हिजो बिहीवारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरू भएको छ । एसइई यही चैत २७ गते सकिने तालिका छ । ७७ जिल्लाका पाँच लाख चार हजार ४१४ जना विद्यार्थी एसइईमा सहभागी छन । एसइई यस वर्षदेखि जापानमा पनि लिइँदैछ । हिजैको मितिबाट त्यहाँको एउटा विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थी एसइईमा सहभागी छन् । विद्यार्थीहरूको लागि सबैभन्दा कठिन परीक्षाको रूपमा एसइई रहँदै आएको छ । पछिल्लोपटक मावि तहको अन्तिम परीक्षाबाट हटाइको एसइई राष्ट्रिय परीक्षा बोर्डले लिइँदैछ । यसमा प्रदेशहरूको सहभागिता रहे पनि परीक्षाफल भने राष्ट्रिय परीक्षा बोर्डमैं केन्द्रित छ । पहिलेको एसएलसी र अहिलेको एसइईमा विद्यार्थी, अभिभावकहरूको संलग्नता र रुचिमा भने कुनै कमी आएको देखिन्न । मावि तहको अन्तिम परीक्षाको रूपमा एसएलसीको धेरै महŒव थियो । फलामे ढोकाको भनिने एसएलसी परीक्षा उत्तीर्ण गर्नेहरू आफूलाई शौभाग्यशाली ठान्थे । आफ्नो सन्तानले एसएलसी उत्तीर्ण गर्नुलाई अभिभावकहरूले युद्ध जितेसरह ठान्थे ।
एसएलसी उत्तीर्ण गरेको चर्चा उतिखेर गाउँटोल र उत्कृष्ट हुनेहरूको चर्चा देशभरि हुन्थ्यो । परीक्षा दिएर छ महीनापछि नतीजा प्रकाशित हुन्थ्यो र नतीजा थाहा पाउन कतिपय स्थानमा दुई/तीन दिन कुर्दा पनि थाहा हुन गा¥हो पर्दथ्यो । बल्लतल्ल नजीता प्राप्त गर्नेहरूमध्ये उत्तीर्ण हुनेको खुशीको सीमा हुँदैनथियो । अनुतीर्ण हुनेहरूको लागि अर्काे वर्ष कुर्नुको विकल्प थिएन । परीक्षाको स्वरूप परिवर्तन हुँदै गयो, दुई विषयमा अनुत्तीर्ण भएकाहरूलाई अर्काे वर्ष सहभागी भएर परीक्षा दिनुपर्ने बाध्यकारी अवस्था थियो । एक्जाम्टेड दिने परीक्षार्थी अर्काे वर्षको एसएलसीमा सहभागी हुन पाउँथे । समयकाल बदलिएसँगै एसएलसीको नाम परिवर्तनदेखि परीक्षा लिने शैली पनि परिवर्तन भएको छ । यस अघिसम्म एसइई ग्रेडिड्ढो हिसाबबाट लिने गरिन्थ्यो । ए प्लस, ए, बी प्लस, बी, सी प्लस र सी ग्रेडमा परीक्षाफल प्रकाशन गरिन्थ्यो । सी ग्रेडमा उत्तीर्ण गरेकाहरूलाई सरकारी क्याम्पसमा पनि सिफारिशको आधारमा भर्ना लिन थालिएपछि यस वर्षदेखि लेटर ग्रेडिङ परीक्षा अन्तर्गत परिक्षाफल प्रकाशनको नीति अवलम्बन गरिएको छ । यो व्यवस्था २०७८ सालमा गरिए पनि प्रयोगमा आएको थिएन । लेटर ग्रेडिङ परीक्षा अन्तर्गत अब परीक्षार्थीहरूले सय अङ्कको सैद्धान्तिक परीक्षामा ३५ पूर्णाङ्क र प्रयोगात्मक परीक्षामा ४० अङ्क ल्याएकै हुनुपर्छ । पहिले दुवै गरेर सय पूर्णाङ्कको परीक्षामा ३५ अङ्क ल्याउनुपर्ने व्यवस्था थियो ।
तोकिएकोभन्दा कम अङ्क ल्याउनेलाई मौका परीक्षा कुर्नुपर्ने हुन्छ । एसइईलाई अहिले सहज बनाउने प्रयास गरिंदै आए पनि विद्यार्थी र अभिभावकहरूबाट यसको भयलाई भने अहिलेसम्म हटाउन सकिएको छैन । केही प्रतिशत विद्यार्थीहरू र तिनका अभिभावकहरूले यो परीक्षालाई सामान्यरूपमा लिएका छन् भने अधिकांशले पुरानै एसएलसी सरहको व्यवहार गर्दा विद्यार्थीहरूबाट पुरानो एसएलसीको भूत हट्न सकेको छैन । वर्ष दिन पढेको पुस्तकबाट जसरी अन्य कक्षामा परीक्षा दिने गरिन्थ्यो सोही विधिबाट यो परीक्षा पनि दिने हो भन्ने कुरा विद्यार्थीहरूलाई अझसम्म बुझाउन सकिएको छैन, जसले गर्दा उनीहरू अहिले पनि एसइईलाई पुरानो एसएलसीझैं फलामे ढोकाकै रूपमा लिन बाध्य छन् ।