- विश्वराज अधिकारी
नेपाल आर्थिक सङ्कटको ज्यादै नजीक पुग्न थालेको आशङ्का व्यक्त गर्न थालिएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरूले त्यस्तो हुन थालेकोमा चिन्ता व्यक्त गरिरहेका छन् र सरकार एवं सम्बन्धित पक्षलाई सतर्क र सचेत पनि पारिरहेका छन् । तत्काल आर्थिक सुधारका कार्यक्रमहरू निर्माण एवं कार्यान्वयन नगर्ने हो भने नेपालको आर्थिक स्थिति लेबेनानको जस्तो हुने पक्का छ । लेबेनान, अदूरदर्शी नेताहरूको स्वार्थी व्यवहारले गर्दा आर्थिक रूपमा सङ्कटग्रस्त छ । जनताको हातमा पैसा छैन भने सामानहरूको मूल्य आकाशिएको छ ।
नेपाल आर्थिक सङ्कटको नजीक पुग्नुका तीन प्रमुख कारणहरू छन् । ती हुन्– १. विश्व अर्थ व्यवस्थामा आएको समस्या २. अति निराश युवा जनशक्ति र ३. अस्थिर सरकार एवं सत्तामुखी नेताहरूको क्षुद्र व्यवहार ।
विश्व अर्थ व्यवस्था अहिले आफैं सङ्कटग्रस्त छ । संसारको सर्वाधिक ठूलो अर्थतन्त्र अमेरिका, जसलाई ‘इकोनोमिक पावर हाउस’ भनिन्छ, अप्रत्यक्षरूपमा दुईवटा युद्धमा संलग्न छ । अमेरिकाले इजराइल र युक्रेनलाई सैन्य र आर्थिक सहयोग गरिरहेको छ । अमेरिकाभित्र नै पनि अनेक आर्थिक समस्याहरू देखिएका छन् । अमेरिकीहरूले दशकौं यताको ठूलो मुद्रास्फीतिको सामना गरिरहेका छन् । दैनिक आवश्यक वस्तुहरूको मूल्य, केही क्षेत्रहरूमा, २० प्रतिशतले वृद्धि भएको छ । अहिले अमेरिकाको पनि आर्थिक स्थिति राम्रो छैन । संसारकै लागि ठूलो अन्न भण्डार मानिने युक्रेन अहिले युद्धमा व्यस्त छ । अस्तव्यस्त छ । चीनको अर्थ व्यवस्था पनि सङ्कटग्रस्त छ । युक्रेनसँग चलिरहेको निरन्तर युद्धले गर्दा रूसी अर्थ व्यवस्था पनि कमजोर हुन पुगेको छ । थुप्रै एशियालीहरूलाई रोजगार दिने इजराइल अहिले हमाससँग दोहरो भिडन्तमा लागेको छ । एशियाका ठूला अर्थ व्यवस्थाहरूमध्ये एक भारतको आर्थिक स्थिति पनि उत्साहप्रद छैन, खस्किंदो छ । अफ्रिकी देशहरू पनि आआफ्नै आर्थिक समस्याले पिरोलिएका छन् । दक्षिणी अमेरिकी देशहरू आआफ्नै आन्तरिक कलहमा व्यस्त छन् । अर्जेन्टिनाको आर्थिक स्थिति सोचनीय छ । अहिले विश्वभरिका राष्ट्रहरू कुनै न कुनै रूपमा सङ्कटग्रस्त छन् । आर्थिक रूपमा कमजोर छन् ।
यद्यपि अडकलबाजी हा– तर पनि, अब तेस्रो विश्वयुद्ध हुन सक्छ भन्नेहरू पनि थुप्रै छन् । युद्ध होला वा नहोला, तर अहिलेको जस्तो, अनिश्चित वातावरणले लगानीकर्ताहरूलाई लगानी गर्न प्रेरित भने गर्दैन । त्यसकारण तेस्रो विश्वयुद्ध हुन सक्ने आम मनोविज्ञानले पनि विश्व अर्थ व्यवस्थालाई अति प्रभावित गरिरहेको छ । लगानीकर्ताहरूलाई लगानी गर्न अनिच्छुक बनाइरहेको छ । लगानीकर्ता एवं उद्यमीहरू लगानी गर्न एवं व्यवसाय गर्न तत्पर नहुनु विश्व अर्थ व्यवस्थाको लागि अति खराब स्थिति हो । अहिले विश्व अर्थ व्यवस्था समस्यग्रस्त छ । भन्ने हो भने अहिले अप्रत्यक्षरूपमा तेस्रो विश्वयुद्धको स्थिति छ ।
