सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबीन समिति गठनका लागि सहमत भएका छन्।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबीन समिति
गठन गर्न दलहरू सहमत भएका काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार छानबीन समितिको कार्यादेश (टिओआर) भोलि आइतवार बिहान छलफलपछि टुङ्गो लगाइनेछ।
“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबीन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो। सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलबीच समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ,” लेखकले भने।
छानबीन समितिको कार्यादेश निर्माणका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरू बसेर त्यसलाई मूर्तरूप दिइने पनि उनले बताए। छानबीन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ।
छानबीन समिति गठन गर्ने विषयमा आज चरणबद्धरूपमा छलफल भएको थियो। शुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानूनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए। सभामुखसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डसहित सत्तारूढ दलका नेताहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबीन समिति गठन गरिनुपर्ने मागसहित काङ्ग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो।