प्रस, वीरगंज, ३ वैशाख/
वीरगंज महानगरपालिका–१० घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा वैशाख ५ गते रामनवमी महोत्सव आयोजना गर्ने निर्णय भएको छ । श्रीरामजानकी मन्दिर समितिको बैठकले बुधवार रामनवमी एवं शोभायात्रा निकाल्ने निर्णय गरेको हो ।
बुधवार बिहान ७ बजे श्रीरामजानकी मन्दिर परिसरबाट झाँकीसहित शोभा यात्रा निकालेर नगरपरिक्रमा गर्ने, बिहान ११ बजेदेखि मन्दिर परिसरमा भजनकीर्तन गरिने, १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिने निर्णय भएको छ ।
यस्तै, दिउँसो ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी, साँझ ६ः३० बजे दीप प्रज्वलन तथा महाआरती र राति ७ बजेदेखि प्रसाद वितरण गर्ने सहआयोजक घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष साह कानूले जानकारी दिए ।
बैठकमा परशुराम साह कानू, दिलीप साह कानू, शम्भु साह, प्रभाकर गुप्ता, राकेश साह, ओम प्रकाश, क्रान्ति साह, अर्जुन साहलगायतको सहभागिता थियो ।