• सञ्जय मित्र

रामको प्रभाव कति छ भन्ने प्रश्नको उत्तर अब दिइरहनुपरेन । जब अयोध्यामा राममन्दिरमा प्राणप्रतिष्ठा भयो, तब विश्वमा रामको प्रभाव देखियो । रामको प्रभाव मुखरित हुनुमा केवल वर्तमान नै पर्याप्त छैन । वर्तमानले त सार्वजनिक गरेको हो । मानिसको मनमा पहिलेदेखि रहेको भाव मात्र सार्वजनिक हुन्छ । समाज र संस्कृतिमा रहेको पुरातन भाव चाहिं विश्वव्यापी सार्वजनिक भएको हो, मुखरित भएको हो । यस सम्बन्धमा पौराणिक आधारमा ऐतिहासिक विश्लेषण गर्नु उचित हुन्छ ।

एउटा सामान्य सिद्धान्त के देखिन्छ भने जब कुनै बलियो मानिसमाथि कसैले विजय प्राप्त गर्छ, तब विजेताको प्रभाव निकै धेरै वृद्धि हुन पुग्छ । विजेताको पक्षमा र पराजितको विपक्षमा अनेक मिथकहरू प्रचलनमा आउन थाल्छन् । भए नभएका कथाहरू सार्वजनिक हुन थाल्छन् । कतिपय कुराहरू विजेताकहाँ पुग्दा तिनले आफैंले नपत्याउने किसिमका हुन्छन् । रामको सम्बन्धमा यही भएको होला भन्न सकिन्न किनभने अहिले मैले लिन खोजेको आधार चाहिं आचार्य चुतरसेनको पुस्तक ‘वयं रक्षामः’ हो । आधार भएको कुरालाई आधारहीन भनिहाल्न मिल्दैन ।

जतिबेला राम वनवासी थिए । भाइ लक्ष्मण र पत्नीसहित पिताको आज्ञापालन हेतु वनमा थिए । त्यत्ति बेला नै रावणले पत्नी सीताको अपहरण गरेका थिए । सम्भवतः रावणले सीतालाई अपहरण नगरेका भए विश्वमा राक्षस र आर्य दुवैको मिश्रित संस्कृति व्याप्त हुन पुग्थ्यो वा राक्षस संस्कृतिकै प्रधानता रहन्थ्यो किनभने रावण निकै शक्तिशाली थिए । रावण लङ्काका राजा थिए तर केवल लङ्काभरमा मात्र रावणको राज्य सीमित थिएन ।

रामले रावणलाई युद्धमा हराए । त्यस बखत कुनै वीरले युद्धमा पराजय भोगेर फर्किनुलाई मृत्युभन्दा पनि ठूलो मानिन्थ्यो । यस कारण युद्धमा मारिनुलाई वीरता ठानिन्थ्यो । रावण पराजित हुने बुझेर पनि युद्धमैं वीरगति प्राप्त गरेका हुन् । रावणका भाइ विभीषणले युद्धमा रावणलाई साथ नदिएर रामलाई साथ दिएका थिए । रामले पनि युद्धभन्दा पहिले नै विभीषणलाई लङ्काको राजा घोषणा गरिसकेका थिए । जब युद्धमा रावण मारिए, तब रामले आफ्नो वचनबद्धतालाई अक्षरशः पालन गरे र विभीषणलाई लङ्काको राजा बनाए ।

