• अनन्तकुमार लाल दास

नेपाल सङ्घीय ढाँचामा प्रवेश गरिसकेपछि शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेको छ । विद्यालय शिक्षा सम्बन्धमा तीनवटै सरकारको लगानीका साथै सहकारिता, साझेदारी र समन्वयको खाँचो रहेको छ । विगतमा कुल राष्ट्रिय बजेटको १२ प्रतिशतको हाराहारीमा शिक्षा क्षेत्रमा लगानी भएको देखिन्छ भने स्थानीय तहले ५ प्रतिशतको हाराहारीमा लगानी गरेको तथ्याङ्क सार्वजनिक भएको छ । संविधानले प्रदान गरेको शिक्षासम्बन्धी मौलिक हकको सही तरीकाले कार्यान्वयन गर्नको लागि कम्तीमा २५ प्रतिशत लगानी गर्नु आवश्यक छ । यस सम्बन्धमा राजनीतिक दलहरूबीच ऐक्यबद्धता रहे तापनि सो अनुरूप लगानी हुन सकेको छैन । भएको लगानी पनि प्रभावहीन देखिएको छ । अर्थात् लगानी अनुरूप प्रतिफल हासिल हुन सकेको छैन । यस सन्दर्भमा नेताहरूले ठूल्ठूला भाषण गर्नुको साटो ससाना तर आवश्यक क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यसतर्फ ध्यान दिइयो भने विद्यालय शिक्षामा सुधार गर्न सकिन्छ ।

सुविधासम्पन्न विद्यालय भवन बनाउन बजेट नहुँदा हालको भवनलाई मरम्मत–सम्भार र रङ्गरोगन गरेर चिटिक्क पार्न सकिन्छ । बेन्चडेस्कलाई मरम्मत गरेर सुरक्षित बनाउन सकिन्छ । धूलो भएको कक्षा कोठा लिपपोत गरी राम्रो बनाउन सकिन्छ । झ्याल–ढोकामा चुकुल छैन भने लगाउन सकिन्छ । कालोपाटी वा सेतोपाटी जे छ, त्यसलाई सही ठाउँमा राखेर प्रयोग गर्न सकिन्छ । भुइँको बसाइ व्यवस्थापन स्थानीय तहमा उपलब्ध गुन्द्री, फोम आदि प्रयोग गरी व्यवस्थित गर्न सकिन्छ । खुलेको ढोकामा ताल्चाको व्यवस्था गरी कक्षाको सामान सुरक्षित पार्न सकिन्छ । भएको शौचालयलाई बालमैत्री बनाउन सकिन्छ । यसरी कक्षा कोठालाई बालमैत्री बनाउन सकिन्छ । यी सबै कुरा सानो बजेटले सम्भव हुन्छ । शिक्षक र विद्यार्थीको संलग्नतामा विद्यालय परिसर सफा बनाउन सकिन्छ । शिक्षक र विद्यार्थीकै सहभागितामा विद्यालयमा उपलब्ध खाली जग्गा, बोटबिरुवा रोप्न वा खेती गर्न प्रयोग गर्न सकिन्छ । खानेपानीको व्यवस्था मिलाउन सकिन्छ । अभिभावकको सहयोगमा कक्षाकोठा बाहिर खेल्ने सामग्रीको व्यवस्था गर्न सकिन्छ ।

विद्यालय जाने उमेर समूहका ती  को बालबालिका हुन्, जो विद्यालय बाहिर छन् ? ती कहाँ छन् ? उनीहरू किन विद्यालय आएनन् ? उनीहरूलाई विद्यालय आउनबाट कसले रोकेको छ ? उनीहरूलाई विद्यालय ल्याउन के गर्न सकिन्छ ? यस्ता प्रश्नहरूको जवाफ विद्यालयले तयार पार्नुपर्छ । यसका लागि स्थानीय तह भित्रका विद्यालयहरूको सेवा क्षेत्र स्थानीय तहले निर्धारण गर्नुपर्छ । सेवा क्षेत्र भित्रका हरेक घर परिवारमा पुगी विद्यालय जाने उमेर समूहको तथ्याङ्क तयार गर्नुपर्छ । यस कार्यमा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सङ्घ र स्थानीय पदाधिकारीहरूको सहभागिता हुनुपर्छ । यस प्रकारको कार्य वडा समितिहरूलाई पनि दिनुपर्छ । विवरण सङ्कलनको ढाँचा स्थानीय तहले विद्यालयको सहभागितामा तयार गर्नुपर्छ । तथ्याङ्क सङ्कलन भएपछि विशेष कार्यक्रम तय गरी त्यस्ता विद्यार्थीहरूलाई विद्यालयभित्र प्रवेश गराउनुपर्छ । यो गर्न धेरै पैसा चाहिंदैन । मात्र शिक्षाको विकास गर्ने सोच भए पुग्छ ।

