• सञ्जय मित्र
आजभोलि सबैतिर राममय भएको छ । हाम्रो परिवेशमा रामको सर्वत्र चर्चा भइरहेको छ । अबको केही दिनमा भारतको अयोध्यामा राममन्दिरमा प्राणप्रतिष्ठा हुन गइरहेको छ । यसको चर्चा आजभोलि सामाजिक सञ्जालदेखि मिडियासम्म र घरघरमा हुन थालेको छ ।
आजभोलि नमस्कार र प्रणामको ठाउँमा कतिपय मानिस एक ठाउँमा भेट हुँदा वा फोन मोबाइलमा कुराकानीको सुश्रआत गर्नुभन्दा पहिले ‘जय सियाराम’ तथा ‘जय श्रीराम’ भन्न थालेका छन् । कतिपयले ‘जय सियाराम’ तथा ‘जय श्रीराम’को बीचमा भिन्नता रहेको बताउन थालेका छन् । ‘जय सियाराम’ तथा ‘जय श्रीराम’मध्ये जुनलाई जसरी भने पनि वा जसरी पुकारे पनि कुरै एउटा लिए वा दुईटै लिए पनि कुरो एउटै हो भन्न थालेका छन् ।
बहस हुनु स्वाभाविक हो । वायदे वायदे जायते तŒवबोध भनिंदो रहेछ । अध्यात्मवादीहरू के भन्छन् भने पवित्र हृदय राखेर भगवान्को नामलाई जसरी उच्चारण गरे पनि हुन्छ । उसै त हरिको हजार नाम छन् भनिन्छ । हरिको हजार नामलाई अनेक किसिमले मानिसले उपयोग गर्छन् । ईश्वरलाई सहृदयले जसरी अनुकरण गरे पनि हुन्छ । यसैले ‘जय सियाराम’ तथा ‘जय श्रीराम’मा खासै कुनै भिन्नता छैन । यस प्रकारका बहसले दुई प्रकारका सन्देश दिने गरेका छन् । पहिलो, निस्स्वार्थ प्रेम र दोस्रो, अनावश्यक बहस ।
आजभोलि जय श्रीराम भन्ने कि जय सियाराम भन्नेमा फरक मान्न थालेका छन् । जय श्रीराम र जय सियाराममा भिन्नता मान्न थालेका छन् । यस्ता तर्क दिन थालेका छन् :
जय श्रीराम भन्दा जय सियाराममा बढी अपनत्व महसूस हुने तर्क दिन थालेका छन् । भन्न थालेका छन्– सीताविना राम अधूरो हुन्छ । हाम्रो संस्कृतिमा रामसँगै सीताको नाम आउँछ । अझ रामभन्दा पहिले सीताको नाम जोडिन्छ । यसले गर्दा जय श्रीराम भन्नुभन्दा जय सियाराम वा जय सीताराम भन्नु ज्यादा राम्रो हो भनिन्छ । यो सनातनदेखि चल्दै आएको छ । सनातनदेखि चल्दै आएको परम्परामा सियाराम भन्ने चलन रहेको छ । संस्कृतिको मूलमा सीतासँगै राम र रामसँगै सीताको आगमन हरेक शब्दमा हुने गरेको छ । हरेक शुभ काममा रामसँगै सीताको नाम आएकै हुन्छ वा रामसँगै सीताको नाम पनि हुन्छ नै ।
अर्को तर्क यसरी पनि आएको छ । जय श्रीराम युवामा वीरताबोधको अनुभूति छ रे । मुख्यगरी नारामा जय श्रीराम बढी उपयुक्त हुन्छ र सीतारामले नाराभन्दा अभ्यन्तरमा छुन्छ । रामसित अझ बढी नजीक जय सीताराम वा जय सियारामले गराउने अनुभूति हुने रहेछ ।
अझ यसरी पनि भन्न थालिएको पाइन्छ । रामको ससुराली जनकपुर हो । जनकपुर नेपालमा छ । यस नाताले नेपाललाई कतिपयले नेपाललाई नै रामको ससुराली मान्ने गरेका छन् । रामको ससुराली तथा सीताको माइतीका मानिसले सीताको नाम झन् रामसित जोडिनु सर्वथा उचित हो ।
