- सञ्जय मित्र
अखबारलाई हामीकहाँ सजिलो गरी पत्रिका वा पत्रपत्रिका भन्ने गरिन्छ । अखबार पनि चलनचल्तीमा रहेकै शब्द हो । यो हरेक दिन छापिन्छ र पाठकले किनेर पढ्छ वा पुस्तकालय, वाचनालय आदिमा पुगेर त्यहाँको नियम अनुसार पढ्छ । अधिकांश पुस्तकालय तथा वाचनालयमा पत्रपत्रिका सबैका लागि निश्शुल्क हुन्छ, त्यही बसेर पढ्न ।
भारतका विभिन्न शहरमा पुग्दा त्यहाँ मानिसलाई अखबार पढ्ने बानी परेको देखिन्छ । नेपालमा पनि शहरी क्षेत्रमा अखबार पढ्ने बानी बाक्लै रहेको छ । यसैले शहरी क्षेत्रमा अखबारहरू प्रकाशन भइरहेका हुन्छन् । हरेकजसो शहरमा एकभन्दा बढी अखबार प्रकाशित भइरहन्छन् । सञ्चारका अन्य माध्यमहरू रेडियो, टेलिभिजन, अनलाइन आदि पनि शहरमैं बढी सङ्ख्यामा हुन्छन् । शहरमा समाचारको उत्पादन मात्र होइन, उपभोग पनि बढी हुने गरेको छ । यद्यपि भारतका शहरहरूभन्दा नेपालका शहरमा अखबारको पठन कम रहेको छ । अझ मधेस प्रदेशमा त झन् कम रहेको छ ।
मधेस प्रदेशको साक्षरता कम छ र गरीबी बढी छ । यो एकदमै सही कुरो हो तर शिक्षित र सम्पन्न वर्गले पनि अखबार पढ्न आफूलाई अभ्यस्त तुल्याउन सकेको छैन । सिमाना जोडिएका छिमेकी भारतीय शहरहरू, साना बजार तथा चोकहरूमा पनि जसरी अखबार पढिरहेका हुन्छन्, त्यसरी हामीकहाँ भने विरलै भेटिन्छन् । भारतीय बजारका पसलहरूमा कम्तीमा कुनै एक अखबार अवश्य राखिएको हुन्छ, जहाँ ग्राहक सामान किन्न पुग्दा अलिकति पत्रिका हेरेर अल्झिन्छ वा आफ्नो पालो नआउँदासम्म पत्रिका पढ्छ । वा कोही ग्राहक नहुँदा खाली समयमा पसले पान चबाउँदै वा चियाको चुस्की लिंदै अखबारमा नजर लगाएको हुन्छ । अखबार पढ्ने रोग केवल ज्ञानीलाई मात्र हुन्छ । जो अज्ञानी छ, उसलाई झन् अज्ञानतातिर धकेल्न सहयोग गर्ने उसको अध्ययन नगर्ने बानी पनि हो ।
मधेस प्रदेशको प्रसङ्गलाई यही रोकेर अब भारतको मध्य प्रदेशतिर जाऔं । मध्य प्रदेशको प्रसिद्ध धार्मिक शहर उज्जैन जहाँ महाकालको मन्दिर छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले पनि दर्शन गरेका छन् । सम्भवतः गत वर्ष नै मन्दिर परिसरको उद्घाटन भएको छ । त्यस शहरमा हामीले पनि साउनमा टेक्ने र महाकाल महादेवको दर्शन गर्ने अवसर प्राप्त गर्यो ।
शहरसित जोडिएका विभिन्न सन्दर्भहरू छन् । अहिले भने अखबारसित जोडिन्छ । गत २ अगस्त २०२३ (१७ साउन २०८०) का दिन बिहान करीब नौ बजेतिर महाकालको दर्शन गरेर होटलतिर फर्किरहेका थियौं । हल्का पानी परेको थियो तर जीउ भिजेको थिएन । बाटोमा पानी जमेको थिएन तर भिजेको थियो । हामी सबैजना कैयौं दिनदेखि नाङ्गो खुट्टा थियौं । यस वर्षको बाबाधाम यात्रापछि सोझै उज्जैन नै गन्तव्य निर्धारण गरिएको थियो । स्कारपिओ गाडीले वा सडकमार्गले सबैभन्दा लामो यात्रा अहिलेसम्मको यही हो । मूल तीर्थस्थलहरू जहाँ दर्शन गर्नको लागि पहिले नै निर्धारित थिए, सकिएको छ । कतै वर्षा त कतै आगोजस्तै पोल्ने घामले तातेको कालोपत्र । टेक्न सजिलो भइरहेको थिएन भुइँमा । सबैको समूहगत निष्कर्ष नै रह्यो । यसपटक चप्पल नकिनी भएको छैन । यात्रामा रहेका थियौं– मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका क्याम्पस प्रमुख प्रेमलाल साह, नमूना मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत, शङ्कर गुदर मावि समनपुरका प्रअ देवेन्द्र साह, कटहरिया नगरपालिकाको शिक्षा शाखा संयोजक अनिलकुमार निधि तथा शिक्षक साथीहरू मदनप्रसाद साह, मनोजकुमार यादव र म । तीनजनाले चप्पल किनिसकेका छन् । हल्का परिरहेको पानी छल्न र चप्पल किन्न एउटा पसलमा अडिन्छौं । त्यहाँ पसलमा अरू पनि ग्राहक हुन्छन् । धेरै ग्राहकलाई धान्न एक्लो पसले अलिक सकिरहेका हुँदैनन् । छेवैमा एकजना आरामले अखबार पढिरहेका छन् ।
