• विश्वराज अधिकारी
नेपालमा भ्रष्टाचार किन र कसरी हुन्छ ?
भ्रष्टाचार आर्थिक विकासको शत्रु हो । कुनै देश जतिसुकै साधन र स्रोतले सम्पन्न भए पनि, यदि त्यहाँ भ्रष्टाचार व्याप्त छ भने त्यो देशले आर्थिक विकास गर्न सक्तैन । त्यसकारण आर्थिक विकासको लागि कुनै पनि देशले सर्वप्रथम भ्रष्टाचार निमूुल पार्नुपर्छ, अनि मात्र विकास हुन्छ । भ्रष्टाचार एउटा यस्तो गम्भीर रोग हो, जसले देशलाई मृत्युको मुखमा (टाट पल्टिने स्थितिमा पु-याउँछ ।
भ्रष्टाचार व्याप्त रहेको देशमा राष्ट्रिय आयको वितरण न्यायिक वा सन्तुलित किसिमले गर्न सकिंदैन । गरीबहरूलाई बाँच्न कठिन हुन्छ । कानून, व्यवस्थासमेत फितलो हुन्छ, इथियोपिया, सोमालिया आदिमा भएजस्तो ।
केही विकसित देशहरूलाई छाडेर कुरा गर्ने हो भने भ्रष्टाचार संसारका लगभग सबै देशमा हुन्छ । मात्रामा केही कम वा बढी होला तर भ्रष्टाचार सबै देशमा हुन्छ नै । तर बढी भ्रष्टाचार भने गरीब देशहरूमा हुन्छ । नागरिक दायित्व कम बोध हुने देशहरूमा हुन्छ ।
भ्रष्टाचारमा सरकारी कर्मचारी, नेता एवं अधिकारप्राप्त व्यक्तिहरू बढी संलग्न रहेको पाइन्छ । भ्रष्टाचार सर्वव्यापी रोग भएको कारणले गर्दा नै ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ नामक एक अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना गरिएको छ, जसको उद्देश्य संसारका देशहरूमा व्याप्त भ्रष्टाचार कम पार्नु हो । कुनै पनि देशका सम्पूर्ण नागरिकले विकासको प्रतिफल न्यायिक किसिमले पाउने वातावरण सृजना गर्नु हो ।
गैरमुनाफा एवं गैरसरकारी सङ्गठन– ट्रान्सपरेन्सी इन्टरनेशनलको कार्यालय जर्मनीको बर्लिनमा छ । नेपाल पनि ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्य रहेको छ । सबैभन्दा कम भ्रष्टाचार हुने १ र सबैभन्दा बढी भ्रष्टाचार हुने १८० भनी विभिन्न देशहरूको श्रेणी गर्दा सबैभन्दा कम भ्रष्टाचार हुने देश (१) डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देश (१८०) सोमालिया रहेको छ । नेपालको स्थान भने बढी भ्रष्टाचार हुने देश (११०) मा परेको छ ।
अब नेपालमा किन र कसरी भष्ट्राचार हुन्छ त्यसबारे कुरा गरौं । यस विषयमा चर्चा गर्नुपूर्व एउटा प्रमुख कुरा गर्नु प्रासाङ्गिक होला । त्यो प्रमुख कुरा के हो भने नेपालको भ्रष्टाचारको प्रकृति, स्वरूप र पद्धति भने नितान्त अनौठो र फरक किसिमको छ । नेपालमा सरकार, कर्मचारीतन्त्र, नेता र प्रतिपक्ष (संसद्को) सबै मिलेर भ्रष्टाचार गर्छन् । अर्थात् कुनै ठूलो भ्रष्टाचार गर्दा यी चारै पक्ष मिल्छन् । अरू बेला पक्ष, विपक्षमा विभाजित भए पनि, एकले अर्काको विरुद्ध सडक र सदन तताए पनि, भ्रष्टाचार गर्ने बेला, भ्रष्टाचारको मामिलामा एकमत हुन्छन् । यिनीहरूको मुख र बोलीसमेत समान हुन पुग्छ । यसै कारणले नेपालमा भ्रष्टाचार गर्न निकै सजिलो छ भने भ्रष्टाचारीले उन्मुक्ति पाउनु कठिन छैन ।
