• राजेश श्रीवास्तव
“नेपाल गरीब छ तर नेपाली छैन” यो भनाइ नसुन्ने कोही नहोला । कुनै प्रसङ्गमा नेपाली धनी छन् भनी सुन्नुपर्दा कुनै नौलो नहोला । तर यथार्थमा नेपाली गरीब नै छन् । नेपालमा कुल जनसङ्ख्याको ०.०३ प्रतिशतले कार र १४ प्रतिशतले मोटरसाइकल चढेका छन् भने ३० प्रतिशतले प्राथमिक आवश्यकतासमेत पूरा गर्न सकेका छैनन् । छोरी विवाह गर्दा ऋण, जग्गा किन्दा ऋण, छोराछोरीलाई उच्च शिक्षा दिंदा ऋण, घर बनाउँदा ऋण इत्यादि जिम्मेवारीपूर्ण कार्यमा ऋण लागिरहने व्यक्ति कसरी धनी हुन सक्छ बुझिनसक्नु छ ।
नेपालमा सामान्यतया दुई किसिमका गरीब छन्, एक जसले आफ्नो आयबाट आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैन । जस्तै गाँस, बास, कपास । दोस्रो, जसले आफ्नो आयबाट प्राथमिक आवश्यकताहरू मात्र पूरा गर्न सक्छ । कुनै पनि देश धनी हुनको लागि देश नै धनी हुनुपर्छ र त्यस देशको राष्ट्रिय आय उच्च हुनुपर्छ । जबसम्म देश धनी हुन सक्दैन, तबसम्म त्यस देशका नागरिक धनी हुनै सक्दैनन् ।
विकसित देशहरूमा त्यस देशका जनताको आधारभूत आवश्यकता जसमा स्वास्थ्य र शिक्षा पनि पर्छन्, त्यसको जिम्मेवारी र संरक्षण त्यही देशले गरेको हुन्छ । अमेरिका, क्यानडा, डेनमार्क, ब्रिटेन, जापान, अस्ट्रेलिया जस्ता देशहरूमा जनताका आधारभूत आवश्यकताहरू, स्वास्थ्य र शिक्षासमेत, देशले नै पूरा गर्छ । ती देशहरूका जनता आधारभूत आवश्यताहरूबाट वञ्चित हुँदैनन् । ती देशका जनतालाई देशमा लगानी गर्न उत्प्रेरित गराइन्छ । जसले गर्दा उत्पादकत्वमा वृद्धि भई देश धनी भएपछि जनता पनि धनी हुन्छ । तर नेपाल जस्तो विकासोन्मुख देशमा जनताका आधारभूत आवश्यकताहरूको जिम्मेवारी देशले निर्वहन गर्दैन र जनता गरीबीको रेखामुनि हुन्छ । ती देशमा जनसङ्ख्याको एकदमै सानो हिस्सा मात्र गरीबीको रेखाभन्दा माथि हुन्छ । यसलाई गरीब र धनीबीचको रेखाचित्रले प्रस्ट पार्छ ।
यसो त नेपाल सधैं गरीब नै हुन्छ या धनी हुन सक्दैन भन्न खोजिएको होइन । नेपालमा प्रशस्तै प्राकृतिक स्रोत–साधनहरू छन्, जसको पर्याप्त मात्रामा उपयोग गर्न नसक्दा देश गरीब छ भने जनता पनि गरीब छ ।
देश धनी हुनको लागि पूँजी निर्माणको अवधारणालाई अघि सारिएको छ । तर पूँजी निर्माणको लागि तीनवटा कुरा जरुरी हुन्छ– एक– बचत गर्ने क्षमता, दोस्रो– बचत गर्न योग्य र तेस्रो– बचत गर्न सुविधा । जसरी बचत गर्न सक्ने क्षमताको अनुपात बढ्दै जान्छ, त्यसरी नै उत्पादत्वको अनुपात बढ्दै जान्छ र आयात कम हुन थाल्छ । अर्काे महŒवपूर्ण पक्ष भुक्तानीको सन्तुलनको अवधारणालाई पनि सारिएको छ । जब व्यापार घाटाको अनुपात बढ्दै जान्छ, त्यसरी नै देशले सञ्चय गरेको मुद्रा घट्दै जान्छ र देश गरीबीतर्फ लम्किन्छ । त्यस कारण देशमा आयातभन्दा निर्यात धेरै हुनुपर्छ र आयातलाई क्रमशः कम गर्दै जानुपर्छ । गरीबीले माग तथा आपूर्तिमा फरक पार्छ । यसलाई रेखाचित्रबाट पनि बुझ्न सकिन्छ ।
देश धनी हुनको लागि प्रत्येक व्यक्तिलाई देशमा लगानी गर्न अवसर दिन सक्नुपर्छ । विप्रेषणले तत्काल गरीबी घटेको देखिए पनि दीर्घकालीनरूपमा भने गरीबी घटेको हुँदैन । मुलुकबाहिर बसेर कमाउँदा त्यसले देश निर्माणमा दीर्घकालीन असर पु-याउँदैन ।
सरकारले लगानीको उपयुक्त वातावरण बनाउनुपर्छ । त्यसको अभावमा देशमा भएको पूँजी विदेशिने सम्भावना बढ्छ । लगानीको उपयुक्त वातावरणले देशको पैसा देशमैं रहन्छ र लगानीयोग्य रकमको अभाव हुँदैन । देशमा बन्द भएका कलकारखानाहरू खोल्ने वातावरण मिलाउनुपर्छ । आयातीत वस्तुहरू नेपालमैं उत्पादन गर्नेतर्फ उपयुक्त योजना अघि सार्नुपर्छ । विश्वव्यापीकरणले हरेक वस्तु नेपालमैं उत्पादन गर्न सम्भव छ । युवा पुस्तालाई व्यावहारिक शिक्षा प्रदान गरी देशमैं रोजगारको जिम्मा सरकारले दिन सक्नुपर्छ । जसले शिक्षित युवाशक्ति विदेशिन कम हुन्छ र उसको ज्ञानलाई नेपालमैं उपयोग गर्न सकिन्छ । नेपाली युवाशक्तिलाई विदेशमा पठाउनुभन्दा विदेशी दक्ष जनशक्तिलाई नेपाल ल्याउने वातावरण मिलाउने सके देश समृद्ध हुन सक्छ ।