कपाल फुलिसकेको अनुहारमा चाउरी पनि परिरहेको ८७ वर्षका मानिसको हातमा अखबार छ । नजर गढाएर अखबार पढिरहेका छन् । तिनको आँखामाथि चश्मा छैन । अखबारको नाम छ– दैनिक अवन्तिका । हिन्दी भाषामा । अखबार पढिरहेको देखेर हेड सर प्रभु पटेल उत्सुक बन्नुहुन्छ र प्रश्न गर्नुहुन्छ । हेड सरको उत्सुकतामा म पनि सामेल हुन पुग्छु । सेवानिवृत्त जीवन बिताइरहेका ती वृद्धमा रहेको उत्साह र विगतमा आफूले गरेको सरकारी सेवाको गर्वले छाती फुलेको छ । गर्वोक्ति छ तिनमा । सेनाबाट सेवानिवृत्त भएको आफू बडो गर्वपूर्वक बताउँछन् । अखबार पढेर दैनिक आफूलाई देश र दुनियाँसित अद्यावधिक बनाउँछन् । यो धेरै महत्वपूर्ण कुरा हो । आफ्नो समयको व्यवस्थापन गर्न तथा आफूलाई आफ्नो अवस्था अनुसार तथा रुचिको आधारमा अखबार पढ्नु धेरै राम्रो कुरो हो । यस उमेरमा पनि आफ्नो स्मृतिलाई बचाइराख्न, ताज बनाउन तथा आफ्नो स्वास्थ्य र चुनौतीलाई समाधान गर्न अखबार पढ्छन् । साँच्चीकै उनका कुराहरू घतलाग्दा छन् । विश्वसनीय छन् । उमेरले पाको मात्र नभई अनुभवले खारिएका मानिसलाई यदि दैनिक अखबार पढ्ने आदत छ भने साँच्चीकै सोचेको भन्दा विशिष्ट तरीकाले जीवनयापन गरिरहेका हुन्छन्, अनुभवलाई समेटेका हुन्छन् । सुखी बनाएका हुन्छन्, सन्तुष्ट पारेका हुन्छन् । कतिपयमा धेरै किसिमका अम्मलहरू हुन्छन् तर कतिपयमा अखबार पढ्ने अम्मल हुन्छ । अम्मललाई कसैले यदि खराब अर्थमा लिन्छन् भने सबैभन्दा असल वा अब्बल अम्मल अखबार पढ्ने हुनुपर्छ ।
मध्य प्रदेशमा मात्र होइन, उत्तर प्रदेश, बिहार, झारखण्ड, उडिसा, तमिलनाडु, पश्चिम बङ्गाल, असम आदि प्रदेशहरूमा पुग्दा पनि त्यहाँका शहरी क्षेत्रका मानिसमा अखबार पढ्ने बानी देखिन्छ । सानातिना बजारमा कहिलेकाहीं रात कटाउनुपर्दा एकाबिहानै अखबार मानिसको हातहातमा पुगिसकेको देखिन्छ । हातहातमा अखबार हुँदा उमेरले पत्याउनै नसक्ने वृद्धहरूले पनि पढिरहेका हुन्छन् । पश्चिम बिहारको एउटा बजारमा पनि यस्तै ९० को करीबमा पुगेका वृद्धसित संवाद भएको थियो । तिनको हातमा अखबार थियो र घाम ताप्दै अखबारमा गढिएका थिए मोटो चश्मा लगाएर । जीउमा मासु निकै कम भइसकेको थियो तर समाज तथा संस्कृतिको बारेमा निकै गहिरो ज्ञान राखेका थिए । तिनले बताएका थिए– अझै पनि अखबारमा समाज र संस्कृति तथा धर्मसित जोडिएका हरेक सामग्री म हरेक दिन पढ्ने गर्छु ।
सम्भवतः अखबारले बुढ्यौलीलाई अझ सजिलो बनाउँछ । यसको लागि युवावस्थादेखि नै अलिक बढी रुचि लिनुपर्छ । एकैचोटि बूढो भइसकेपछि कसैले अखबार पढ्ने बानी बसाल्न सक्दैन । अहिलेका युवा तथा प्रौढहरूले आफ्नो दैनिक अखबार पढ्न चाहिं अभ्यस्त हुनु जरुरी छ । पत्रपत्रिकामा गएको पैसा चाहिं खर्च होइन जस्तो मानौं । पत्रपत्रिकाले खर्चभन्दा धेरै थोक दिने रहेछ भन्ने पनि बुझौं । शरीर, स्वास्थ्य, ज्ञान, मनोरञ्जन त सामान्य कुराहरू भए । यी कुराहरूभन्दा महत्वपूर्ण कुरा हुन्, मनोविज्ञान वा मानसिकता । तनाव व्यवस्थापनमा अखबार एउटा बलियो र भरपर्दो साथी हुन सक्छ । अझ जब बूढो भइसकेर फुर्सदको कारण अरू मानिसहरू आफूनजीक आउन किचकिच गर्छन् तथा जब आफूलाई लाग्छ कि मलाई समय बिताउन धेरै गार्हो भइसकेको छ, तब त्यस अवस्थामा पत्रपत्रिका पढ्ने बानीले समय बिताउन धेरै सहयोग पुर्याउने हुन्छ ।
को अखबार पढ्छ ? को अखबार पढ्दैन ? यो प्रश्न होइन । अखबारलाई सम्भव भएसम्म साथी बनाउनु राम्रो हो । अझ सम्भव हुन्छ भने साहित्यिक पत्रपत्रिका तथा पुस्तकमा पनि आफूलाई अभ्यस्त बनाउन सक्यो भने सुनमा सुगन्ध हुन्छ ।