स्थानीय तहभित्रका गरीब, असहाय, सीमान्तकृत तथा कठिन परिस्थितिका सबै बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्नको लागि विशेष कार्यक्रम तयार गर्नुपर्छ । यसका लागि स्थानीय दाताको खोज गरी वा सक्षम विद्यालयकै सहयोगमा उनीहरूलाई विद्यालय पोशाक, पुस्तक र पुस्तक बोक्ने झोला, पानी खाने बोतल, स्टेशनरी तथा सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध गराई विद्यालय आउन प्रोत्साहित गर्न सकिन्छ । यस कार्यमा प्याब्सन, एन प्याब्सन र अन्य संस्थागत विद्यालयहरूसँग पनि सहयोग लिन सकिन्छ । भनिन्छ “जहाँ इच्छा चाह, त्यहाँ उपाय” । यस कारण यस्ता कार्य गर्न असम्भव छैन ।

विद्यालय शिक्षामा पहुँच वृद्धि गर्नुका साथै विद्यार्थीहरूको नियमितताका लागि विद्यालयमा दिवा खाजा सञ्चालनमा रहेको भए तापनि सोको अक्षरशः पालना गरिएको पाइँदैन । हाल उपलब्ध अनुदान कम भएको, राम्रो व्यवस्थापन नभएको, दिवाखाजा नै उपलब्ध नगराएको जस्ता गुनासाहरू सुन्नमा आइरहेको छ । सँगसँगै संस्थागत विद्यालयमा पढ्ने बालबालिकाहरूलाई यो सुविधा उपलब्ध गराइएको छैन । यस प्रकारको विभेद अन्त्य हुनुपर्छ । विद्यार्थी त विद्यार्थी हुन्, ती सामुदायिक विद्यालयका हुन् वा संस्थागत विद्यालयका । यसका लागि स्थानीय तहले पहल गरेमा विद्यार्थीहरूलाई जङ्क फूड खानबाट जोगाउन सकिन्छ । यस कार्यमा केही थप रकम स्थानीय तहले पनि सहयोगस्वरूप प्रदान गर्नुपर्छ । यस्ता कुराहरूमाथि पनि समय–समयमा स्थानीय तहको उपस्थितिमा छलफल हुनुपर्छ ।

महीनावारी एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यसबाट कुनै पनि बालिका अप्ठेरोमा नपरून् र उनीहरूको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनीहरूको जीवनशैली र सुरक्षाबारे समयमैं जानकारी गराउने उद्देश्यले हरेक विद्यालयमा तालीम सञ्चालन गर्नुपर्छ । तालीममा स्यानेटरी प्याडको उपयोग, बनाउने तरीका, सीप र कुन पैड राम्रो हुन्छ भन्ने जानकारी दिनुपर्छ । यस सम्बन्धमा पनि धेरै प्रकारका गुनासाहरू बाहरिएका छन् । यसर्थ यसलाई बनाउने सीप विद्यालयमैं सिकाउन सकिन्छ । यसबाट बालिकामा जीवनोपयोगी सीपको विकास हुनुका साथै स्वरोजगारी बन्ने अवसर पनि प्राप्त हुन्छ ।

