे। मृग र मृगिनी बनेर भगवान् शिव र पार्वतीको विहार हुने गरेको किंवदन्ती निकै प्रचलित छ तर एउटा अर्को कथा पनि यस स्थलसित जोडिएको छ, जङ्गली बाबाको। जङ्गली बाबाबारे धेरैलाई जानकारी रहेको पाइँदैन तर भारतको मुजफ्फरपुरसम्म यहाँको जङ्गली बाबाबारेमा सुन्न पाइन्छ। जङ्गली बाबा सिद्ध पुरुष थिए भन्ने कुरा बुझिन आउँछ। अब त उनीबारे पुस्तकमा चर्चा गरिएको पनि पाइएको छ।

‘बज्जिकाञ्चलके सिद्ध सन्त’ नामक पुस्तकका सम्पादक हुन् डा. यशवंतकुमार। यिनी मुजफ्फरपुर विहारका निवासी हुन्। यस पुस्तकलाई प्रकाशन गर्ने संस्था हो – विहार सांस्कृतिक फाउन्डेशन मुजफ्फरपुर। यस पुस्तकमा एउटा अनुसन्धानमूलक लेख ‘डा. पुष्पा गुप्ता’को रहेको छ। डा. गुप्ताको ठेगाना लेखको अन्त्यमा यसरी दिइएको छ – ‘हिन्दी विभाग, एमडीडीएम कलेज, मुजफ्फरपुर’। डा. गुप्ताको अनुसन्धानमूलक लेखको शीर्षक रहेको छ – ‘सिद्ध बाबा और जंगली बाबा’। यसै आलेखमा नुनथरको सन्दर्भ रहेको छ। यसैले पनि यो महत्वपूर्ण हुन जान्छ कि मुजफ्फरपुरकी लेखिका, मुजफ्फपुरकै सम्पादक र मुजफ्फरपुरबाटै सम्पादित तथा प्रकाशित यस पुस्तकमा रौतहटको नुनथरका ‘जंगली बाबा’बारे चर्चा गरिएको छ।

‘नुनथर’लाई ‘नुनखडवा’ पहाड भनिएको छ। यसलाई ‘इन्द्रखण्ड’ वा ‘इन्द्रपर्वत’ पनि भनिएको रहेछ।

‘जात नपुछो साधु की’ भनेझैं जङ्गली बाबाको नाम वा जात तथा यिनका मातापिताको नाम तथा जन्मस्थलबारे केही जानकारी छैन। हुनत साधुको लागि उनको सिद्धता नै सर्वस्व हुन्छ। कहाँबाट यस जङ्गलमा आए ? यो पनि स्पष्ट नहुँदा उनी प्रसिद्ध हुन गए ‘जङ्गली बाबा’को नामबाट। जङ्गलमा बसेर तपस्या गर्ने भएकाले वा जङ्गलमा बस्ने भएकाले जङ्गली बाबा कहलिएको अनुमान लगाउन सकिन्छ।

जङ्गली बाबाको विषयमा अलिकति प्रकाश पार्दै आलेखमा यिनलाई रामलीलाको अभिनय गर्नु प्रिय लाग्दथ्यो। सीतारामको भक्ति गर्ने जङ्गली बाबा सीतामढीस्थित जानकी मन्दिर रामलीलामा अभिनय गर्न पुग्दथे। सीताराम आराधना नै जीवनको लक्ष्य रहेको जङ्गली बाबामा कलात्मक सिर्जना पर्याप्त रहेको थियो। जानकी मन्दिरमा विभिन्न किसिमका झाँकी, रंगोत्सव

(सम्भवतः होली) आदि राम र सीतालाई केन्द्रमा राखेर गर्दथे, गराउँदथे। यिनको प्रसिद्धिको कारण यिनको सहजता तथा चरित्र थियो। बाह्रौं महीना यिनको शरीरमा वस्त्रको नाममा केवल एउटा लंगौटी रहन्थ्यो। मौसमको कुनै प्रभाव वा आतङ्क यिनको शरीरमा पर्दैनथ्यो।

नुनथर आसपासको लोकजीवनमा जङ्गली बाबाको विषयमा अझ धेरै कुरा श्रुति परम्परामा हुनुपर्छ। यो रमणीय ठाउँको गरिमा बढाउने सिद्ध पुरुष जङ्गली बाबाबारे नुनथरले अझ खोजतलाश गर्नु जरूरी देखिन्छ। जङ्गली बाबाको समय कुन हो ? यो पनि कमसे कम सोधखोज गरी सार्वजनिक हुन सके अझ धेरै कुरामाथि प्रकाश पार्न सकिन्थ्यो। समाजमा खोजबीन गरेर जङ्गली बाबाको यथार्थ बाहिर ल्याउनु अत्यावश्यक छ।

जङ्गली बाबाबारे भारतको मुजफ्फरपुरसम्म चर्चा हुनु ठूलो कुरो हो। यसलाई अझ संरक्षण र विस्तार गर्नुपर्छ। हुनत भक्तिभावना र साधनाको विषयमा वर्तमानले धेरै चर्चा गर्न चाहेको छैन तर पनि यो एउटा सुखद पक्ष हो। आफ्नो ठाउँको बारेमा सम्भव भएसम्म सबै पक्षको धेरैभन्दा धेरै जानकारी सङ्कलन गर्नुपर्छ। धेरैभन्दा धेरै कुरो थाहा पाइराख्नु उचित हुन्छ। हाम्रो संस्कृति र इतिहासमा रहेका महत्वपूर्ण व्यक्ति तथा स्थानका साथै अमूर्त कुराहरूबारे जानकारी लिइरहनु उचित हुन्छ। धेरै कुरा प्रकाशमा नआएको सन्दर्भमा यस्तै कतैकतै अलिकति भेटिएका सामग्रीलाई पनि सङ्कलन गर्नुपर्छ। जङ्गली बाबाको विषयमा गाउँँ समाजमा अझै पनि सामग्री पाइन्छ भने खोजी गर्नुपर्छ। सम्भव छ भने यस विषयमा उक्त क्षेत्रमा सार्वजनिक छलफल नै गराउनु आवश्यक छ। जसले यस प्रकारको कुरा सबैतिर पुग्न सकोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here