विभीषणले राक्षस–धर्मलाई त्यागे र आर्य–धर्ममा दीक्षित भए । कृतज्ञतास्वरूप जब रामका छोराहरूको जन्म भयो, तब उनले कुशको नाममा शिवदानद्वीपको नाम बदलेर कुशद्वीप राखे, जसलाई अहिले अफ्रिका महाद्वीप भन्ने गरिएको छ । विभीषणले आफ्नो शासनलाई बलियो बनाउन केही उपायहरू पनि गरिराखेका थिए । रावणका अवरोधक जति अर्थात् विरोधी जतिलाई मित्र बनाए र अन्तःपुरमा स्थान दिए । रावणकी पत्नी मन्दोदरीले पनि विभीषणकी महिषी बन्न स्वीकार गरिन् । के देखिन्छ भने विभीषणका उत्तराधिकारी कमजोर साबित हुँदै गए । राक्षसका सम्पूर्ण राज्यको आर्थिक र राजनीतिक ढाँचा खल्बलिइसकेको थियो । राक्षस र दैत्यहरूको प्रमुख केन्द्र तथा राज्य नष्ट भइसकेका थिए । विभीषणप्रति राक्षस र दैत्यहरूको सम्मान थिएन, तिनीहरू कुलद्रोही मान्थे । राम–रावण युद्धमा प्रायः सबै राक्षस योद्धाको मृत्यु भइसकेको थियो । जो बाँचेका थिए, पलायन भए । लंङ्काको कलाकौशल, संस्कृति, समृद्धि सबै पक्ष विलीन भयो । विलाप गर्दै विधवाहरू विभीषणलाई विष–दृष्टिले हेर्थिइन् । लङ्कामा विभीषणका लागि कोही पनि कल्याणकामी (कल्याणको कामना गर्ने) थिएनन् । केही समयपछि विभीषणको पनि मृत्यु भयो । उनीपछि लङ्काको राज्य केवल लङ्काको सानो द्वीप (टापु)सम्म सीमित रहन गयो ।

राम–रावणको यस महायुद्धमा लगभग सम्पूर्ण दैत्य–दानव, नागवंशी राजा र राजप्रतिनिधि रावणको सहायतार्थ आएका थिए । रावण सप्तद्वीपपति थिए, जुन त्यस कालमा लङ्काका चारैतिर फैलिएका थिए । आजको भौगोलिक स्थिति यद्यपि बदलिइसकेको छ, तर पनि ती द्वीपहरू अस्ट्रेलिया, जावा, सुमात्रा, मेडागास्कर, अफ्रिका आदि नामले प्रसिद्ध छन् । यस्तो प्रबल शत्रुलाई मार्नु सजिलो थिएन । तिमिरध्वज शम्बर र वर्चिनको समाप्तिपछि रावणको मृत्यु यस्तो थियो, जसले सम्पूर्ण अनार्य बल तोडिदिएको थियो । यसैले रामको नाम र यश यी द्वीपहरूमा फैलियो र भूमण्डलमैं राम विख्यात भए ।

सर्वसाधारणले महिदेव र जगदीश्वरलाई जस्तै रावणको स्थानमा रामको पूजा गर्न थाले । (वास्तवमा रामको पूजाको आरम्भ यसैगरी भएको हो र राममाथि रामको भूमिभन्दा निकै टाढा र अझ टाढासम्म पूजा गर्ने, विश्वास गर्ने, आस्था राख्ने युगको सूत्रपात भएको हो ।) चम्पा, कम्बोडिया, थाइल्यान्ड, वर्मामा पनि राम–प्रताप व्यापक भयो । युरोपका जातिहरूले कुनै न कुनै राम–प्रभावित प्राचीन जातिबाटै सम्बन्धित छन् । अतः युरोपका मुख्य देशहरू जस्तै इङ्गल्यान्ड, स्पेन, स्वीडेन, नर्वे, स्क्यान्डिनेभिया, ग्रीस र इटाली पनि राम–प्रभावबाट मुक्त रहन सकेनन् । यसरी आजका सबै देशमा यी आर्यनेता मर्यादा पुरुषोत्तम रामको कुनै न कुनै रूपमा सांस्कृतिक मिश्रण छ ।