यसबाहेक शिक्षक दरबन्दी मिलान गर्ने कार्य चैतको अन्तिम साता प्रारम्भ गरी वैशाखमा नयाँ सत्र प्रारम्भ हुनु अगावै सम्पन्न गरिसक्नुपर्छ । यसरी गरियो भने पठनपाठनमा कुनै अवरोध उत्पन्न हुँदैन । सँगसँगै कुन विद्यालयमा कुन विषयको शिक्षक छैन, पहिले नै तथ्याङ्क तयार पारी सरुवा वा नियुक्ति प्रक्रिया मिलाउन सकिन्छ । यसबाहेक गीत, नृत्य, चित्रकला, योग, ध्यानजस्ता शारीरिक व्यायामको लागि स्थानीय तहले व्यवस्था गरी आवश्यकतानुसार पालैपालो विभिन्न विद्यालयमा परिचालन गर्न सकिन्छ ।

कहिलेकाहीं सामान्य निरीक्षण हुने गरे तापनि सुपरीवेक्षणको काम हाल भइरहेको छैन । विद्यार्थीहरूको सिकाइ सुधारका लागि अवकाश प्राप्त प्रधानाध्यापक, शिक्षक तथा शैक्षिक प्रशासक र शिक्षाविद्हरूको समूह बनाएर सुपरीवेक्षण गर्ने कार्यमा प्रयोग गर्न सकिन्छ । यसका लागि हरेक स्थानीय तहमा यस प्रकारको समूह राजनीतिक भेदभावबेगर तयार गरी स्वतन्त्ररूपमा परिचालन गर्नुपर्छ । यस्ता समूहलाई कक्षा कोठामा सिकाइ सुधारको प्राविधिक पक्षमा मात्र केन्द्रित गर्न सकिन्छ । यसैगरी विषयगत समूह बनाएर पेशागत विकासमा परिचालन गर्न सकिन्छ । यस्ता समूहहरूको लागि बैठक कोठा र खाजाको व्यवस्था स्थानीय तहले गरिदिनुपर्छ । यसरी विषयगत समस्या न्यून गर्न सकिन्छ । राम्रो गर्ने विद्यालय, विषय शिक्षकलगायत अन्य शिक्षकलाई  परिणामको आधारमा पुरस्कृत गर्ने व्यवस्था स्थानीय तहले गरिदिनुपर्छ ।

कुनै बेला सामूहिक र कुनै बेला बेग्लाबेग्लै रूपमा विद्यार्थीको अभिभावकलाई विद्यालयमा बोलाई विद्यार्थीको सिकाइबारे छलफल र सोको रेकर्ड राख्ने वातावरण बनाउन सकिन्छ । यसको लागि विद्यार्थीहरूको सिकाइबारे टेलिफोनबाट पनि अभिभावकलाई जानकारी गराउने व्यवस्था मिलाउन सकिन्छ र सोको पनि रेकर्ड राख्नुपर्छ ।  यसबाट विद्यार्थीहरूको नियमिततामा वृद्धि हुन्छ । यस्ता कुरा थोरै लगानीमा गर्न सकिन्छ तर शिक्षा सुधार हाम्रो प्राथमिकता नहुँदा भइरहेको छैन ।

यसका लागि शुरूमा शिक्षकहरूलाई केही निश्चित रकम रिचार्जको लागि मासिक प्रदान गर्न सकिन्छ । विद्यार्थीहरूको बानी–बेहोर, चालचलन, सिकाइ आदिबारे केही प्रश्नावली तयार गरी अभिभावकबाट त्यसको जवाफ प्राप्त गर्ने र त्यसलाई आन्तरिक मूल्याङ्कनमा समावेश गरी अभिभावकको संलग्नता बढाउन सकिन्छ । स्थानीय तहले प्रत्येक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गर्न लगाई विद्यार्थीको सिकाइ सुधारमा अभिभावकलाई सामेल गराउन सकिन्छ । यसका लागि हरेक विद्यालयमा विद्युत्, कम्प्युटर र इन्टरनेटको व्यवस्था क्रमिकरूपले गर्दै जानुको कुनै विकल्प छैन । यसरी सिकाइ पोर्टल, युट्यूब, भर्चुअल कक्षामा विद्यार्थीहरूको सहभागिता बढाउन सकिन्छ । साथै विभिन्न स्रोतबाट सामग्री खोजी त्यसको उपयोग सिकाइको क्रममा गर्न सकिन्छ । यसका लागि केही कक्षा कोठा विषयगत प्रविधियुक्त कक्षा कोठाको रूपमा विकसित गर्न सकिन्छ । जुम, गुगल मिट, भाइबर, ह्वाट्स एप आदिको प्रयोग सिकाइ क्रियाकलापका लागि प्रयोग गर्न सकिन्छ ।

