• सञ्जय मित्र
उज्जैनबाट गत साउन १७, २०८० (२ अगस्त २०२३) का दिन घरतिरको लागि बिहान फिर्ती यात्रा आरम्भ गर्दा कुन मार्ग अपनाउने भन्ने पूर्णतया निश्चित थिएन । क्याम्पस प्रमुख प्रेमलाल साह र अनिल निधि सरको सम्भवतः सल्लाह भइसकेको थियो कि चित्रकुटमा गएर राति बास बस्नुपर्छ । बाटोमा अत्यधिक पानी प¥यो । राति चित्रकुटमा बास बसेर भोलिपल्ट बिहान त्यहाँका मुख्य दर्शनीय स्थलहरू घुमेर अगाडि बढ्यौं । अझै पनि एउटा दोधार थियो– प्रयागराजस्थित सङ्गममा स्नान गर्ने कि सोझै अयोध्या जाने । अयोध्या जानुपर्छ भन्नेमा करीबकरीब एक मत थियो सबैको । कतिपयको तर्क थियो– बनारस पुगेर अयोध्या पुग्नुपर्छ । सङ्गम पुगेर बनारस हुँदै पनि अयोध्या पुग्न सकिन्थ्यो तर कहिलेकाहीं बाटोले जसरी डो¥याउँछ, त्यसरी नै यात्रा गर्दाको रमाइलो फरक हुन्छ । हामी सबैजना सङ्गम, बनारस र अयोध्या कैयौंपटक पुगिसकेका थियौं तर सबैको एउटा स्थायी आकर्षण भने अयोध्याप्रति नै थियो । अयोध्या पुग्नुपर्छ भन्ने सबैलाई लागेको थियो । नभन्दै त्यसै भयो । चित्रकुटबाट निस्केको हामी अयोध्या आइपुग्यौं दिउँसो ।
चित्रकुटदेखि गाडीमा सबैभन्दा बढी चर्चा अयोध्याबारे नै भइरह्यो । राममन्दिर निर्माण भइरहेको छ । पहिले हामीले हेर्दा मन्दिर निर्माणको चर्चा केवल स्थानीयमा थियो । अदालतमा मुद्दा विचाराधीन थियो । मानिसमा एक दिन राममन्दिर निर्माण हुने आशा थियो तर आगन्तुकमा कहिले हो कहिले भन्ने दृढता थिएन । यसपटक त राममन्दिर निर्माण तीव्र गतिमा भइरहेको छ र केही महीनामा मन्दिरको निर्माण पूरा हुने पनि बताइएको छ । भारतमा संसद्को चुनावभन्दा पहिले नै राममन्दिरको उद्घाटन हुने वा मन्दिरमा रामको प्राण प्रतिष्ठा हुने अनुमान सञ्चारमाध्यमहरूले लगाइरहेका थिए । हामी पनि यस्ता समाचारहरूबाट प्रभावित थियौं । समाचारहरू सुनिरहेका हुन्थ्यौं । अझ मेरो एउटा बानी यस्तो पनि छ कि कहीं पुग्दा मौका पाउनासाथ त्यहाँको स्थानीय प्रकाशनमा रहने अखबार किनिहाल्छु । दार्जिलिङ पुग्दा नेपाली अखबार किन्छु भने अन्यत्र हुँदा हिन्दी भाषामा प्रकाशित अखबार । यस्ता अखबारहरूले स्थानीय चासो र प्राथमिकताबारे जानकारी पाउने गरेको छु । साथै सम्पादकीय पृष्ठका लेख रचनाको स्तर र प्रवृत्तिबारे स्पष्ट हुन सजिलो हुन्छ । तर यसपटक सर्वाधिक अभिरुचिको विषय भनेको अयोध्या र राममन्दिर निर्माण नै बनेको छ ।
