नेपालमा आयुर्वेदिक औषधि उद्योगहरू अहिले सरकारको अदूरदर्शिताको शिकार भएर एकपछि अर्काे बन्द हुँदैछन् । नेपालमा १४० वटा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगमध्ये अहिले ४० वटा मात्र सञ्चालनमा छन् भने बाँकी सयवटा उद्योग सरकारको अदूरदर्शिताको शिकार भएर बन्द भएका छन् । उद्योग बन्द हुनुको अर्थ हजारौं रोजगार गुम्नु हो । अहिले स्वदेशमा रोजगारको अभाव देखेर वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । सरकारले भने स्वदेशमा रोजगार सिर्जना गर्ने र वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या घटाउने दाबी गर्दै आएको छ । तर सरकारको दाबी फगत सुन्दा राम्रो लाग्नेबाहेक व्यवहारमा उसले आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने गरी कुनै गृहकार्य गरेको छैन । दशकौंदेखि चर्चित सिंहदरबार वैद्यखाना अहिले बन्द अवस्थामा छ । त्यहाँ अहिले वैद्यहरूको अभाव छ र सरकारले वैद्यहरू नियुक्त गर्न नसक्दा औषधि उत्पादन हुन सकेको छैन । सिंहदरबारमा रहेको वैद्यखानामा अहिले पनि औषधिको माग बढ्दो छ तर उत्पादन भने ठप्प भएकोले त्यहाँबाट औषधि खरीद गर्ने ग्राहकहरू अन्य कम्पनीका औषधि खरीद गर्न बाध्य छन् । उनीहरूले सिंहदरबार वैद्यखानाबाट पाउने औषधिहरू बाहिर महँगोमा खरीद गर्नुपरेको छ । वैद्यखानामा वैद्यको अभाव भएर औषधि उत्पादन बन्द भएको हो ।

यो सामान्य कुरा सरकारलाई थाहा छैन भनेर सोच्नु पनि मूर्खता हुन्छ । वैद्यको पूर्ति गरेर औषधि उत्पादन गरेको खण्डमा वैद्यखाना पुनः पुरानो लयमा फर्कने त्यहाँका कर्मचारीहरू बताउँछन् । तर किन हो कुन्नी रोजगार सिर्जना गर्ने दाबी गर्दै हिंड्ने सरकार रोजगार गुमेको टुलुटुलु हेरिबसेको छ । सिंहदरबार वैद्यखानाको अवस्था यो छ भने देशमा भएका आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगहरूको अवस्थाप्रति पनि सरकार उदासीन छ । नेपालमा नै आयुर्वेदिक औषधि उत्पादनको लागि सबै खाले कच्चा पदार्थ विद्यमान छन् । यो अनुसन्धानपछि नै १४० वटा आयुर्वेदिक औषधि उद्योग खुलेका हुन् । तर सरकारले भने आफ्नो देशमा उत्पादित केही आयुर्वेदिक कच्चा पदार्थ बिक्रीमा रोक लगाएको छ । देशमा भएको आयुर्वेदिक कच्चा पदार्थमा रोक लगाएको परिणाम अहिले नेपाली आयुर्वेदिक औषधि उद्योगहरूले ६० प्रतिशत कच्चा पदार्थ भारतलगायत अन्य देशहरूबाट आयात गर्नुपरिरहेको छ । देशमा भएका कच्चा पदार्थ बाहिरबाट आयात गर्दा स्वदेशी पूँजी बाहिरिएको कुरालाई सरकारले ध्यान दिन सकेको छैन भने ध्यान भएपनि रोक्ने प्रयास गरेको छैन । नेपालमा उपलब्ध नभएका कच्चा पदार्थहरू बाहिरी देशबाट आयात गर्नु ठीक होला तर स्वदेशमा रहेका कच्चा पदार्थहरू पनि बाहिरबाट आयात गर्नुपर्दा हाम्रो सरकार कस्तो भूमिकामा छ बुझिसक्नु छैन ।

आयुर्वेदिक कच्चा पदार्थहरूको सरकारले वैधानिकरूपमा निकासी पनि गरेको छैन । हाम्रै कच्चा पदार्थहरू अहिले चोरी माध्यमबाट भारत निकासी हुने र हाम्रा उद्योगहरूले त्यहाँबाट खरीद गरेर उद्योग चलाउनुपर्ने गजबको काम भइरहेको छ । अहिले नेपाली उद्योगहरू आर्थिक मन्दीको शिकार भएका छन् । सरकारले स्वदेशी उद्योगहरूलाई कसरी बचाउन सकिन्छ भनेर सोच्नुपर्ने हो । आफ्नै देशमा रहेका कच्चा पदार्थहरूबाट बाँच्न सक्ने र उत्पादित औषधिहरू निर्यात गरेर विदेशी रकम भिœयाउन सकिने अवसरलाई सरकारले किन पहिचान गर्न सकेको छैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here