चिरञ्जीवी सापकोटा, ठोरी, १६ पुस/
इस्वी संवत् २०२४ अर्थात् अङ्ग्रेजी नयाँ वर्ष मनाउन यसपटक पनि पर्सा जिल्लाको रमणीयस्थल ठोरी गाउँपालिकाका विभिन्न स्थानहरू आन्तरिक तथा भारतीय पर्यटकहरूले भरिभराउ भए ।
ठोरी गापाका राईधारा, गणेशमान पार्क, ठुटेखोला, चिताखोला, रानीवन, पञ्चेश्वर परिसर, सेतो भीर परिसर, रातो डाँडा, सीतागुफा परिसरमा आन्तरिक तथा भारतीय पर्यटकहरू ठूलो सङ्ख्यामा आएर पिकनिक मनाए । बारा, पर्सा, रौतहट र भारतका नरकटियागंज, बेतिया, मोतिहारी, मुजफ्फरपुर, पटनालगायतबाट परिवारसहित नयाँ वर्षमा पिकनिक मनाउन ठोरी आएका स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए ।
ठोरीको हावापानी, वातावरण, खोलानाला, पहाड, जङ्गल, भीर, पाखालगायतका मनोरम दृश्यहरू हेर्नका लागि आफूहरू सपरिवार ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेको भारत बेतियाका राजु साहले बताए । सोमवार बिहानैदेखि पिकनिक मनाउन ठोरी आउनेहरूको क्रम बढेको र उनीहरूकोे व्यवस्थापन निर्मल–ठोरी उपभोक्ता समितिले स्थानीयहरूको समन्वयमा गरेको समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।
अङ्ग्रेजी नयाँ वर्षमा पिकनिक मनाउन ठोरी आउनेहरू शान्ति सुरक्षा चुस्तदुरुस्त बनाइ टोली विभाजन गरी खटाइएको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनले सशस्त्र प्रहरी, ट्राफिक प्रहरीसमेतको समन्वयमा शान्ति सुरक्षा र आवतजावतमा व्यवस्थापन गर्न सहज बनाइएको बताए ।
ओमप्रकाश चौधरी, सेढवा/
अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पर्साका विभिन्न पर्यटकीय स्थलमा सोमवार स्वदेशी र भारतीय नागरिक वनभोज खान ठूलो सङ्ख्यामा उपस्थित भए ।
ठोरी गाउँपालिकाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूमा नेपाली तथा भारतीय नागरिकहरूको भीड आज बिहानदेखि साँझसम्म रह्यो ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जङ्गल, सबडिभिजन वन कार्यालय वसन्तपुरको वन क्षेत्र, जीराभवानी गापा अन्तर्गत सुगीभार मन्दिर परिसरमा नयाँ वर्षको दिन वनभोज खानेको भीड लागेको थियो । यसैगरी, पटेर्वासुगौलीमा पर्ने गादीमाई मन्दिर, रङ्गपुर, पर्सागढी नगरपालिकाको कोइलाभारमाई र आमोदेवीमाई मन्दिरमा वनभोज गर्नेहरूको दरिलो उपस्थिति थियो ।
नयाँ वर्ष मनाउन हरेक उमेर समूहका मानिसहरू समूह बनाइ तय गरिएका स्थानमा वनभोज खान बिहानैदेखि झुम्मिएका थिए । ग्रामीण भेगको हुलाकी सडकमा आवागमन गर्ने यात्रीको सङ्ख्यामा सोमवार यसै कारण पनि निकै भीड रह्यो । मानिसहरू ट्याक्टर, कार, जीप, मोटरसाइकल तथा साइकलमा सवार भई वनभोज खान गएका देखिन्थे ।
अङ्ग्रेजी नयाँ वर्ष भएकोले नेपालमा विद्यालयहरू खुला रहेकाले विद्यार्थीहरूको सङ्ख्या भने निकै कम रह्यो । ७५ प्रतिशत विद्यार्थीहरू समूह बनाएर वनभोज गर्न गएका एकजना शिक्षकले बताए । विद्यार्थीहरू नभएकाले सोमवार ग्रामीण क्षेत्रका विद्यालयहरू टिफिनपछि बिदा भए । ११ वर्षमुनिका नानीबाबुहरूले जङ्गल क्ष्Fेत्रबाहिर रहेका बगैंचा, मन्दिर तथा खेतमा पिकनिक गरेर नयाँ वर्ष मनाए ।
भारतमा हिजो आइतवार साप्ताहिक बिदा र आज सोमवार नयाँ वर्षको सार्वजनिक बिदा भएकोले हिजैदेखि पिकनिक मनाउन भारतीय नागरिकहरू नेपाल प्रवेश गरेका थिए ।