गाडीमा चर्चा चलिरहन्छ कि यदि सबैले राममन्दिर निर्माणमा योगदान दिन पाउने हो भने कति मानिस श्रमदानका लागि पुग्थे होलान् ? हरेक दिन हजारFैं मानिस आउँथे होलान् ? श्रद्धा र भक्तिले रामप्रति आस्था राख्नेहरू कोहीकोही त कैयौं दिन पनि श्रमदान गर्ने थिए र निकै ठूला श्रद्धावान् मानिसहरूले पनि आफूलाई केहीबेर राममन्दिरको कुनै काममा लगाउन पाउँदा धन्य भएको ठान्ने थिए । हेड सर प्रभु पटेल भन्नुहुन्छ– उस्तै परे मैले पनि राममन्दिर निर्माणमा श्रमदान गर्ने थिएँ । तर सुनिएको छ कि जस कसैले पनि त्यहाँ श्रमदान गर्न पाउँदैनन् । यो चानचुने काम होइन, निकै प्राविधिक काम भएकोले राममन्दिर निर्माणको सीप भएकाहरूले आफूभन्दा ठूला प्राविधिकको निगरानीमा मात्र श्रमिकहरूले काम गरिरहेका छन् । भारतका विभिन्न प्रान्तबाट श्रमिकहरू आएका छन् । ज्याला लिएरै काम गरिरहेका भएपनि ती श्रमिकहरूले सदाको लागि र तिनका सन्तान दर सन्तानले भनिरहन पाउने भए, राममन्दिर निर्माणमा भूमिका छ, श्रम छ । अब हामीले भनिरहन पाउने भयौं, कम्तीमा राममन्दिर निर्माण भएको हामीले देखेका छौं, आफ्नै आँखाले । यसरी भन्न पाउनु पनि गर्वको विषय हो । हामीमध्ये अधिकांशको मनसाय रह्यो, मौका पाउँदा केहीबेर श्रमदान गर्नुपर्छ र गर्छौं पनि । तर यस प्रकारको व्यवस्था रहेकोबारे जानकारीमा कसैलाई पनि थिएन ।
जब अयोध्या पुग्यौं, सबैभन्दा पहिलो चाहना उम्रियो– दर्शनको । यो लालसा यति तीव्र थियो कि पहिले हनुमानगढीको दर्शन गर्नुपर्नेमा सबैले पहिले रामकै दर्शन गर्यौं । बाटोले अलिकति पायक पनि यसैगरी पारेको थियो । राममन्दिरको निकटमैं गाडी रोकिने ठाउँ मिल्यो र जब नजीक राममन्दिर छ भने स्वाभाविक बढी आकर्षण हुने नै भयो । हामीले त्यही ग-यौं । पहिलेभन्दा निकै व्यवस्थित दर्शनको प्रक्रिया भइसकेको रहेछ । मुख्य प्रदेशद्वारभन्दा पहिले नै एउटा घर बनाइएको छ, दाहिनेछेउमा जहाँ साँचो, मोबाइल, घडी, बेल्टजस्ता सामग्री थन्क्याइँदो रहेछ । लकर सिस्टम पनि छ । सबै निश्शुल्क । मैले पनि घडी राख्नुपर्नेछ । घडी राख्न जाँदा एउटा १० रुपैयाँको नोट भेटाएँ । त्यसलाई टिप्दा यताउता हेर्छु, हातमा लिएर पनि यताउति हेरिरहेको छु, कतै कसैले दाबी गरिहाल्छ कि भनेर । अन्ततः दानपेटिकामा हालिदिन्छु । सदुपयोग हुन्छ भन्ने आकाङ्क्षाले । घडी राखेर मन्दिरको दर्शन प्रक्रियामा सामेल हुन्छु । साथीहरू प्रक्रियामा लागेका छन् । विभिन्न किसिमले चेकजाँच हुन्छ । चेकजाँचको प्रक्रिया पहिलेदेखि नै चलिरहेको छ । चेकजाँचपछि भित्र प्रवेश गर्छौं । फलामे छडले घेरा गरिएको बाटो छ । ठाउँठाउँमा फेरि पनि चेकजाँच भइरहन्छ । चेकजाँचका विभिन्न प्रक्रिया र चरणहरू पार गर्दै गएर पहिलेजस्तै दर्शन गर्न पुग्छौं । दर्शन गर्ने ठाउँमा कुनै हतार नगरे पनि हुने रहेछ । अलिक टाढाबाटै दर्शनको व्यवस्था छ । सुरक्षा व्यवस्था अत्यन्त कडा । पुनः त्यहीं उभिएर वा हिंड्दाहिंड्दै दर्शन गरिरहेका श्रद्धालुहरू । अनन्त श्रद्धा र आस्थाले दर्शनार्थीहरू जयकार गर्र्दै तथा मौन मन्त्र जाप गरिरहेका छन्, सुरक्षाकर्मीको निगरानीमा ।
