• कुमारबन्धु रुपाखेती

राजनीतिक गलफत्ती
‘लोग्ने–स्वास्नीको झगडा, परालको आगो’ भन्थे तर होइन रहेछ । जसको झगडामा मुख्तियारसम्मको कान ठाडो हुन्छ, त्यो झगडा चानचुने र परालको आगो हुनै सक्दैन । कुरा नागरिक उन्मुक्ति पार्टीका सर्वेसर्वा पति–पत्नी रेशम चौधरी र रन्जिता श्रेष्ठको हो । टीकापुर सामूहिक हत्याकाण्डका नाइके भनिने रेशम चौधरी राष्ट्रपतिबाट आममाफी पाएर कैदी जीवनबाट मुक्त भएपछि यो घरझगडाले विकराल रूप लिएको देखिन्छ । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेर भारत भ्रमणमा जाँदा दिल्लीमा रेशमले लुकिछिपी र प्रचण्डले शानले भेट–मुलाकात गरेका थिए । त्यसपछि विभिन्न तानाबाना मिलाएर रामचन्द्र पौडेलले रेशमलाई गणतन्त्रको उपहारस्वरूप आममाफीको नाममा आजाद गरिदिए । बूढा जेल गएपछि बूढी रन्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी मुखिया भइन् र एकलौटी ढलिमली पार्टी चलाउन थालिन्, मन्त्रीपदसमेत पड्काइन् । कैदमुक्त भएपछि रेशमले पार्टीमा पुरानै रवाफ देखाउन खोज्दा रन्जिता र यिनको आमनासामना हुन थाल्यो । निर्वाचन आयोगले लोग्नेलाई पार्टी अध्यक्ष बन्न अयोग्य करार गरेपछि स्वास्नीले पार्टीको लगाम आप्mनो कब्जामा आएको ठानिन् र आपूmखुशी निर्णय गर्न थालेपछि यी दुईबीच उत्पन्न झगडाले विकराल रूप लियो । अस्ति झगडामा बीचबचाउ गर्दै प्रचण्डले लोग्नेस्वास्नी दुवैलाई दायाँबायाँ राखेर फोटोसमेत खिचाए । तर जति प्रयास गरे पनि यो झगडा वीरबलको खिचडीझैं काँचो देखिन्छ ।

भारततिर रेशम चौधरीजस्तालाई ‘बाहुबली’ भनिन्छ । टीकापुर हत्याकाण्ड हिजो, आज र भोलिसमेत यिनको ‘माथे का कलङ्क’ बनेर पिछा गरिरहन्छ । उता पत्नीलाई राजनीतिको चस्का लागिसकेको देखिन्छ र रेशम चौधरीसँग आरपारको लडाइँमा उत्रेको प्रस्ट देखिएको छ । त्यसैले त पार्टी कार्यालयमा रेशमले ढोका थुनेर, बाहिरियाहरूलाई पसाएर, रन्जिता पक्षधर नेताहरूको रामधुलाई गरेकोमा कडा कारबाई गर्ने, चुप नलाग्ने घोषणा गरेकी छन् ।

नागरिक उन्मुक्ति पार्टीलाई ‘फुच्चे पार्टी’ पनि भनिन्छ । तर यस फुच्चे पार्टीको घरझगडाले चुच्चेहरूका गठबन्धनको सरकारलाईसमेत असर पारिरहेको कुरा भने नकार्न सकिन्न । नेपालको राजनीतिमा बेमौसमी बाजा बजाउने चलन खुबै छ । अब हेर्नुस् न, अर्को निभ्न लागेको बत्तीको अवस्थामा पुगेको लोसपाका ठालू भनाउँदा महन्थ र राजेन्द्रको गन्थन–मन्थन अर्कै छ । उता नेपाली राजनीतिमा ‘सलाइ–रिन्च’को नामले ख्याति कमाएका उपेन्द्र यादव सलाइ रिन्चझैं जता पनि फिट भइहाल्छन् । अहिले यो सलाइ रिन्च प्रचण्डले चलाइरहेका छन्, भोलि कसले चलाउँछ त्यो अज्ञात छ तर यो सलाइ रिन्च मधेसमा नाकारा साबित हुँदैछ । उता ओलिको किस्सा–कहानी अर्कै छ । कोशी प्रदेशमा शशाङ्क कोइरालाले करामात देखाएपछि, ओली अचेल दैनिकजसो कोइरालासँग भेटघाट र फोन सम्पर्कमा छन् रे १ कोइराला पक्षधर सांसदको गणना गरेर कदाचित प्रचण्डलाई ढाल्ने रणनीति आन्तरिकरूपमा तयार हुँदैछ रे १ भोलिको कल्पना अनुसार अब प्रचण्डले होइन, ओली र कोइराला मिलेर उथलपुथल गर्ने रे !

