काठमाडौं, २४ पुस/रासस
चीसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ ।

विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चीसोबाट बच्न आवश्यक उपाय गर्नुका साथै सतर्क रहन अनुरोध गरेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आउँदो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपराह्नसम्म क्रमिक सुधार हुने जानकारी दिइएको छ । यही पुस २५ गते बुधवार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । यस्तै त्यस दिन राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here