अगाडि बढ्छौं । धेरैजना यताउति भइसकेका छौं । प्रायः सबैजना मभन्दा अगाडि गइसकेका छन् । त्यहींबाट देखिन्छ निर्माण भइरहेको भव्य राममन्दिर । धमाधम काम भइरहेको छ । हेर्दै अगाडि बढ्दै जाँदा एक ठाउँमा चन्दा दिन सकिने ठाउँ आउँछ । यो सबै सुरक्षा घेराभित्रै र दर्शनको लागि बनाइएको फलामे बाटोमैं छ । एउटा व्यवस्थित अस्थायी घरमा चन्दा वा दान सङ्कलन काउन्टर छ । यसअघि निश्शुल्क प्रसाद लिइसकेका छौं । हाम्रो परम्परागत मान्यता यो पनि रहेको छ कि सकेसम्म खाली हात दर्शन गर्नुहुन्न । यहाँ दर्शनमा कुनै शुल्क तोकिएको छैन । फूल वा अक्षता पनि अर्पण गर्न सकिने व्यवस्था छैन । निकै परबाट दर्शन हुने रहेछ । अनि अलिकति भएपनि दान त गर्नुपर्छ । मनमा कुन भाव उम्रिएको छ भने अहिले गरिएको दान मन्दिर निर्माणमा लगानी हुन्छ । मन्दिर निर्माणको समयमा गरिएको लगानीले अलग सार्थकता दिन्छ । यसो हेर्छु, माथि खल्तीमा २२० रुपैयाँ छ । २२० रुपैयाँ नै दिन्छु । नाम सोध्छन्– खाली राखिदिनू भन्छु । गोप्य नै दान होओस् भन्ने चाहना छ । उनी खाली राख्न राजी हुन्छन् । मोबाइल नम्बर सोध्छन्, आफूसित मोबाइल नम्बर नभएको जानकारी गराउँछु । अलिकति फरक विस्मयबोध हुन्छ, ती कर्मचारीमा । मलाई लाग्छ तिनी प्रहरीतिरकै कर्मचारी हुनुपर्छ, नभए मन्दिर ट्रस्टको । अनि ठेगाना– नेपाल । तिनको सोधाइपछि भन्छु । उनी भन्छन्– नेपालीसित चन्दा लिने आदेश छैन । नेपालीसित हामी चन्दा लिन सक्दैनौं ।
अब के गर्ने ? मलाई पैसा फिर्ता लिनुछैन । उनी सोध्छन्– पैसा फिर्ता दिउँ ? म भन्छु– नाइँ । अनि नाम, मोबाइल नम्बर र ठेगाना सबै खाली राखेर केवल रकम गुमनामबाट आएको भनी इन्ट्री गरिदिऊँ भनी सोध्छन् । हुन्छ, भन्छु । उनी ‘ल, अब इन्टरनेटमा सार्वजनिक भयो’ भन्छन् ।
यसरी राममन्दिर निर्माणको नाममा अयोध्यामैं श्रीराम मन्दिर कम्पाउन्डमा नै सञ्चालनमा रहेको काउन्टरमा अलिकति योगदान दिएर अत्यन्त धेरै आत्मसन्तोष प्राप्त गरें । सन्तोषको पनि सीमा हुन्छ, बाहिर निस्कँदा यसले अझ फरक सन्तुष्टि दिइरह्यो । मसँग हाम्रो समूहका कोही एकजना थिए, जसले हाम्रो समूहमा यस कुरालाई सुनाइदिए । उनले विश्लेषण गरे– हामी रामको ससुरालीका भएकाले त्यसरी लिन नमानेका हुन् कि ?