नेपालमा सरकार, नेता, कर्मचारीतन्त्र र प्रतिपक्ष (संसद्को) गरी सबै पक्ष मिलेर भ्रष्टाचार गर्ने हुनाले नेपालमा भ्रष्टाचार नियन्त्रण अति नै कठिन हुन पुगेको छ । अर्कोतिर यी चारै पक्ष मिल्ने हुनाले भ्रष्टाचार अति सजिलो पनि हुन पुगेको छ । अहिले अति चर्चित ‘एनसेल’ प्रकरणले यही कुराको पुष्टि गर्दछ । एनसेल प्रकरणमा सबै पक्ष संलग्न भएको हल्ला छ ।
नेपालको न्याय प्रणालीलाई नेता र प्रशासन (सरकार) ले सजिलै प्रभावित पार्न सक्ने स्थिति रहेकोले नेपालमा भ्रष्टाचार सजिलो र संस्थागत हुन पुगेको छ । नेपालमा भ्रष्टाचार समाजको जीवन पद्धति हुन पुग्नुको अनेक कारणहरूमध्ये एक कारण नेपालको न्याय प्रणाणीमा नेताहरूको गहिरो प्रभाव हुनु हो । नेताहरूले नेपालमा आपूmखुशी न्यायालयबाट फैसला गराउन सक्ने क्षमता राख्छन् ।
नेपालमा भ्रष्टाचार अति हुने ठूलो कारण भने राजनीति र चुनाव रहेको छ । हुनत कर्मचारीतन्त्रभित्र पनि भ्रष्टाचार व्याप्त छ । तर मात्राको हिसाबले हेर्ने हो भने ठूलो भ्रष्टाचार राजनीतिक क्षेत्रमा भएको पाइन्छ । नेपालमा अहिले यस्तो विशेष किसिमको सामाजिक वातावरण तयार भएको छ, जस अन्तर्गत राजनीतिमा सक्रिय एवं शक्तिशाली रहन तथा चुनावमा विजय हासिल गर्न पैसा चाहिन्छ नै । राजनीतिमा सक्रिय रहन अर्थात् कार्यकर्ताहरूलाई पाल्न नेताहरूलाई अनिवार्यरूपले पैसा चाहिन्छ । यस कारणले गर्दा कार्यक्रताहरूलाई पाल्न, खुशी राख्न, नेताहरू भ्रष्टाचार गर्छन् । केही अपवाद छाडेर कुरा गर्ने हो भने नेपालमा लगभग सबै नेता भ्रष्टाचार गर्छन् । यसैगरी चुनावमा उठ्न र विजयी हुन पनि नेताहरूलाई पैसा चाहिन्छ । कार्यकर्ता एवं केही मतदाता चुनावमा मत हाल्न नेताहरूसँग पैसा माग्ने हुनाले उनीहरूलाई पैसा दिन पनि नेताहरूले भ्रष्टाचार गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।
नेपालको चुनाव पद्धति पनि अति नै खर्चिलो छ । मतदाताहरूलाई आप्mनो पक्षमा राख्न तथा उनीहरूले आपूmलाई मत दिने स्थिति सृजना गर्न नेता वा चुनावमा भाग लिनेहरूले अनेक किसिमबाट चुनावमा खर्च गर्नुपर्ने हुन्छ । चुनावमा बढी खर्च गर्नुपर्ने भएकोले पनि त्यो रकमको जोहो गर्न नेताहरूले भ्रष्टाचार गर्नुपर्ने हुन्छ । उनीहरूसँग अर्को विकल्प हुँदैन ।
नेपालमा भ्रष्टाचार मौलाउनुको प्रमुख कारण भने हाम्रो समाजले भ्रष्टाचारलाई खराब रूपमा नहेर्नु हो । भ्रष्टाचारीहरूलाई अपराधी नठान्नु हो । उल्टो हाम्रो देशमा भ्रष्टाचारले सामाजिक मान्यता पाएको छ । भ्रष्टाचार गरेर ठूलो पदमा पुगेका नेताहरूको पछाडि लाग्दा हामीलाई लाज लाग्नुपर्ने हो । तर यस्तो हुँदैन, उल्टो गर्व हुन्छ । यसैगरी भ्रष्टाचार गरेर पाँच सातवटा घर बनाउने कुनै कर्मचारीका ती घरहरू हेर्दा हामीलाई घृणा हुनुपर्ने हो, तर त्यस्तो हुँदैन । उल्टो आपूmले पनि त्यसैगरी, त्यो नेताले जस्तो, पाँचवटा घर बनाउन पाए जस्तो लाग्छ ।
भ्रष्ट्राचारले हाम्रो समाजमा ‘अनुमोदन’ पाएको छ, इज्जत पाएको छस सामाजिक मान्यता पाएको छ । भ्रष्टाचार गर्नुलाई बहादुरीको रूपमा लिने गरिएको छ । यस कारणले गर्दा, केही अपवादबाहेक, हाम्रो समाजमा लगभग सबैजना भ्रष्टाचार गर्न तरल रहेको पाइन्छ । मौका पाए जो कोही भ्रष्टाचार गर्न सक्ने सामाजिक मनोविज्ञान रहेको पाइन्छ ।