जय श्रीराम वीरताको वन्दन मान्नु पनि स्वाभाविक हो । जय सियाराम भन्नु हृदयदेखिको समर्पण मान्नु पनि हो । वीरताको द्योतक मान्नेहरूले पनि रामसँगै हनुमानको पनि अनुकरण गर्छन् । यसरी पनि मान्न थालिएको छ कि जब रामायण धारावाहिकलाई खूब प्रशंसा गरिएको थियो र धेरैभन्दा धेरै मानिसले मन पराएका थिए । आज पनि त्यस धारावाहिक र तिनका पात्रप्रति मानिसमा ठूलो सम्मान रहेको छ । त्यस धारावाहिकमा हनुमानले धेरैपटक जय श्रीरामको उच्चारण गरेका छन् । जय श्रीराम उच्चारण गर्दा हनुमानमा ऊर्जा आउने गरेको तथा काम सफल हुने गरेको बताइएको छ ।
आजभोलि हनुमानको पूजा तथा प्रार्थना गर्ने प्रचलनको विस्तार भएको छ । हनुमानलाई रामको परमभक्त मानिएको छ । जहाँ हनुमानको चर्चा हुन्छ, त्यहाँ रामको चर्चा हुनु स्वाभाविक हो ।
पुराना घर तथा अधिकांश मन्दिरमा सियाराम वा सीताराम नै लेखिएका पाइन्छन् । मधेसका अधिकांश गाउँँमा रामजानकी मन्दिर छन् । जहाँ हनुमानको मन्दिर छ, त्यहाँ पनि राम र सीताको पूजा हुन्छ । हनुमानको पूजामा पनि राम र सीताको पूजा हुन्छ नै । हनुमानका उपासकहरूले राम र सीतालाई बेवास्ता गर्नै सक्दैनन् । पुराणमा यो दुर्लभ दृष्टान्त छ कि हनुमानले आफ्नो छाती चिरेर देखाउँदा राम र सीताकै चित्र अङ्कित थियो । सीताको उपस्थिति रामसित सर्वत्र पाइन्छ भने जय सियाराम वा जय सीताराम भन्नु नै बढी मनासिब हुन्छ । यसको अर्थ यो होइन कि जय श्रीराम भन्नै हुँदैन भन्ने तर्क रहेको छ ।
भनिन्छ, अध्यात्म र धर्म फरक हुन् । कतिपयले प्रश्न गर्ने गरेका छन्– तुलसीका राम कि कबिरका राम । मानिसको आफ्नै धारणा हुन्छ तर कबिरका राम र तुलसीका राममा भिन्नता भएको पनि तर्क गरिन्छ । कबिरले मूर्त रामको चर्चा गर्दैनन् खासै, अमूर्त रामको चर्चा गर्छन् । राम सर्वव्यापी परम परमेश्वर भएको कुरामा कबिरलाई पनि विश्वास छ तर दशरथ पुत्र रामलाई भन्दा त्यस रामको अभ्यर्चना गर्नु श्रेयस्कर ठान्छन्, जुन परमब्रह्म हो । जसको भौतिक स्वरूप छैन तर सर्वत्र अस्तित्व छ । अनि तुलसीको राम भन्नाले गोस्वामी तुलसीदासले लेखेको रामचरित मानस वा रामायणको राम बुझिन्छ, जसका पिता दशरथ र माता कौशल्या थिए । जसका भाइ थिए भरत, लक्ष्मण र शत्रुघ्न । यहींनेर यो पनि तर्क आउन सक्छ कि जय श्रीरामभन्दा ती अलौकिक रामको जयकार मात्र हुने अर्थ पनि लाग्न सक्छ । यसर्थ दशरथी रामको लागि त सीतालाई सँगसँगै जोड्नु सर्वथा उचित हुन्छ ।
अहिले माहोल बनेको छ, राममयको । रामको सर्वत्र चर्चा भइरहँदा अयोध्यामा जन्मेका भौतिक रामकै प्रसङ्ग चलिरहेको छ । शताब्दीयौं शताब्दीपछि रामको प्राणप्रतिष्ठा भव्य मन्दिरमा हुन गइरहेको छ । यसको प्रतीक्षा पनि सर्वत्र रहेको छ । यसैले पनि राममय बनेको छ, समाज । र अन्त्यमा जसले जसरी पनि जय श्रीराम वा जय सियाराम उच्चारण गरे पनि अन्ततः उही भावलाई प्रस्फुटन गरेको कुरालाई हृदयदेखि स्वीकार गर्नुपर्छ ।