• सञ्जय मित्र

भगवान् बुद्धको जीवनका दुर्ई पक्ष छन् । प्रथम सिद्धार्थ गौतमको रूपमा र दोस्रो बुद्धको रूपमा । सिद्धार्थ गौतमको रूपमा ज्ञान प्राप्त नगरेसम्मको जीवनको अवस्थालाई लिइन्छ र गौतमले जब बोधिसत्व प्राप्त गरेर सम्बोधी बने अर्थात् जब बुद्धत्व प्राप्त गरे, तब उनलाई दुनियाँले भगवान् बुद्धको नामले चिनेका छन् ।

सिद्धार्थ गौतम राजकुमार थिए । उनी तपस्वीको भेष धारण गरी राज्यलाई त्याग गरेका भएपनि जबसम्म उनले बुद्धत्व प्राप्त गरेनन्, तबसम्म जहाँ जाँदा पनि उनलाई उनको यस परिचयले छोडेन कि उनी कपिलवस्तुका राजपुत्र हुन्, राजकुमार हुन् । कठिन तपस्यामा रहँदा पनि उनको परिचय तपस्वीका साथसाथै महाराज सुद्धोधनका पुत्रका रूपमा रहिरह्यो तर जब बुद्धत्व प्राप्त भयो, तब उनको परिचय दुनियाँको नजरमा पनि बदलियो । यसको मुख्य कारण स्वयम् परिचयको मुहान बन्न पुग्नु हो । बुद्ध आफैंमा एक परिचयको रूपमा स्थापित भइसक्नु हो ।

जब सिद्धार्थ गौतम थिए, राजकुमार थिए, तब उनको जीवनको मुख्य धारा कपिलवस्तु र आसपासमा मात्र प्रभावित भइरहेको देखिन्छ । उनी कपिलवस्तुको पहाड, जङ्गल र मामाघरसम्म विचरण त गथ्र्ये तर उनको विचरण कतिसम्म नियन्त्रित थियो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ कि उनको अगाडि कोही रोगी पर्नुहुँदैनथ्यो, कोही मरेको मानिस आउनुहुँदैनथ्यो, कोही बूढो मानिस आउनुहुँदैनथ्यो । भन्नुको तात्पर्य उनी अत्यन्त नियन्त्रित वा सीमित सीमामा मात्र भ्रमण गर्न पाउँथे । एक राजकुमारको हैसियतमा पनि केही सीमाहरू थिए र कौडिन्य तथा असितमुनिले सिद्धार्थ गौतमको बारेमा जे भविष्यवाणी गरेका थिए, त्यसको डरले पनि राजामा एउटा सीमाको निर्धारण गरेको थियो, जुन सिद्धार्थ गौतममा लागू भएको थियो । स्वतन्त्रतापूर्वक आफ्नो नगरमा पनि विचरण गर्न सिद्धार्थलाई अप्ठ्यारो थियो ।

जब सिद्धार्थले गृहत्याग गरे, तब उनी स्वतन्त्र भए । घुमफिरका लागि स्वतन्त्रता पनि उनी सँगसँगै प्राप्त गरे । अनि उनी मूलतः तप, ध्यान, योगतिर बढी केन्द्रित भए । विभिन्न साधु, तपस्वी तथा योगीहरूका बीचमा पुगे । तिनीहरूबाट ज्ञानको आर्जन गरे । उनी जोसित ज्ञानको अपेक्षा गरेर सिक्न चाहन्थे, त्यहाँ केही समय वा महीना बसेर तिनका सिद्धार्थले त्यहाँबाट प्राप्त हुने सम्पूर्ण ज्ञान हासिल गर्न सफल हुन्थे । उनको प्रतिभा देखेर सबै चकित हुन्थे । धेरै गुरुले त सोझै सिद्धार्थलाई आफ्नो उत्तराधिकारी बनाउन पनि प्रस्ताव गरेका थिए तर सिद्धार्थले भने आफ्नो उद्देश्य परम सत्यको खोजी भएको बताउँथे । अधिकांश गुरुले केवल मोक्ष वा मुक्तिको बाटो बताउँथे । मुक्ति वा मोक्ष केवल आफ्नो मात्र हुन्थ्यो । सिद्धार्थ यसमा पनि स्वार्थ देख्थे ।