हाम्रो समाजको एउटा गजबको रउल्लेखनीय विशेषता छ । हामीकहाँ भ्रष्टाचारको घोर विरोध गर्नेहरू पनि मौका पाउनासाथ भ्रष्टाचारमा संलग्न हुने गरेको पाइएको छ । भ्रष्टाचार गर्ने मौका नमिलेर इमानदार हुनेहरूको सङ्ख्या बाक्लो छ ।
मौका पाउनासाथ चर्चित भ्रष्टाचार विरोधहरू पनि सजिलै भ्रष्टाचारमा संलग्न हुन पुग्छन् । यस्तो हुनुको प्रमुख कारण भ्रष्टाचार गर्नु, घूस लिनुदिनु सामाजिक संस्कृति बन्न पुग्नु हो । सुन्दा तीतो लाग्ला, रिस उठ्ला, हाम्रो सामाजिक यथार्थ के हो भने हाम्रो समाजमा ९० प्रतिशत जति नागरिक भ्रष्टाचार गर्न तरल स्थितिमा रहेका हुन्छन् । मौका पाउन साथ ‘शुभ लाभ’ गर्छन् । केवल १० प्रतिशत नागरिक यथार्थमा भ्रष्टाचारविरोधी छन् । र उनीहरूको त्यो सद्व्यवहारले गर्दा नै नेपाल अति नै भ्रष्टाचार हुने देशको श्रेणीमा पुगेको छैन ।
माथि भ्रष्टाचार किन र कसरी हुन्छबारे मात्र चर्चा गरियो । नियन्त्रणबारे चर्चा गरिएन । भ्रष्टाचार नियन्त्रणबारे पनि उत्तिकै चर्चा हुनुपर्दछ । नेपालमा हुने भ्रष्टाचार नियन्त्रण गर्न सजिलो भने छैन । कसरी ? नेपालमा प्रतिपक्ष, सरकार, कर्मचारीतन्त्र र नेता गरी यी चारै पक्ष मिलेर भ्रष्टाचार गर्ने भएकाले नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन छ । यी चार पक्ष मिलेर भ्रष्टाचार गर्ने, जसले भ्रष्टाचारीलाई समात्नु पर्ने हो ऊ नै भ्रष्टाचारीसँग मिल्ने स्थिति रहेकोले नेपालमा भ्रष्टाचार रोक्न नागरिक समाज जागरूक हुन आवश्यक छ । नागरिक समाज वा समूहहरूले भ्रष्टाचार रोक्न अभियान नै सञ्चालन गर्नुपर्छ । भ्रष्टाचारीहरूले सजाय पाउने अवस्था सृजना गर्नुपर्छ ।
नागरिक समाजले नै भ्रष्टाचारीहरूले गरेको भ्रष्टाचारको प्रमाण जुटाउनुपर्छ, सम्बन्धित ठाउँमा पेश गर्नुपर्छ, सार्वजनिक गर्नुपर्छ । भ्रष्टाचारीहरूले सजाय पाउने अवस्था सृजना गर्नुपर्छ ।
अहिले अति चर्चामा रहेको ‘एनसेल भ्रष्टाचार प्रकरण’ मा अनेक नेता, प्रशासक, व्यापारीहरू संलग्न भएको देखिएको छ । यो भ्रष्टाचार प्रकरणलाई बाहिर, जनसमक्ष, प्रमाणसहित ल्याएको दाबी अहिले अमरेशकुमार सिंहले गरिरहेका छन् । उनी सांसद भए तापनि नागरिक समाजको अगुवाको रूपमा कार्य गरिरहेका छन् । अमरेश कुमारझैं भ्रष्टाचारको विरोधमा नागरिक समाजका अन्य अगुवाहरू पनि सक्रिय हुनुपर्छ । भ्रष्टाचारीहरूलाई कारबाई गर्न सबैले मिलेर आवाज उठाउनुपर्छ । नागरिक समाजले सक्रियता नदेखाएसम्म नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन छ । यसैगरी भ्रष्टाचार नियन्त्रण गर्न समान्य जनता पनि जागरूक हुनुपर्छ ।
हुनत अमरेशकुमार सिंह स्वयं पनि अति विवादित व्यक्ति हुन् । उनले भारतको लागि कार्य गरेको आरोप खेप्दै आएका छन् । पुष्पकमल दहालबाट ‘भाग नपाएको’ ले सिंह दहालको घोर विरोधी हुन पुगेका भन्नेहरू पनि धेरै छन् । तर सिंह जे जस्तो भए तापनि अहिले उनले चर्काएको नारा नेपालको हितमा रहेकोले हामीले अमरेशकुमार सिंहलाई नैतिक समर्थन दिनु नै पर्छ । उनको कार्यको प्रशंसा गर्नु नै पर्छ ।