माथिको सन्दर्भ आचार्य चतुरसेनद्वारा रचित ‘वयं रक्षामः’ कृतिबाट अनुवाद गरिएको हो । यसबाट यो पनि स्पष्ट हुन आउँछ कि रामको प्रभाव विश्वव्यापी हुनुमा तत्कालीन धार्मिक आस्थाका साथै राजनीतिक विजय पनि हो । रामले रावणमाथि विजय प्राप्त गरेका थिए, त्यस बेलाको चलन अनुसार राजा विजित भएपछि राज्य स्वतः विजित मानिन्थ्यो । अतः राम नै सप्तद्वीपका स्वामी बन्न योग्य थिए तर रामले लङ्कामाथि विजय प्राप्त गर्ने उद्देश्यले रावणमाथि विजय प्राप्त गरेका थिएनन् । यसै कारण रावणको विशाल साम्राज्यमाथि रामले स्वामित्वबारे विचार नगरेका हुन् । महान् राजा, मर्यादा पुरुषोत्तम रामको महान् त्यागको कारण पनि सबैले तिनलाई पूजाको लायक मानेका हुन् र तिनको आधिपत्य स्वीकार गरेका हुन् ।

हिन्दू लोकजीवनमा रामको व्यापक प्रभाव रहेको छ । मानिसले जुनसुकै कामको शुभारम्भ गर्दा रामलाई सम्झन्छन् । रामलाई नसम्झने कुनै अवसर हुँदैन । जन्मदेखि मृत्युसम्म र सबै किसिमको शुभाशुभ कार्यमा रामलाई सम्झने गर्छन् । बिहान सबेरै उठ्दा पनि राम र राति सुत्दा पनि राम उच्चारण गर्ने गर्छन् । लोकजीवनमा रामको व्यापकता अनन्त छ । यसरी अनन्त व्यापकता आउनुमा केही समय मात्र लागेको होइन, अलिकति बढी नै लागेको हो भन्ने कुरा मननीय छ । साँच्चीकै हजारौं वर्ष वा कैयौं शताब्दीदेखि रामप्रतिको आस्था, विश्वास तथा श्रद्धा निरन्तर सम्मोहनको रूपमा रहिरहेका छन् । यो स्वाभाविकताको निरन्तरता हो । मानिसको अभ्यन्तरमा, रगरगमा, भावनाको अत्यन्त गहिराइमा रामको व्यापकता रहेको छ ।

भनिन्छ, रामलाई विभिन्न देशमा विभिन्न किसिमले मान्ने गरिएको छ । रामलाई एउटा प्रभाव नै मानिन्छ । अहिले जहाँ हिन्दूहरू छैनन्, त्यहाँ रामको बारेमा धेरै लोककथा, लोकसंस्कृतिमा प्रभाव तथा निकै मिथकहरू प्रचलनमा रहेका सुनिन्छन् । कतिपय अवस्थामा जीवनशैलीमा पनि प्रभाव परेको मानिएको छ । कतैकतै यो पनि मान्ने गरिएको सुनिन्छ कि कतिपयले यो स्वीकार गरेका छन् कि आफ्ना पुर्खा हिन्दू थिए । कतिपय मिडियाहरूले यो पनि दाबी गर्छन् कि तिनीहरू यस कुरामा गर्व पनि गर्छन् रे ।

हजारौं वर्ष वा कैयौं शताब्दीदेखि रामको प्रभाव निरन्तररूपमा समाजमा रहेको र अबको समयमा सबै धार्मिक, सामाजिक आस्थाका विषयवस्तुको लेखाङ्कन, अध्ययन, विश्लेषण तथा पठनपाठन भइरहेको सन्दर्भमा रामको व्यापक प्रभाव अझ विस्तार हुने देखिन्छ भविष्यमा । रामको प्रभाव क्षेत्र अहिले जति रहेको छ, यसभन्दा अझ विस्तार अबको समयमा हुने निश्चित छ । कतिपयले यो विश्लेषण गरेका छन् २२ जनवरी २०२४ को दिन हिन्दू संस्कृतिको लागि अझ रामको प्रभाव विस्तारको लागि माइलस्टोन दिवस साबित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here