राजाको छोरा राज्यत्याग गरेर आफ्नो स्वार्थको लागि निस्केको होइन, आफ्नो मुक्ति चाहनु वा मुक्तिको बाटो केवल आफ्नोलागि बताउनु पनि स्वार्थ हो भन्ने ठान्थे । सिद्धार्थमा अत्यन्त उच्चकोटिको वैराग्य थियो । यस उच्चकोटिको वैराग्यको अगाडि योग, तप, साधना, ध्यानमा राग भएका गुरुहरू सिद्धार्थको लक्ष्य र साधना देखेर अचम्भित हुन्थे । उनीप्रति अनुरक्त हुन्थे पनि । सिद्धार्थको चाहना निकै फरक थियो । यसै चाहनालाई शान्त पार्न गुरुको आश्रमको खोजीमा उनी धेरै ठाउँमा पुगे । प्रायः ती ठाउँहरू अहिलेको राजगीर, वैशाली र केही अन्य स्थानहरू हुन् । ज्ञानको भोक यति तीव्र थियो कि निर्जन वन तथा खोलाको बाढीलाई उनले सजिलै एक्लै पार गर्थे । सिद्धार्थले आफ्नो शरीरभन्दा निकै धेरै महत्वपूर्ण ज्ञानलाई मानेका थिए । ज्ञानको प्राप्तिपछि जब उनी बुद्ध बने, तब उनले धेरै ठाउँको भ्रमण गरे ।

आज बौद्ध धर्म विश्वमा परिचित भएको छ । विश्वका धेरै देशमा राजधर्मको रूपमा बौद्ध धर्म स्थापित भएका छन् । यसबाट यो सिद्ध हुन आउँछ कि बुद्धको विचारलाई विश्वका धेरै मानिसले मान्ने गर्छन् । जुन देश बौद्ध धार्मिक देश हुन्, त्यहाँ बुद्ध पुगेका थिए । सम्भवतः सबै बौद्ध धार्मिक देशमा बुद्ध पुग्न सकेका थिएनन् । बौद्ध धार्मिक देशमा सशरीर बुद्ध नपुगेका भएपनि बुद्धको विचारले भने व्यापकता पाइसकेको यथार्थ हो । अनि मनमा प्रश्न उठ्छ कि बुद्धको भ्रमण कहाँ–कहाँ भएको थियो ? यसको जवाफ सजिलो त छैन तर केही बौद्ध धार्मिक ग्रन्थ तथा बुद्धको जीवनीसँग सम्बन्धित ग्रन्थहरूमा भने बुद्ध निकै कम ठाउँमा भ्रमण गरेको उल्लेख पाइन्छ ।

‘भगवान् बुद्ध र उहाँको धर्म’ डा भीमराव रामजी अम्बेडकरद्वारा अनुसन्धान गरिएको पुस्तकको नेपाली अनुवाद हो । यस कृतिलाई दायक सभा, धर्मशीला बुद्ध विहार, पोखराले प्रकाशन गरेको छ । कृतिको अनुवाद ललितरत्न शाक्यले गरेका छन् । यस कृतिको एक ठाउँमा बुद्धले कहाँ–कहाँको भ्रमण गरेका थिए त ? भन्ने प्रश्नको खोजी गरिएको छ । यस पुस्तकको पृष्ठ ४४९ र ४५० मा भगवान् बुद्धका भ्रमणस्थलहरूका बारेमा चर्चा गरिएको छ । भगवान् बुद्धले जब आफूलाई तथागत घोषणा गरे वा आफ्नो उपनाम तथागत राखे, तब उनलाई तथागत पनि भन्न थालियो । यद्यपि बुद्धको रूपमा उनी बढी सर्वसाधारणमा परिचित थिए र छन् पनि । ‘धर्म प्रचारको केन्द्र’ र ‘तथागतले यात्रा गर्नुभएका ठाउँहरू’ उपशीर्षकमा उनका यात्रास्थलहरूको सामान्य परिचय दिइएको छ ।

तथागत बुद्धलाई निकै मनपर्ने ठाउँमा श्रावस्ती, राजगृह र वैशाली मानिन्छन् । तथागत बुद्धले धर्म प्रचारको क्रममा, उपदेश दिने क्रममा तथा सर्वसाधारणलाई भेट्ने क्रममा सबैभन्दा बढी बसेको ठाउँ श्रावस्ती हो । श्रावस्ती उत्तर प्रदेशको एक जिल्ला हो । तत्कालीन कौशल राज्यको दोस्रो राजधानीको रूपमा रहेको श्रावस्तीको जेतवनमा बनाइएको विहारमा उनी बस्थे । जेतवनको कथा पनि निकै मार्मिक छ । किन वा कसरी त्यहाँ बौद्ध विहार बन्न पुग्यो ? कुनै एक दिन यस विषयमा पनि छलफल गरौंला । त्यसो त बुद्ध धर्मोपदेशको काममा निरन्तर घुमिरहन्थे । उनी पैदलै हिंड्थे । कुनै सवारीसाधन यहाँसम्म कि कुनै बयलगाडाको उपयोग पनि गर्दैनथे ।