समस्याग्रस्त वर्तमान विश्व अर्थ व्यवस्थाको नकारात्मक प्रभाव नेपालको अर्थ व्यवस्थामा पनि परिरहेको छ र नेपालको अर्थ व्यवस्थालाई सङ्कटग्रस्त बनाउन योगदान पुर्याइरहेको छ । वर्तमान विश्व अर्थ व्यवस्थामा अनिश्चितता देखिएको कारणले नै नेपालमा उद्यमीहरू लगानी गर्न तत्पर देखिएका छैनन्, जबकि नेपालका वाणिज्य बैंकहरूसँग लगानी गर्न पर्याप्त पैसा छ । अति नै तरलता छ । हुनत नेपालमा लगानी गर्न चाहनेहरू बढी त्रसित र चिन्तित, नेपालको अस्थिर राजनीति र अनिश्चितताबाट छन् ।
नेपालका युवाहरूमा आएको डरलाग्दो किसिमको निराशाको स्थितिले पनि नेपालको अर्थ व्यस्थालाई सङ्कटग्रस्त पार्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । स्वदेशमा आफ्नो भविष्य असुरक्षित देखेर युवाहरू अहिले रोजगारका लागि ठूलो सङ्ख्यामा विदेशतिर लागिरहेका छन् । नेपाली युवाहरू रोजगारका लगि त्यस्ता देशमा पनि पुगिरहेका छन् जहाँ युद्ध, गृहयुद्ध तथा अनेक किसिमका समस्या छन् । केही दिन पहिले मात्र रोजगारका लागि इजराइल पुगेका नेपालीहरूमध्ये १२ जनाको हमासको आक्रमणमा परी मृत्यु भएको थियो । देशको अर्थतन्त्रलाई सही दिशामा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवाहरू ठूलो सङ्ख्यामा विदेशतिर लाग्नु ज्यादै दुःखद स्थिति हो ।
स्वदेशमा आफ्नो भविष्य अन्धकारमय देखेर रोजगारका लागि विदेश जाने क्रममा नेपाली युवाहरू रूसी सेनामा समेत भर्ति भएका छन् । अति हताश र निराश नेपाली युवाहरू रूसी सेनामा भर्ति हुनु, भाडाको सैनिक बन्नु, नेपालकै इतिहासमा अति दुःखद स्थिति हो । अकल्पनीय घटना हो ।
रूसको पक्षमा युक्रेनसँग युद्ध गर्न नेपाली युवाहरू रूसी सेनामा भर्ति भएको स्थितिले नेपाली युवाहरू चरम निराशामा परेको थप पुष्टि हुन्छ । हालै रूसी सेनामा भर्ति भएर रूसका लागि युक्रेनसँग युद्ध गर्न पुगेका नेपालीहरूमध्ये एक युवकको मृत्यु भएको तथा अर्का एक युवकलाई युक्रेनको सेनाले बन्दी बनाएको खबर संसारभरि फैलिएको छ । नेपाली युवा, विवेक खत्री, रूसको पक्षमा युद्ध गर्ने क्रममा युक्रेनी सैनिकद्वारा बन्दी बनाइएको र हाल उनी युक्रेनको एक जेलमा रहेको पुष्टि केही दिन पहिले मात्र युक्रेनी अधिकारीहरूले गरेका छन् ।
नेपाली युवाहरू यतिसम्म निराश भएका छन् कि भाडाको सैनिक भएर युद्ध गर्न पनि हच्किरहेका छैनन् । युद्धग्रस्त क्षेत्रमा गएर, ज्यानको बाजी थापेर, युद्ध गर्न डराइरहेका छैनन् । जब मानिस चरम निराशामा पुग्छ, डर हराउँछ र ठूलो जोखिम मोल्न पनि धरमराउँदैन ।
नेपाली युवाहरूलाई चरम निराशाको स्थितिमा पुर्याउने कार्य नेपालको अनिश्चित राजनीतिले गरेको हो । नेपालको राजनीतिले भन्दा पनि तिनका नेताहरू पुष्पकमल दहाल, शेरबहादुर देउवा र केपीशर्मा ओलीको स्वार्थी र अदूरदर्शी व्यवहारले गरेको हो । नेपालको राजनीतिलाई आफूले चाहेको दिशामा डोर्याउने क्षमता र चातुर्य भएका यी तीन नेताहरूको व्यवहारले गर्दा नै नेपालको अर्थतन्त्र सङ्कटको सँघारसम्म पुग्न थालेको हो । यी तीन नेताहरूको व्यवहारले गर्दा नै यस्तो भएको हो । हुनत यस्तो हुनुमा नेपालका अन्य नेताहरू पनि जिम्मेवार छन्, तर यी तीनको भूमिका भने अति महत्वपूर्ण छ । यी तीनमध्ये पनि पुष्पकमल दहालको भूमिका सर्वाधिक महत्वपूर्ण छ । पुष्पकमल, नेपालको राजनीतिमा सक्रिय रहेसम्म न यो देशमा स्थिरता आउँछ, न यो देशको आर्थिक नै विकास हुन्छ ।
