• सञ्जय मित्र

कतिपय कुराको महत्व पछि थाहा हुन्छ । जुन दिन मैले यो फोटो खिचेको थिएँ, त्यस दिन मलाई यसमा यत्तिको विषयवस्तु छ जस्तो लागेको थिएन जति आज लागिरहेको छ ।

१. यो गाउँको चित्र हो । गाउँको नाउँमा यहाँ गुजुमुजु परेका घरहरू देखिंदैनन् । बाँकी जे दृश्यहरू रहेका छन्, तिनले यस चित्रलाई गाउँ बनाउन पर्याप्त भूमिका निर्वाह गरेका छन् ।

२. यस चित्रमा संस्कृति, आधुनिकतामा सबैको प्रकृति देखिएको छ ।

३. संस्कृति यस अर्थमा कि यहाँ मानिसको भीड देखिन्छ । वास्तवमा मैले यो फोटो खिच्दा दुलहाको फोटो देखियोस् भनेर खिचेको थिएँ, तर जुम गरिनँ । मनमा लाग्यो, दुलहाले कुनै दिन सोध्दा – तपाईं आउनुभएन मेरो बिहेमा ? तब उनलाई यो फोटो देखाउँछु सोचेर खिचेको थिएँ । मानिसको भीड चाहिं उनको बिहेको आम महुवा विवाहको बेलाको हो । आम महुवा विवाह एउटा सांस्कृतिक उत्सव हो जुन विवाहसित सम्बन्धित छ । अन्यत्र के कस्तो छ, भन्न सकिन्न तर बज्जिकाञ्चलमा आम महुवा विवाहको समयमा घरका आइमाई, आफन्त तथा नातागोता र छिमेकी महिलाहरू खुब नाच्छन् । यसैले मैले नजीकबाट फोटो खिच्न नसकेको हुँ । बूढोले किन भिडियो खिच्यो भन्ने डर पनि लागेको थियो मनको कुनै कुनामा ।

३. एका छेउमा रथ देखिन्छ । आजभोलि यो आधुनिक रथको प्रचलन बढी भइसकेको छ । पहिलेको जमानामा विवाहमा रथको चलन थिएन । गत एक डेढ दशकमा रथको चलन चल्न थाल्यो । पहिले एउटा घोडाले तान्ने रथ चलनमा आयो अनि दुई घोडाको । घोडाको रथलाई यस चार पाङ्ग्रे रथले प्रतिस्थापन गर्न थालेको छ । अब व्यावसायिकरूपमा एउटा चार पाङ्ग्रेलाई रथको आकारमा सजाइन्छ । यसले राम्रो आम्दानी त दिन्छ नै, सजिलो पनि छ । एक ठाउँबाट अर्को ठाउँमा जान निकै सजिलो भएको छ । पाँच दश किलोमिटरसम्म जान यस्ता रथलाई कुनै समस्या हुँदैन । आजभोजि हरेक गाउँमा सडकको विकास भइसकेको छ । यसले गर्दा यस किसिमको रोजगार राम्ररी चलेको छ । बदलिंदो जीवनशैलीमा विवाहको यो एउटा अनिवार्यता हुन गएको छ ।

४. चित्रमा ठूलो ठाउँ ओगटेको गोरहाले हो । गोरहा ग्रामीण जनजीवनसित निकै गाँसिएको छ । यसो त यसले इन्धनको काम गर्छ, तर यसले संस्कृति बोकेको छ । गोरहा बनाउने काम कात्तिक महीनाको गोबर्धन पूजाको दिन हुन्छ । यसलाई चैत महीनाको नवमीको दिनदेखि घरमा भिœयाइन्छ । यद्यपि यसलाई भिœयाउन समत जरेपछि (होलिकादहन, चिरदाह भएपछि) अर्थात् होलीपछि कुनै बाधा हुँदैन । होलीमा यसको पहिलो उपयोग गरिन्छ । अझै पनि गाउँघरमा पूजामा कुनै काठभन्दा यसलाई शुभ मानिन्छ । धार्मिक काममा यसको उपयोग गरिन्छ । कुनै पनि सांस्कृतिक काममा यसको आगोलाई उच्च शुद्ध मानिएको पाइन्छ । यद्यपि यसलाई चुलो बाल्नकै लागि सबैले अत्यधिक प्रयोग गर्दछन् तर गाउँघरमा कसैको अन्तिम संस्कार गर्नुपर्दा यही गोरहा नभई हुँदैन । यसको महत्व छठियारमा पनि हुन्छ । यसरी जन्मदेखि मृत्यसम्म सबै धार्मिक तथा सांस्कृतिक काममा गोरहाको उपयोग हुन्छ । सम्भवतः ग्रामीण संस्कृतिमा गोरहाको विशालता पनि यस चित्रले बयान गरेको छ ।

