• सञ्जय मित्र
अहिले पूर्वीय दर्शन र संस्कृतिप्रति सचेतनाको विस्तार भएको छ । अझ पूर्वीय दर्शनबारे जान्ने, बुझ्ने तथा पढ्ने चेतनाको पनि विस्तार भएको छ । बजारमा पनि पूर्वीय दर्शन, ज्ञान र वाङ्मयका कृतिहरूको माग पहिलेको भन्दा बढेको छ । साथै पछिल्लो समयमा यस प्रकारका विषयवस्तुमा आधारित कृतिको सिर्जन, पुनर्सिजन तथा परिमार्जन र नवीन तथ्य वा विश्लेषण आदि गरेर कृतिहरू प्रकाशनको क्रम बढेको पाइएको छ । पछिल्लो समय पौराणिक विशिष्टताका पूरक ग्रन्थहरूको पठन पनि बढेको छ ।
सामाजिक सञ्जालमा जसरी यस किसिमका विषयवस्तुका रचनाहरू, पुस्तकहरू, प्रतिक्रियाहरू, समीक्षाहरू सार्वजनिक भइरहेका छन् जसले थाहा हुन्छ कि मानिसको रुचि पुराना सामग्रीतर्फ विस्तार भएको छ । पौराणिक प्रतीक, विम्ब र मिथकहरूमा आधारित सिर्जनाले सर्जकको मनलाई आकर्षित गर्दा पहिले कतै उमेरको प्रभाव हो कि भन्ने मानिन्थ्यो तर अहिले समय र परिवेशको प्रभाव हो भन्ने मान्न थालिएको छ । पहिले, यसरी पनि विश्लेषण गरिन थालिएको छ, समाजमा धेरै प्रतिष्ठित नेता, अभिनेता तथा उच्चपदस्थ व्यक्तित्वहरूले धार्मिक यात्रा गर्दा, चर्चित धार्मिकस्थलमा दर्शन गर्दा, घरमा पूजापाठ गर्दा, यज्ञ गर्दाको फोटो सामाजिक सञ्जालमा राख्न चाहँदैनथे । कुनै प्रसिद्ध मन्दिरमा दर्शन गर्न गएको फोटो वा भिडियो अपलोड गर्दैनथे । अझ मिडियाबाट पूरै जोगिन चाहन्थे । मतलब के भने यस्ता धार्मिक गतिविधिमा मन लागे पनि सार्वजनिक गर्न हच्कन्थे ।
समाजले कस्तो भन्ला भन्ने मनमा हुन्थ्यो सम्भवतः । तर आजभोलि जमाना बदलिएको छ । जो जहाँ गए पनि धार्मिक गतिविधि गरे पनि सार्वजनिक गरिरहेका छन् । धर्मकर्म र धार्मिक गतिविधिमा लागेकाको पनि सम्मान बढ्न थालेको छ । सम्मानको विषय हुन थालेको छ । संस्कृतिको संरक्षक मानिन थालेको छ । पहिले दान दिएको पनि भन्न नरुचाउनेहरूले आजमोलि दान दिएको सगर्व बताउन थालेको पाइएको छ ।
चाडपर्व तथा व्रतहरूबारे मिडिया धेरै मैत्रीभावमा देखिएका छन् । कुनै पनि क्षेत्रमा मनाइने चाडपर्व मिडियाको पहुँचमा आउनु तथा तिनको पौराणिक तथा धार्मिक महत्वको खोजी गरिन थालेको छ । जब मिडियाले कुनै कुराको खोजी गर्छ, जब मिडियाले राम्ररी प्रस्तुत गर्दछ, जब मिडियाले सकारात्मकरूपमा कुनै कुरालाई लगातार प्रस्तुत गर्छ भने यसको असर आम समुदायमा सकारात्मक पर्दछ भन्ने कुरो सबैले बुझेकै छन् । आजभोलि मिडियाको प्रभाव समाजमा निकै रहेको छ ।