प्रजनन सेवा
विवाहपछि प्रत्येक महिलाको प्रबल चाहना बच्चा जन्माउने, आमा बनी जीवन सफल पार्नेतर्फ केन्द्रित रहन्छ । थाहै छ, बच्चा जन्माउन नसक्ने बिचरी महिलालाई ‘बाँझ’ भनेर हेप्छन् । पुरुषकै कमजोरीले ‘आमा’ बन्न नसक्दाको अपजस पनि महिलाकै थाप्लोमा पर्छ । महिलाले बच्चा जन्माएपछि उसले दोस्रो जन्म पाईसमेत भन्छन् । प्रसव पीडाको बखान गर्न सकिंदैन । पहिलेपहिले त सुडिनी, धाइआमाहरूले घरमैं सफल प्रजनन गराउँथे । मेरी एकजना फुपूका नौजना छोराछोरी छन् र म आफैं चार दाजुभाइ छौं । उति बेला प्राकृतिकरूपमा विनाअपरेशन बच्चा जन्मन्थ्यो । अचेल प्रजनन दर कम छ । सबैलाई थाहा छ– ‘हम दो, हमारे दो’ । प्रजनन दर न्यून भए पनि अचेल गर्भवती महिलाले स्वाभाविक, प्राकृतिक प्रजनन गर्दैनन् । अधिकांश निजी अस्पतालले विभिन्न बहाना, त्रास देखाएर सिजेरियन डेलिभरी अर्थात् अपरेशन गरेर बच्चा झिक्नुपर्छ भन्छन् । एउटा त प्रसव पीडा, अर्को अपरेशनको सास्ती, तेस्रो महँगो अपरेशन शुल्कले सुत्केरी र तिनका परिवारको भट्टा बस्छ । चिकित्सकहरूको प्रसूति अपरेशन प्रेमले समाज नै हायलकायल छ ।

हिजो साधारण तरीकाले प्राकृतिकरूपमा बच्चा जन्मिने र अहिले सुत्केरी बेथाले च्पापेर अस्पताल लग्दा किन तुरून्तै अपरेशन गर्न बाध्य पारिन्छ ? के पैसा तसिल्नकै लागि ? उहिलेउहिले शत प्रतिशत आमाले साधारण तरीकाले बच्चा जन्माउन सक्ने अहिले भने अपरेशन नै गर्नुपर्ने किन ? हाय रे पैसा !