के उल्लेख पाइन्छ भने श्रावस्तीमा बुद्ध ७५ पटक पुगेका थिए । जब भिक्षु सङ्घले निर्णय ग-यो कि तथागतको वर्षावास श्रावस्तीमा हुन्छ, तबदेखि धेरै वर्षावास श्रावस्तीमैं भयो र अन्य समयमा पनि उपदेश दिने काम श्रावस्तीमा भएको पाइन्छ । श्रावस्तीपछि बुद्धको भ्रमण राजगृह (राजगीर), अहिलेको बिहार प्रान्तमा पर्ने एक तीर्थस्थल, मा २४ पटक भएको पाइन्छ । यसैले यो ठाउँ पनि निकै प्रसिद्ध रहेको छ ।

बुद्ध आफैंले आफूलाई मनपर्ने र प्रिय ठाउँको रूपमा वैशालीलाई पनि भनेका छन् । वैशाली गङ्गाभन्दा उत्तरमा पर्छ । पाटलीपुत्र (पटना)भन्दा करीब उत्तरमा वैशाली त्यस बेला निकै सम्पन्न थियो । धर्मदूत तथागतले वैशालीमा नै नगरवधू अम्बपाली (आम्रपाली)लाई भेटेका थिए । आम्रपाली युवराज सिद्धार्थ गौतमको विवाहमा पनि पुगेकी थिइन् । वैशालीमा सिद्धार्थको रूपमा र बुद्धको रूपमा दुवै अवस्थामा पुगेको पाइन्छ । कपिलवस्तुबाट राजगृह जाँदा–आउँदा बीचैमा पर्ने भएकोले पनि यहाँ पहिले पनि भ्रमण भएको हुनुपर्छ । यद्यपि तथागत बुद्ध भने छपटक वैशाली पुगेको उल्लेख पाइन्छ ।

धेरैलाई मनमा खुल्दुली हुन सक्छ कि बुद्ध कपिलवस्तु कतिपटक पुगे ? कपिलवस्तु त सिद्धार्थ गौतमको जन्मस्थल हो । जन्मस्थलसित कसलाई प्रेम हुँदैन र ? कतिपयले भगवान् बुद्ध केवल एकपटक मात्र कपिलवस्तु पुगेको बताउने गरेका छन् । उक्त कृतिमा कपिलवस्तु छपटक पुगेको उल्लेख पाइन्छ । यसैगरी, कम्मासदम्म भन्ने ठाउँमा बुद्ध चारपटक पुगेका छन् ।

बुद्धले भ्रमण गरेका ठाउँमा उकट्ठा, नादिका, साला, अस्सपुर, घोषिताराम, नालन्दा, आपण, एलु, ओपसाद, इछानङ्गल, चन्डाल–कप्प, कुसीनारा, देवदह, पावा, अम्बसनडा, सेतव्या, अनुपिया, उजुन्जा, भन्डग्राम, हट्ठीनगर, भोगनगर आदि पर्छन् । भगवान् बुद्ध काठमाडौं, श्रीलङ्का तथा केही अन्य देशमा पुगेको पनि कतैकतै उल्लेख पाइन्छ तर दायकसभाद्वारा प्रकाशित उपर्युक्त कृति तथा राजन बस्नेत र सुमन्तराज न्यौपानेद्वारा लिखित ‘बुद्ध र लुम्बिनी’ भन्ने कृति, जुन कफी कम्पनी, रूपन्देही, नेपालका पशुपति घिमिरेद्वारा प्रकाशित हो, मा पनि अन्य देशमा बुद्धको भ्रमणबारे उल्लेख गरिएको पाइँदैन । पुनश्चः भगवान् बुद्धले भ्रमण गरेका ठाउँहरू यत्ति नै हुन् भनी यकीनका साथ भन्न सकिन्न । अन्य ठाउँहरूको पनि भ्रमण गरेको हुनुपर्छ, जसको उल्लेख गर्न कतिपय लेखक तथा अनुसन्धानकर्मीले नसकेको हुनुपर्छ ।

वर्तमानमा बुद्धको मूर्ति अर्थात् भौतिक शरीरको अनुकरण र विचार अर्थात् दर्शन नपुगेको कुनै ठाउँ होला ? बुद्धको नाम नपुगेको कुनै कुना नहोला । जहाँ शान्तिको सन्दर्भ आउँछ, त्यहाँ भगवान् बुद्धको नामोच्चारण हुन्छ । जहाँ त्याग, तप र साधनाको विमर्श हुन्छ, त्यहाँ बुद्धको पनि उपस्थिति हुन्छ । यसर्थ भगवान् बुद्ध अनेक दृष्टिकोणमा धेरै ठाउँमा उपस्थित हुन्छन् वा भइरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here