उच्च मनोबल भएको जनशक्ति नै सुधारको मुख्य संवाहक हो । शिक्षकहरूको मनोबलमा वृद्धि नभएसम्म सुधार अपूर्ण हुन्छ । यसका लागि शिक्षकलाई डायरी, झोला, शैक्षिक सामग्री निर्माण खर्च उपलब्ध गराउन सकिन्छ । उनीहरूलाई अध्यापन भ्रमणको अवसर दिनुपर्छ । शिक्षक उत्प्रेरणाको लागि समयानुसार सेमिनार र तालीम सञ्चालन गर्न सकिन्छ । शिक्षकहरूको लागि विद्यालयमैं खाजाको प्रबन्ध मिलाउन सकिन्छ । कुनै शिक्षकमा भएको ज्ञान, सीप र शिक्षण कौशल त्यस विद्यालयमा कार्यरत अन्य शिक्षकहरूलाई प्रदान गर्न सकिन्छ । उनीहरूको रुचि र क्षमता अनुसार थप जिम्मेवारी प्रदान गर्न सकिन्छ । उत्कृष्ट उपलब्धि हासिल गराउने शिक्षकलाई पुरस्कृत तथा सम्मान गर्न सकिन्छ । शिक्षकसँग पूर्वाग्रही व्यवहार नगर्ने, सम्मानपूर्वक व्यवहार गर्ने, उनीहरूले गर्ने काममा सहयोग गर्ने र उनीहरूको प्रशंसा गर्ने जस्ता कामबाट शिक्षकलाई उत्प्रेरित गर्न सकिन्छ । यसरी शिक्षकहरूलाई जिम्मेवार बनाएर उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ । विभिन्न मञ्चमा शिक्षा क्षेत्रमा भएका उपलब्धि प्रस्तुत गर्दा यो उपलब्धि शिक्षकबेगर सम्भव छैन भन्ने कुराको पनि हेक्का राख्नुपर्छ ।

विद्यालय व्यवस्थापन समिति लाभको पद नभई सेवाको पद भएकोले सोको गठन प्रक्रियामा सरलता ल्याउनुपर्छ । नयाँ विद्यालय खोल्दा भूगोल र विद्यार्थी चापको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्छ । शैक्षिक सुधारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्न सकिन्छ । बालबालिकालाई नियमित विद्यालय पठाउने र नियमित विद्यालय आई उनीहरूको सिकाइबारे चासो लिने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । माग अनुसार लगानी सम्भव नभए भइरहेकै अवस्थाबाट सुधार खोज्नु उचित हुन्छ । सुधारका लागि ठूलो काम मात्र होइन, स–साना कामले पनि ठूलो सुधार र परिवर्तन ल्याउन सकिन्छ ।

माथि उल्लिखित विषयवस्तु प्रतिनिधिमूलक मात्र हुन् । यस्ता क्रियाकलापको सूची लामो हुन सक्छ । सीमित स्रोत र साधनका बावजूद यस्ता क्रियाकलापमा जोड दिन सके थोरै लगानीमा सुधारको आस गर्न सकिन्छ । तर तीनै तहका सरकारले शिक्ष्Fामा लगानी वृद्धि नगरेसम्म शिक्ष्Fामा कायापलट हुने छैन । विद्यालय शिक्षा सुधारका लागि तीनै तहको सरकारले उच्च प्राथमिकता दिनुपर्छ । अन्त्यमा वडा दशैंको पावन, पुनीत अवसरमा हरेक नेपालीको घरदैलोमा शान्तिको दीप प्रज्वलित होस् भनी हार्दिक मङ्गलमय शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here