काठमाडौं, २२ पुस/रासस
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धनले सिट बाँडफाँट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले संयुक्तरूपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली काङ्ग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार नेपाली काङ्ग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले ३ र जनता समाजवादी पार्टी नेपालले १ सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिट भने मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उक्त निर्णय लगत्तै उम्मेदवार टुङ्गो लगाउन बालुवाटारमा माओवादी केन्द्रको बैठक शुरू भएको छ । साथै नेपाली काङ्ग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा शुरू भएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवार मनोनयन दर्ता कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।