नेपालको अर्थ व्यवस्थालाई सङ्कटको नजीक पुर्याउन नेपालको राजनीतिले पनि महत्वपूर्ण भूमिका खेलेको छ । २०४७ सालमा भएको राजनीतिक परिवर्तनपछि अस्थिर हुन प्रारम्भ भएको नेपालको राजनीति २०५२ सालपछि, माओवादीले प्रारम्भ गरेको तथाकथित जनयुद्धपछि, झनै अस्थिर भयो । माओवादीहरूले आर्थिक विकासका संचरनाहरू ध्वस्त पार्न थालेपछि भरखर हिंड्न थालेको नेपालको अर्थ व्यवस्था थचक्क बस्ने स्थितिमा पुगेको थियो ।
वर्तमानको राजनीतिक व्यवस्थाले न स्थिर राजनीति नै दिन सक्छ, न इमानदार नेता नै उत्पादन गर्न सक्छ । यो राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आवश्यक छ । समानुपातिक व्यवस्था र सङ्घीयता भएसम्म नेपालको राजनीतिले गति लिन सक्तैन । यो तत्काल खारेज गर्न आवश्यक छ । यी दुई व्यवस्थाले नेपाललाई आर्थिकरूपमा कङ्गाल पार्न र जनतालाई निराश बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
सर्वाधिक उत्तम उपाय त एउटा राष्ट्रिय सरकार गठन गरेर, दलहरूले प्राप्त गरेका मत र सिटको आधारमा उनीहरूलाई सरकारमा सामेल गराएर, एउटा साझा सहमतिद्वारा देशको शासन व्यवस्था सञ्चालन गर्नु राम्रो हुने थियो । यस्तो गर्न सके सङ्कटापन्न नेपालको अर्थतन्त्रलाई जोगाउन सकिन्थ्यो । तर यस्तो हुन सक्तैन । यद्यपि गर्नुपर्ने यही हो । नेपाललाई आर्थिक सङ्कटबाट जोगाउन दलहरूबीच एउटा साझा सहमति हुन आवश्यक छ । सहमति मात्र एउटा अन्तिम तर अति महत्वपूर्ण उपाय हो । यस्तो नहुने हो भने थप युवाहरू रूसी सेनामा भर्ती हुनेछन्, युद्धभूमिमा मारिने छन् । मरेका आत्माहरूले नेताहरूलाई सराप्ने छ । यति मात्र हुनेछ ।
आर्थिक विकासका लागि एवं देशलाई आर्थिक सङ्कटबाट जोगाउन जति महत्वपूर्ण भूमिका नेताहरूले खेल्न सक्छन् त्योभन्दा बढी जनताले पनि खेल्न सक्छ । कसरी ? देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेताहरूमाथि, साझा सहमति कायम गर्न, दबाब दिन सक्छ । कार्यकर्ताहरू आफ्नो दल र नेताहरूलाई मिलेर अगाडि बढ्न दबाब दिन सक्छन् ।
दोष केवल नेताहरूलाई मात्र दिएर हुँदैन । यस्ता अविवेकी र स्वार्थी नेताहरूलाई चुनावमा विजयी गराउने, एकटै व्यक्तिलाई दुईपटक, तीनपटक, पाँचपटक प्रधानमन्त्री बनाउने जनतालाई पनि दोष दिनुपर्छ । नेपालको राजनीतिलाई अस्थिर बनाउन जनताको पनि हात छ । यो कुरा हामीले स्विकार्नुपर्छ । एउटै व्यक्तिलाई पाँचपटक देशको प्रधानमन्त्री हामी जनताले नै बनाएको होइन ? एउटै व्यक्ति पटकपटक चुनावमा विजयी हुने स्थिति हामीले नै तयार पारेको होइन ?
हामीले विगतबाट धेरै कुरा सिकिसकेका छौं । नेपाललाई आर्थिक सङ्कटबाट जोगाउन, आर्थिकरूपमा टाट पल्टिन नदिन अब नेताहरूले, दलहरूले मिलेर कार्य गर्नुको विकल्प छैन । यदि स्थिति यस्तै रहने हो भने नेपालको दुईतिहाई जनसङ्ख्या विश्वका अनेक देशमा छरिने स्थिति हामीले देख्नुपर्नेछ ।