• विश्वराज अधिकारी
गरीबहरूको अर्थशास्त्र भनेर छुट्टै अनेक सिद्धान्तहरूको व्याख्या गरिएको छैन । अर्थशास्त्र मात्र भनिएको पाइन्छ । तर यथार्थमा दुई किसिमको अर्थशास्त्र रहेको पाइन्छ । पहिलो धनीहरूको अर्थशास्त्र, दोस्रो गरीबहरूको अर्थशास्त्र ।
धनीहरूको अर्थशास्त्रमा धन कसरी वृद्धि गर्ने त्यसबारे सोंचिएको हुन्छ । धन वृद्धि गर्ने अनेक सिद्धान्तहरूको विकास गरिएको हुन्छ । राज्यले पनि, धनीहरूको अर्थ व्यवस्थामा पूँजीपतिहरूलाई सहयोग गरेको हुन्छ । धनीहरूका लागि धन वृद्धि गर्न सजिलो हुने किसिमका नियम र कानून निर्माण गरिदिएको हुन्छ ।
धनीहरूको अर्थशास्त्रमा पूँजीपति र उद्योगपतिहरूले आफ्नो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न, आपूर्तिको परिमाण तोक्न एवं बजार छनोट गर्न स्वतन्त्र हुन्छन् । कुन बजारमा व्यापार गर्ने र कुन बजारमा नगर्ने भनी निर्धारण गर्न पूर्ण स्वतन्त्र हुन्छन् । यसैगरी बजारमा प्रवाहित गर्ने ऋणको ब्याज दरसमेत निर्धारण गर्न उनीहरू स्वतन्त्र हुन्छन् । राज्यले निर्माण गरिदिएको खुकुलो र अनुकूल नियमले गर्दा धनीहरूको अर्थशास्त्रमा व्यापारी एवं उद्योगपतिहरूलाई छोटो समयमा धनी हुन र ठूलो मात्रामा धन सृजना गर्न पूर्ण छुट हुन्छ ।
धनीहरूको अर्थशास्त्रमा धनीहरू निकै शक्तिशाली हुन्छन् । देशको राजनीतिलाई आपूm अनुकूल हुनेगरी प्रभावित पार्न सक्छन् । आप्mनो अनुकूलको सरकार स्थापनासमेत गर्न सक्छन् । निर्वाचनमा जनप्रतिनिधिहरूलाई चुनाव लड्न धेरै पैसा दिएकोले जनप्रतिनिधिहरूलाई आफ्नो हित अनुसारको कार्य गर्न बाध्य पार्न सक्छन् । धनीहरूको अर्थशास्त्रमा देशको अर्थव्यवस्था धनीहरूको नियन्त्रणमा हुन्छ । देशको अर्थ व्यवस्था धनीहरूको वरिपरि नै घुम्छ ।
अमेरिका, फ्रान्स, जर्मनी, इटाली आदिमा धनीहरूको अर्थशास्त्रलाई प्रयोगमा ल्याइएको पाइन्छ । चीनले पनि अहिले धनीहरूको अर्थशास्त्र अँगालेको छ । चीनमा अहिले धनीहरूको अर्थशास्त्रकै बोलबाला छ । कुनै बेला आपूmलाई समाजवादी भन्ने भारत पनि अहिले धनीहरूको अर्थशास्त्रको उपयोगकर्ता भएको छ । यस्तो गरेर भारत छोटो समयमा धनी भएको छ, ठूलो अर्थतन्त्र भएका देशहरूमध्ये एक हुन पुगेको छ । तर भारतमा गरीबी पनि त्यसै अनुसार बढेको छ । सबैभन्दा ठूलो कुरा भारतमा अहिले गरीब र धनीबीचको फरक भने ज्यादै ठूलो हुन पुगेको छ । एक दिनमा एक रुपियाँ पनि कमाउन नसक्ने र एक दिनमा एक लाख कमाउने व्यक्तिहरू पनि छन्, अहिलेको पूँजीवादी भारतमा, धनीहरूको अर्थ व्यवस्थालाई उत्तम ठान्ने भारतमा ।