मिडियाले पौराणिक तथा धार्मिक पक्षबारे सोधखोज गरी चाडपर्वको महत्व, श्रद्धालु तथा व्रतालुको धारणा, सम्बन्धित धार्मिक स्थलबारे विभिन्न दृष्टिकोणले विश्लेषण गरिएका सामग्रीहरू प्रवाहित गर्दा सर्वसाधारणमा सकारात्मक माहोल बन्ने हुन्छ । अहिले भइरहेको पनि यहीं छ । कुनै प्रसिद्ध धार्मिकस्थलमा कुनै प्रसिद्ध कलाकार तथा कुनै चर्चित नेता यदि पूजा गर्न पुग्छ भने त्यहाँ सर्वसाधारणको ओइरो लाग्न थाल्छ किनभने मिडियाले निकै प्राथमिकता दिएर प्रवाहित गरेको हुन्छ । समाचार र फिचरले सर्वसाधारणमा निकै सकारात्मक प्रकाश पार्छ ।
समाजमा लेखकहरूको पनि सम्मान हुन्छ । आजभोलि यात्रासाहित्यको प्रचलन बढ्दो छ । मानिसहरू यात्राबारे लेख्छन् । यात्राको कुरा लेख्छन् । यात्राको सन्दर्भ लेख्छन् । यात्रापछि यात्रा र फेरि पनि यात्रा गर्छन् । केवल ठाउँ घुम्नका लागि पनि यात्रा गर्छन् । हामीकहाँ हरेक ठाउँमा मन्दिर छन् । हरेक ठाउँ देवस्थल छ । जहाँ गए पनि कुनै देवस्थलमा पुगेका हुन्छौं । अनि ती ठाउँका फोटा सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै विभिन्न पत्रपत्रिका, अनलाइन तथा साहित्यिक पत्रिकामा यात्रा संस्मरण वा नियात्रा लेख्ने गरिन्छ । ठाउँ पनि घुमिने र मुख पनि फेरिने अर्थात् स्वाद पनि बदलिने उखान चरितार्थ गर्दछन् । यो आम चलन नै भइसकेको छ । यस किसिमको प्रवृत्तिले समाजमा कस्तो किसिमको सामग्री मानिसले पढ्न चाहेका छन्, कस्तो किसिमको सामग्रीप्रति सर्वसाधारणको रुचि छ भन्ने पनि देखाएको हुन्छ ।
मिडियाले रुचि बढाउने तथा रुचिलाई प्राथमिकता दिने दुवै काम गर्ने हुँदा मिडियामा धर्म र संस्कृतिसम्बन्धी बढी सामग्री आउँदा दुवैले सकारात्मक प्रचार पाइरहेको हुन्छ । अनि सकारात्मकताले दिने परिणति पनि सकारात्मक नै हुन्छ । मिडियाले दिने सांस्कृतिक तथा धार्मिक सन्देशले पहिले कुनै खास वर्गलाई सकारात्मकरूपले प्रकाशित गरेको मानिन्थ्यो तर आजभोलि सर्ववर्गमा सकारात्मकता प्रवाह भएको बुझिन थालेको छ ।
साँच्चीकै यदि उमेरकै दृष्टिकोणले विचार गर्ने हो भने ज्येष्ठ नागरिकहरू अर्थात् वृद्धवृद्धाहरूमा धार्मिक तथा सांस्कृतिक मोह र आकर्षण अलि बढी नै पाइन्छ । यदि आम्दानी हुन्छ अर्थात् आर्थिक उपार्जन हुन्छ भने अन्य उमेरका मानिसको पनि संलग्नता हुन पुग्छ तर ज्येष्ठ नागरिकहरू भने धेरे हदसम्म धार्मिक प्रवृत्तिका हुने देखिएको छ । यस प्रकारका ज्येष्ठ नागरिकहरूमा पौराणिक सन्दर्भ तथा धार्मिक विषयवस्तु समेटिएका सामग्रीप्रति गहिरो चाख रहेको पाइएको छ । मिडियामैं भए पनि पढ्न पाउँदा जुन खुशी वा सन्तुष्टि पाउँछन्, त्यसले यस वर्गका मानिसमा रहेको धार्मिक भाव प्रकट गर्दछ । सन्तोष दिन सक्नु ठूलो कुरो हो । अनि अहिलेको आम प्रवृत्ति यो पनि हुन गएको छ कि मानिसहरू गाउँभन्दा शहरतिर केन्द्रित हुँदै गएका छन् ।