यस्तै रवैया रह्यो र जान्नेबुझ्नेले सोधखोज नगर्ने हो भने भविष्यमा विनाकष्ट, विनाअपरेशन, विनापैसा एउटा महिलाले आमा बन्ने अधिकार नै गुमाउनुपर्ने देखिन्छ । कसैकसैलाई सुत्केरी बेथाले च्याप्दा अपरेशन जरूरी हुन्छ तर केहीले यसलाई धन्दा नै बनाएको देखिन्छ । प्रत्येक वर्ष अपरेशनबाट बच्चा झिक्ने ग्राफ बढ्दो छ । नपत्याए विभिन्न प्रसूति गृहहरूको रेकर्ड हेरे पुग्छ । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत गर्भवती, प्रसव र प्रसूति सेवा, ज्येष्ठ नागरिक, अपाङ्ग आदिसमेत पर्दछ । तर यस्ता आधारभूत सेवा सरकारी कागजमा मात्र सीमित छ । बा¥ह छोरा, ते¥ह नाती, बूढाको धोक्रो काँधै माथि भनेजस्तो उखानटुक्का र हाम्रो सोच उस्तैउस्तै छ । अचेल त सफल सुत्केरी सेवा भनेको आमाको भुँडी चिरेर, घाइते पारेर बच्चा जन्माउनु हो । सरकारी नियमलाई थाङनामा सुताउने परिपाटी छ, हाम्रोमा । अचेलका आमाहरूसमेत नवजात शिशुलाई स्तनपान गराउन कन्जुस्याइँ गरेको पाइन्छ र आमा बन्न नसक्दा अरूको बच्चा चोरेर पाल्न खोज्ने आमाहरू पनि यही समाजमा छन् । सेवामुखी भनिने आधुनिक अस्पताल र प्रसूतिगृहहरूको तामझाम नै बेग्लै छ । निजी अस्पतालहरूले त सरकारी नियमकानून ताकमा राखेर मनलाग्दी नै गर्छन् । भुक्तानी नहुन्जेल लाशसमेत कब्जा गरेर हिरासतमा राख्छन् । तर पनि हामी डाङडरलाई भगवान् मान्छौं ।

अरू जे भए पनि एउटा महिलाले प्राकृतिक तवरमा आमा बन्ने, बच्चा जन्माउने काममा अवरोध सिर्जना नगरौं । प्राकृतिक र स्वाभाविक प्रजननलाई प्राथमिकतामा राखौं । यस मामिलामा महिला नै जाग्नु जरूरी छ । जय जननि आमा !

चासो
त्यसो त बेप्mवाँकको, बेसरोकारको मामिलामा समेत भारतीयहरूले नेपालमा चासो राखेको, चियोचर्चो गरेको भेटिन्छ । झन् अस्ति त यिनका जानीदुश्मन नागरिकको झुण्ड सीमा नजीक वीरगंजमा शङ्कास्पद गतिविधिसहित पक्राउ पर्दा भारतीय महावाणिज्य दूतावासको वीरगंजस्थित कार्यालयको कान ठाडो हुनु स्वाभाविकै हो । भारतमा चुनावको गहमागहमी भएका बखत जानीदुश्मनका नागरिक वीरगंजमा पक्राउ पर्नु भारतीय मिडियाहरूका लागि ‘हट केक’ साबित हुन्छ । कल सेन्टरको आडमा गैरकानूनी काममा संलग्न भएको शङ्कामा स्थानीय प्रशासनले अस्ति वीरगंजका विभिन्न क्षेत्रबाट केही चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान गर्दैछ । तर भाग खानेभन्दा पुरो खानेलाई हतार भएझैं यताका लाईभन्दा उताका लाई यसमा बढी चासो भएको देखिन्छ । अहिले दुनियाँभरमा क्राइम, कल बाइपासको अवैध काम हुँदैछ र यस्तो कामममा चिनियाँहरूको संलग्नता अधिक छ ।

नेपाललाई कार्यथलो बनाएर काम गर्न पायक पर्ने भएकोले यस्ता कुकर्मका लागि चिनियाँहरूको रोजाइमा नेपालजस्तो मुलुक पर्नु स्वाभाविकै हो । केही समय अघि आधा दर्जनभन्दा बढी नेपालीलाई फिलिपिन्समा बन्धन बनाएर, डर–धम्की देखाएर यस्ता साइबर क्राइमको गैरकानूनी काममा जबरजस्ती लगाएका थिए, केही चिनियाँहरूले । पर्दाफाश भएपछि बल्लतल्ल नेपालीहरूले मुक्ति पाएका थिए । नेपालको कमजोर सूचना संयन्त्रका कारण भारत, चीनलगायत दुनियाँभरका अपराधी, उग्रवादी खेल्ने क्रीडास्थल बनेको छ नेपाल । दुनियाँकै महान् ठग चाल्र्स शोभराज नेपालमैं पक्राउ परेको होइन र ? चिनियाँहरू पनि नेपाली कानून अनुसार अपराध अनुसार हदैसम्मको कारबाई हुन्छ, भारतले चिन्ता लिनैपर्दैन । जय नेपाल !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here