जसरी कमिलाले मह सृजना गर्दैन र मह केवल मौरीले नै सृजना गर्छ, त्यसैगरी सामान्य प्रवृत्ति भएको व्यक्तिले होइन, व्यापारी प्रवृत्ति भएको व्यक्तिले मात्र धन सृजना गर्न सक्छ भनी धनीहरूको अर्थशास्त्रले बलियोगरी विश्वास गर्दछ । धन कमाउने व्यक्तिमा विशेष किसिमको सीप हुन्छ भन्ने कुरामा जोड दिन्छ ।
गरीबहरूको अर्थशास्त्रमा गरीबका निर्वाहका कुराहरू गरिएको हुन्छ । गरीबहरूको हितको संरक्षण कसरी गर्ने भनी विचार पु-याइएको हुन्छ ।
समाजमा सबै क्षमतावान् हुँदैनन् । धेरै व्यक्ति बौद्धिकरूपमा र कोही शारीरिकरूपमा कमजोर हुन्छन् । तर अर्कोतिर सामाज अति नै प्रतिस्पर्धापूर्ण हुन्छ । समाजमा भएको अति प्रतिस्पर्धाले गर्दा कमजोर वा कम क्षमता भएका व्यक्तिहरूलाई बाँच्न कठिन हुन्छ । यस्तो स्थिति भएकोले कम क्षमता भएका तथा कमजोर व्यक्तिहरूलाई पनि बाँच्न सजिलो होस् भन्ने सोच गरीबहरूको अर्थशास्त्रले राखेको पाइन्छ ।
कुनै पनि देशले गरीबहरूको अर्थशास्त्रलाई आप्mनो देशको अर्थ व्यवस्थाको रूपमा अङ्गीगकार गरेको भने पाइँदैन । तर गरीबहरूको अर्थशास्त्रलाई महत्व दिएको भने पाइन्छ । गरीबहरूको अर्थशास्त्रको महत्व बुझेर अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता पूँजीवादी देशहरूले पनि गरीबहरूको हित संरक्षण गर्न केही कार्यक्रमको व्यवस्था गरेको पाइन्छ । अमेरिकाले आप्mना नागरिकलाई सेवा निवृत्तिपछि दिने ‘सोसल सेक्युरिटि रकम’ लाई लिन सकिन्छ । प्रत्येक अमेरिकी, जसले तोकिएको अवधिभरि काम गरेर र तोकिएको रकम कमाएर आपूmलाई ‘सोसल सेक्युरिटी’ प्राप्त गर्न योग्य पारेको छ, सोसल सेक्युरिटी रकम पाउन सक्छ । सोसल सेक्युरिटी रकम, जुन तोकिएको रकम हुन्छ, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सरकारी निकायमा काम गर्नेले पाउन सक्छ । सरकारी निकायमा काम गर्नेले मात्र सोसल सेक्युरिटी रकम पाउँछ भन्ने छैन । यो रकम जुनसुकै क्षेत्रमा काम गरेको व्यक्तिले पनि पाउन सक्छ । यो रकम पेन्सन पाउनेहरूले पनि पाउन सक्छन् । यो रकम दिनुको उद्देश्य नै गरीब नागरिकलाई सहयोग गर्नु हो । उनीहरूको वृद्धावस्था आम्दानी नभएको कारणले गर्दा दुःखमय हुन नदिनु हो । सर्वाधिक ठूलो कुरा त के छ भने अमेरिका पूँजीवादी देश भए तापनि अमेरिकासँग गरीबहरूसम्म पुगेर उनीहरूलाई आर्थिक सहयोग गर्ने संयन्त्र वा व्यवस्था छ । यस्तो व्यवस्था चीन, भारतजस्ता नवधनाड्य कहलिएका राष्ट्रहरूमा छैन ।
विभिन्न देशहरूले गरीबको अर्थशास्त्रलाई आप्mनो राष्ट्रिय अर्थनीति भित्र नराखे तापनि त्यस्ता देशहरू भित्र अनेक व्यक्ति वा सङ्घ संस्थाहरूले गरीबहरूको लागि काम गरेको वा गरीबहरूको अर्थशास्त्र अङ्गीकार गरेको पाइन्छ ।