गाउँबाट शहरमा आएका ज्येष्ठ नागरिकको हातमा मोबाइल पुगेको छ र मोबाइलमा यस्ता ज्येष्ठ नागरिकले खोज्ने सामग्री भनेकै धार्मिक तथा सांस्कृतिक हुने गरेको छ । अनि यदि पढेलेखेका बौद्धिक ज्येष्ठ नागरिक छन् भने तिनले धार्मिक तथा सांस्कृतिक प्रवृत्तिका पुस्तक र पत्रिका पढ्न रुचाउँछन् । यदि रुचि छ भने तिनले लेख्ने सामग्री पनि यस्तै हुने गरेको पाइएको छ अधिकांश । यसरी जीवनलाई व्यवस्थित तुल्याउनको लागि तथा मानसिक स्वास्थ्यको लागि पनि धेरै मानिसले यस किसिमको सामग्रीलाई महत्व दिने गरेका छन् । वर्तमानमा धार्मिक तथा सांस्कृतिक सामग्रीको महत्व यसै कारणले पनि बढेको पाइएको छ ।
आप्mनो संस्कृति मानिसलाई प्यारो हुन्छ । यदि संस्कृति बलियो छ र परिवेश साँघुरो छ भने सांस्कृतिक भावना दबेर रहेको हुन्छ र परिवेश अनुकूल हुनासाथ मुखरित भएर आउँछ । अहिले विश्वका धेरै देशमा हिन्दू संस्कृति र धर्मसित जोडिएर मन्दिरहरू बनिरहेका छन् । जब कुनै चाडपर्व आउँछ, त्यसलाई मान्नेहरू विश्वभर देखिन थालेको छ । दशैं, छठ, शिवरात्रिजस्ता पर्वहरू विश्वको जुनसुकै कुनामा रहेका हिन्दूहरूले सगर्व मान्ने गरेका समाचार तथा सामाजिक सञ्जालमा सामग्रीहरू आउने गरेका छन् । यस वर्ष होली यसैगरी मानेको पाइएको थियो । यथार्थमा संस्कृतिप्रति आफ्नो परिवेश र वैश्विक परिवेशमा पनि चेतना र सकारात्मकताको विकास भइरहेको छ । आफूलाई नै कतै हेय दृष्टिले हेरिएको मनोविज्ञानमा अब परिवर्तन हुन थालेको छ ।
अलिकति नै भए पनि आफ्नो संस्कृति आफैंले बचाउनुपर्छ भन्ने भावनाको विकास मानिसमा भएको छ । यसकारण अब शिक्षित तथा बौद्धिक समुदायले पनि आफ्नो संस्कृतिको खोजी, संस्कृतिको मौलिकताको खोजी तथा सम्भव भएसम्म त्यसप्रति सकारात्मक धारणाको विकास गराउन भूमिका खेलेका छन्, खेलिरहेका छन् । अहिले वैश्विक परिवेशमा पुरातन संस्कृति, पौराणिक संस्कृति तथा धार्मिक संस्कृतिका साथै एउटै संस्कृतिभित्रको स्थानीय मौलिकताको खोजी हुन थालेको छ । यसलाई निकै सकारात्मक अर्थमा लिनुपर्छ ।
हरेक मानिस आफ्नो संस्कृतिप्रति आस्था राख्दछ । आफ्नो संस्कृतिप्रति राख्ने आस्था धेरैका लागि प्रदर्शनयोग्य हुन्छ र कतिपयका लागि केवल अभ्यन्तरमा हुन्छ । जुन रूपमा भए पनि संस्कृतिमाथि आस्था हुनु र आस्थाको पनि संस्कृति हुनु स्वाभाविक हो । अहिले आस्थाको कुराले केही विस्तार पाएको भने अवश्य हो । कुनै दिन यस्तो पनि आउला जब सनातन धर्मको खोजी होला र अहिलेका धेरैले सनातनप्रति अहिलेकोभन्दा अझ बढी आस्था प्रकट गर्लान् किनभने अहिले पौराणिक संस्कृतिप्रति विश्वास बढेको छ, आकर्षण बढेको छ । गर्व गर्नेहरू बढेका छन् । यस किसिमको चेतनाले वैश्विकस्तरमा विस्तार पाएको देखिएको छ । वैश्विकस्तरमा सांस्कृतिक चेतनाको विस्तार भइरहँदा स्वधर्म–स्वसंस्कृतिको मौलिकताको खोजीतर्फ स्वाभाविक आकर्षण बढेको छ ।