५. अलिकति भैंसीको अनुहार देखिएको छ र गोरहाभन्दा पहिले देखिन्छ एउटा थुप्रो । गोबर र खरानीको यो थुप्रो कुनै खेतमा जाने बाटो कुरिरहेको छ । समय आएपछि खेतमा छरिएर मलको काम गर्ने यो थुप्रोले ग्रामीण समुदायको दाउरामाथिको निर्भरता पुष्टि गर्दछ । यति धेरै गोरहाको निर्माण र गोरहाको उपयोगपछि बनेको खरानी पनि देखिनुले गोरहाको अन्तिम गन्तव्य पनि यहीं हो । गोरहा पनि अग्लिंदैछ र खरानी पनि अग्लिंदैछ । गोरहा बन्ने मुख्य कच्चा पदार्थ गोबर नै हो । गोबर दिने पशुधन (भैसी) पनि यसै चित्रमा रहेको छ । एक अर्को संयोग पनि छ, भैंसीभन्दा अलिक दाहिनेतिर परालको कुन्यु देखिन्छ । पराल भैंसीले खान्छ । भैंसीले खाने पराल र घाँस हो । यस चित्रमा पराल र घाँस सबै देखिने हुनाले एक किसिमले गोरहाको जीवनचक्र नै पूरा भएको देखिन्छ । घाँस वा पराल भैंसीले खान्छ, भैंसीले गोबर दिन्छ, गोबरबाट गोरहा बन्छ, गोरहा बालेपछि खरानी बन्छ र खरानीले घाँस उत्पादनमा मलको काम गर्छ ।

६. यहाँ मन्दिरको फोटो पनि स्पष्ट देखिएको छ । गाउँमा मन्दिर हुनु स्वाभाविक हो । गाउँको मन्दिर पनि गरीब नै हुन्छ । यहाँ देखिएको मन्दिर खासै भव्य छैन तर यो मन्दिर नयाँ पनि होइन । यो हेर्दैमा पुरानो लाग्छ । मन्दिर पुरानो हुनुको अर्थ हो कि यसको महŒव धेरै छ । गाउँका कतिपय प्राचीन मन्दिरबारे शहरलाई खासै थाहा हुँदैन र गाउँमा मन्दिरको सम्बन्ध विवाहजस्ता अत्यन्त शुभ कार्यसित रहेको हुन्छ । गाउँको सुन्दरता धार्मिक काममा पनि हुन्छ । हरेक काममा ग्रामीण समुदायले धर्म नै देख्नु सौन्दर्यभाव हो । आम महुवा विवाह गर्न पनि यसैगरी मन्दिरकै छेउमा पुग्दछन् ग्रामीणहरू । मन्दिर अर्थात् देवी र देवतासित गाउँको सम्बन्ध अत्यन्त जीवन्त हुन्छ । मन्दिरमा पूजा गरेपछि आम महुवा विवाह हुन्छ अनि सबै नाच्न थाल्छन् जबसम्म अर्को कामको लागि हतार हुँदैन ।

७. आँपलगायत अन्य विभिन्न किसिमका रूखहरू देखिन्छन् । बगैंचालाई गाउँको सुन्दरता यसकारण पनि मानिन्छ कि यस्तो बगैंचा गाउँमा मात्र सम्भव हुन्छ । आँपको रूखको त संस्कृतिसित नङ र मासुको सम्बन्ध हुन्छ नै । चित्रमा देखिने बाँस पनि गाउँको जीवनमा कम गुणकारी मानिंदैन । गाउँको पर्यावरण यस्तै रूखबिरुवाले नै बचाएका छन् । रूख बिरुवाहरू कति आफैं उम्रन्छन् त कतै लगाइएका हुन्छन् । यसमा देखिएका सबै रूख रोपेकै हो । यी रूखहरू पुराना छैनन् र भर्खरका पनि छैनन् । गाउँमा रूख रोप्ने र आम्दानी लिने काम फरक अर्थमा लिइन्छ । फलानाको आफ्नो दुई पेड छैन भनेपछि अलिकति सम्मानमा कमी भएको महसूस हुन्छ । हरेक हुने खानेको आफ्नो बगैंचा हुनुपर्छ भन्ने मनोविज्ञान गाउँमा अद्यापि विद्यमान छ । फूलबारी अर्थात् बगैंचा नहुने हो भने सम्मानको एक अंश बाँकी रहेको मानिन्छ ग्रामीण जीवनमा । यसलाई पर्यावरणको दृष्टिले पनि लिन सकिन्छ र गाउँघरमा छहारीको अझै पनि निकै ठूलो महत्व छ भनेर देखाउँछ । यसैगरी ग्रामीण जीवनमा अझै पनि फलपूmलको सेवन मानिस आफ्नै उत्पादनमा निर्भर छन् भन्ने कुरा पनि चित्रमा देखिएको रूखहरूको आधारमा अनुमान लगाउन सकिन्छ ।

यदि यस चित्रको विश्लेषण गर्ने हो भने अझै पनि केही कुरा निकाल्न सकिन्छ तर यो फोटो खिचेको केही समयपछि आफैलाई पनि गज्जब लागेको छ । कहिलेकाहीं चित्रले धेरै कुरा बोलेको हुन्छ । यस चित्रले पनि धेरै कुरा बोलेको छ । धेरै कुरा बोल्ने चित्रको अर्थ पनि धेरै हुन्छ । हुन सक्छ, कसैलाई यो चित्र सामान्य लागोस् तर मलाई भने निकै विशिष्ट लागेको छ र आज मलाई त्यो भनाइ सही लागेको छ जसले भनेको छ – एउटा फोटोले कुनै लेखभन्दा बढी बोल्ने सामथ्र्य राख्दछ ।

यस फोटोमा संस्कृति, आधुनिकता र दैनिकीको प्रकृतिलाई मज्जैले दर्शन गर्न सकिन्छ, समयको कुनै एक बिन्दुमा रहेर । यसले प्रकृतिको बयान त गरेकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here