गरीबहरूको अर्थशास्त्रलाई महत्व दिने अनेक सङ्घ, संस्था र व्यक्ति संसारभरि सक्रिय रहेको पाइन्छ। यस्तै सक्रिय रहने व्यक्तिहरूमध्ये एक हुन् बङ्गलादेशी नागरिक मुहम्मद युनुस । युनुसले गरीबहरूको आर्थिक उत्थान गर्नका लागि फरक किसिमको सोच र व्यवस्था हुनुपर्छ भन्ने अवधारणाको विकास एवं प्रयोग बङ्गलादेशजस्तो गरीब राष्ट्रमा गरे । गरीबहरूका लागि काम गरेबापत उनले सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाए । गरीबहरूको आर्थिक अवस्थामा सुधार ल्याउन उनले ग्रामीण बैंकको स्थापना गरे । गरीबहरूसम्म पुग्न ‘माइक्रो क्रेडिट’ र ‘माइक्रो फाइनान्स’ को व्यवस्था गरे । उनले ग्रामीण बैंकबाट त्यस्ता गरीब व्यक्ति र परिवारहरूले ऋण पाउने व्यवस्था मिलाए जसलाई प्रचलनमा रहेका वा चलनचल्तिका बैंकहरूले ऋण दिन अस्वीकार गरेका थिए वा अस्वीकार गर्न सक्थे ।
गरीबहरूलाई सहयोग गर्ने युनुसको यो कार्य संसारभरि प्रख्यात भयो । कतिपय राष्ट्रले युनुसको यो कार्यक्रमबाट प्रभावित भएर गरीबहरूलाई सहयोग गर्ने केही नयाँ कार्यक्रमको व्यवस्था पनि गरे ।
युनुसले स्थापना गरेको संस्था ‘ग्रामीण बैंक’ लाई गरीबहरूको अर्थशास्त्र अनुसार काम गर्ने संस्थाको रूपमा लिन सकिन्छ । यो संस्थाले त्यस्ता निर्धन परिवारलाई पनि व्यवसाय गर्न ऋण दिन्छ जोसँग ऋण लिन योग्य धितो राख्ने केही हुँदैन ।
नेपालमा गरीबहरूको अर्थशास्त्र भन्ने सोचको विकासम्म भएको पाइँदैन । सम्बन्धित क्षेत्रको ज्ञान नभएका (अर्थशास्त्र अध्ययन नगरेको) अर्थमन्त्रीहरूमा गरीबहरूको अर्थशास्त्रको ज्ञानको अभाव देखिएको त छ नै, सम्बन्धित क्षेत्रको ज्ञान भएको, अर्थशास्त्री, मन्त्रीहरूमा पनि गरीबहरूको अर्थशास्त्रबारे ज्ञान नभएको पाइन्छ ।
२०४६ सालपछि, नेपालको कुनै पनि अर्थमन्त्रीले अति निर्धनहरूलाई लक्षित गरेर, उनीहरूको आर्थिक स्थिति सुधारका लागि कुनै विशेष आर्थिक कार्यक्रम ल्याएको देखिएको छैन । गरीबहरूको आर्थिक सुधार गर्न कुनै सोच उनीहरूबाट आएको छैन ।
हुनत हाम्रा सत्ता र स्वार्थमुखी नेताहरूबाट आर्थिक विकासको अपेक्षा गर्नु दिनमा जून देख्न खोज्नु हो । तर पनि आशा गर्न त छाड्नुहुँदैन । भोलिका दिनमा नयाँनयाँ र इमानदार नेताहरूको पनि उदय हुन सक्छ । अब आउने नयाँ, इमानदार एवं निस्वार्थी नेताहरूले भने गरीबहरूको अर्थशास्त्रको गहिरो अध्ययन गर्नेछन् । त्यसको व्यवहारिक प्रयोग पनि गर्नेछन् ।
यो लेखको उद्देश्य पूँजीवादी व्यवस्थाको विरोध गर्नु भने होइन । संसारका अनेक देश पूँजीवादी अर्थ व्यवस्था अङ्गीकार गरेर नै धनी भएका हुन् । अमेरिका, क्यानाडा, जर्मनी, इटाली, फ्रान्सजस्ता धनी देशहरूले पूँजीवाद नै अङ्गीकार गरेका छन् । कुनै पनि देशले आफ्नो आर्थिक विकास गर्नका लागि पूँजीवादी अर्थ व्यवस्थालाई जति जोड दिन्छ, त्यतिकै जोड गरीबहरूको अर्थशास्त्रलाई पनि दिनुपर्छ । यो लेखको उद्देश्य यही हो ।