नयाँ दिल्ली १७ पुस/एएनआई
पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासाङ्गिक बताएको छ। भारतीय विदेशमन्त्री जयशङ्करले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन्।
एएनआईसँग भएको अन्तर्वार्तामा विदेशमन्त्री जयशङ्करले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै त्यसका लागि आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन्।
पाकिस्तानसँग, मोदी सरकारको दृष्टिकोण कस्तो हुनुपर्ने उल्लेख गर्दै उनले सीमापार आतङ्कवाद सहन नसकिने बताएका छन्।
पाकिस्तानले दशकौं पहिलेदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरूले त्यस्ता विषय अप्रासाङ्गिक बनाएको बताएका छन्। पाकिस्तान आफ्नो नजीकको छिमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा भारतले व्यवहार नगर्ने बताएका छन्।
भारतले, गत वर्ष अगस्तमा पाकिस्तानसँग सामान्यीकृत सम्बन्धका लागि पाकिस्तानले आतङ्कवाद र शत्रुतामुक्त वातावरण बनाउनु आवश्यक रहेको बताएको थियो।
मन्त्री जयशङ्करले एएनआइसँग भएको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनोटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवाश्यक रहेको बताएका छन्।
आर्थिक सङ्कटबाट गुज्रेको श्रीलङ्कालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलङ्कासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन्।
पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन्।
बितेका पछिल्ला दिनहरूमा पाकिस्तान घट्दो विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यनलगायत आर्थिक कठिनाइसँग जुझिरहेको छ। रासस