प्रस, निजगढ, ५ जेठ/

स्थानीय तह कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहा नगरपालिका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको छ।

कोल्हवी नपाको बकैया, निजगढ नपाको बकैया र जीतपुरसिमरा उपमहानगरका बालगङ्गा, पसाहा, दुधौरा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा जिल्ला अनुुगमन समितिले रोक लगाएको छ।

अनुगमनको क्रममा तीनवटा पालिकाका पाँचवटा खोलाका ठेकेदारले चरम उत्खनन गरेको पाइएपछि ती खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको जिल्ला समन्वय समिति बाराका प्रमुुख नरेन्द्रकुुमार साहले बताए। जिसस प्रमुख साहले ती पाँचवटा खोलामा तीनवटा पालिकाले लगाएका ठेक्का अनुसारको नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको बताए। प्राविधिकसहितको अनुगमन टोलीलाई उत्खननको स्थलगत अवस्था, उत्खनन परिमाणसहितको प्रतिवेदन जिल्ला अनुगमन समितिलाई  बुझाउन निर्देशन दिएको उनले बताए।

भौतिक पूूर्वाधार कार्यालय बाराका इन्जिनीयर राजेश चौधरीको संयोजकत्वमा प्राविधिक टोली गठन गरी कोल्हवी र निजगढस्थित बकैया खोलामा ठेकेदारद्वारा खनिएका खाडल र उत्खनन स्थलहरूको स्थलगतरूपमा नापजाँच लगायतका कार्य भइरहेको बुझिएको  छ।

खोला ठेक्काको नाममा चरम उत्खनन, दोहन भएको पाइएसँगै जिल्ला अनुगमन समितिको यही जेठ ३ गते बसेको बैठकको निर्णय अनुसार ठेक्का लगाइएका सबै खोलामा हाल नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको मापदण्ड अनुुसार एक मिटर गहिराइसम्म दैनिक तीन सय घनमिटर उत्खनन गर्न भनिए पनि तीनदेखि पाँच मिटरसम्म गहिरो खाडल गरी दैनिक तीन हजारदेखि आठ हजार घनमिटर नदीजन्य पदार्थको चरम उत्खनन, दोहन गर्दै ओसारपोसार हुने गरेको थियो। मातहतका सुरक्षा निकायलाई खोलाहरूमा कडाइका साथ निगरानी राख्न निर्देशन आएको र खोलामा निगरानी बढाइरहेको स्थानीय सुरक्षा निकायले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here