संयुक्त राज्य अमेरिकाका सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत
(आइसिसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताए।
“ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आइसिसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ”–अमेरिकी सदनका अध्यक्षले सोमवार एक विज्ञप्तिमा भने। “आइसिसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ”–उनले थप भने।
आइसिसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महीना पुरानो युद्धका क्रममा मानवताविरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाहविरुद्ध गिरप्mतारी आदेश आवेदन दायर गर्ने घोषणा गरेका थिए। रिपब्लिकन सांसदहरूले सोमवार आइसिसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्य अमेरिकालाई आह्वान गरे।
रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्यूयोर्क पोस्टलाई भनिन्–“आइसिसी एउटा अवैध अदालत हो, जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आप्mनो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्छ।” घोषणापश्चात् स्टेफानिकले सोमवार बिहान नेतान्याहुसँग भेट गरेका थिए।
सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रिजले एक विज्ञप्तिमा आइसिसीको आदेशलाई ‘लाजमर्दाे र अनुचित’ भनेका छन्।
राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमासबीच आइसिसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्ने कुरामा जोड दिए। उनले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिलेदेखि नै आइसिसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताए। ब्लिन्केनले भने–“आइसिसी अभियोजक आफैं अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो।”
घोषणाप्रति प्रतिक्रिया दिंदै इजरायली प्रधानमन्त्री नेतान्याहुले भने–“हेगमा अभियोजकले दिएको बेतुक र झूटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीविरुद्ध मात्र नभई सम्पूर्ण इजरायलविरुद्ध निर्देशित छ। “यो आइडिएफका सैनिकविरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्”–टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उनले भने। रासस