प्रस, सिमरा, २९ चैत/
सिमरामा जारी जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल हावाहुरीका कारण स्थगित भएको छ ।
बिहीवार सिमरा रङ्गशालामा सशस्त्र प्रहरीको विभागीय टीम एपिएफ र फ्रेन्ड्स क्लबबीच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिए ।
दोस्रो मध्यान्तरको १३औं मिनेटपछि रेफ्री उमेश बिडारीले खेल रोक्ने सङ्केत गरेका थिए । सिमरा रङ्गशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासि तीव्र गतिमा हावाहुरी आएको थियो । रङ्गशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइते भएका थिए ।
५८औं मिनेटपछिको खेल शुक्रवार बिहान ८ः३० बजेपछि शुरू हुनेछ । स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । मकवानपुर–११ हेटौंडालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको एपिएफ र सीधैं क्वाटरफाइनल खेल्न सिमरा रङ्गशालामा उत्रिएको फ्रेन्ड्स क्लब दुवैले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।
खेलको ११औं मिनेटमा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्सभित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले सहजरूपमा बचाए ।
खेलको १३औं मिनेटमा फ्रेन्ड्सका साइमन लिम्बुले वन भर्सेस वनको स्थिति सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिर पाएको बललाई अघि बढाए पनि साइमनले पोस्टको दिशा दिन नसक्दा एपिएफका डिफेन्डर सुमन श्रेष्ठले क्लिएर गर्ने मौका पाए ।
त्यस लगत्तै खेलको १५औं मिनेटमा फ्रेन्ड्सले अर्को सुन्दर मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो ।
खेलको १८औं मिनेटमा एपिएफका अनिश महर्जनले पेनाल्टी बक्सभित्रै पाएको अवसर खेर फाले । प्रदीप लामाको क्रसमा अनिशको प्रहार फ्रेन्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए ।
खेलको २६औं मिनेटमा एपिएफको अर्को सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे । बिके तामाड्ढो कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदीप लामाको सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरे ।
खेलको ४२औं मिनेटमा फ्रेन्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउन्ड भयो । साइमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले सशक्त प्रहार गरेका थिए । रिबाउन्ड बलमा दीपेश घलेको अर्को प्रहार क्रसबारबाट माथि गयो ।