• अनन्तकुमार लाल दास

आधुनिक युगमा हरेक व्यक्तिका लागि ‘शिक्षा’ एउटा आवश्यकता बनिसकेको छ । हिजोआज विद्यालय शिक्षाबाहेक कैयन प्रकारको शिक्षाको प्रचलन छ । आज सामुदायिक र संस्थागत विद्यालयहरूले जस्तो शिक्षा दिइरहेका छन्, त्यस परीक्षाको तयारी कोचिङबेगर सम्भव छैन । दुई दशक पहिले कमजोर विद्यार्थीहरूले मात्र कोच लिन्थे, अहिले यस धारणामा परिवर्तन आएको छ । वर्तमानमा कमजोर विद्यार्थी जहाँ उत्तीर्ण हुन कोचिङ जान्छन् त्यहीं राम्रो विद्यार्थी अझ राम्रो ग्रेड हासिल गर्न कोचिङ जान्छन् । वर्तमान प्रतिस्पर्धात्मक युगमा कोचिङ आवश्यकता र फेशन दुवै भएको छ । यस कारण सङ्ख्यात्मकरूपले यसमा वृद्धि भइरहेको छ । हाम्रोजस्तो मुलुकमा हजारौं सामुदायिक तथा संस्थागत विद्यालयहरू छन्, जसमा लाखौं केटाकेटी पढिरहेका छन् र त्यहाँ हुने राजनीतिक हस्तक्षेप, अभिभावक–शिक्षाको कमी र शिक्षाको उद्देश्य राम्रो जागीर हासिल गर्ने बन्दै गएकोले केटाकेटीरूका लागि कोचिङ बाध्यता र आवश्यकता दुवै भएको छ ।    

कुनै पनि परीक्षामा सफल हुनका लागि कठिन परिश्रमसँगै कोचिङ संस्थाको भूमिका पनि महŒवपूर्ण हुन्छ । समयसँगै कोचिङ संस्थाको महत्व र भूमिकामा पनि परिवर्तन आएको हेर्न र अनुभव गर्न सकिन्छ । पहिले कोचिङ संस्थामा आफ्नो सन्तान पठाउन लज्जाको अनुभूति हुन्थ्यो, अहिले गर्वको अनुभूति हुन्छ । पहिले अभिभावकलाई के लाग्थ्यो भने कमजोर बच्चा मात्र कोचिङ जाने गर्छन् तर आज यो स्थिति छैन । यस्तै कुरा पहिलेका विद्यार्थीहरूले पनि सोच्ने गर्दथे तर जसैजसै परीक्षाको स्वरूपमा परिवर्तन हुँदै गयो, प्रतिस्पर्धाको स्तर पनि बढ्दै गयो, त्यही क्रममा अभिभावक तथा विद्यार्थीको सोच पनि परिवर्तन हुँदै गयो । आज कोचिङ जानु भनेको शर्म हैन, गर्वको विषय बन्दै गएको महसूस हुन थालेको छ । यसको एकमात्र कारण के हो भने कोच पढ्ने विद्यार्थीहरूको सफलता प्रतिशत समयसँगै बढ्दै गएको छ ।

आज लोकसेवा आयोग, मेडिकल, इन्जिनीयरिङ, बैङ्किङलगायत अन्य क्षेत्रमा पनि सफलता पाउनको लागि कोचिङ संस्थामाथि बढ्दो निर्भरताले के साबित गरेको छ भने कुनै पनि प्रकारको परीक्षामा सफलताको लागि कोचिङ संस्था द्वारा प्रदान गरिने मार्गदर्शनको अहम् भूमिका हुन्छ । आज प्रतिभासँगै समय व्यवस्थापन पनि जरुरी छ, जसमा कोचिङ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका लागि प्रतिभासँगसँगै विद्यार्थीहरूले स्मार्ट, ट्रिकी र धैर्यवान बन्नु जरूरी छ र यस्ता सबैखाले परिस्थितिको लागि कोचिङ संस्थाले विद्यार्थीहरूलाई राम्ररी तयार गर्छ ।

कोचिङ संस्थाहरूले परीक्षाको तयारी सँगसँगै विद्यार्थीहरूलाई समयको सदुपयोग कसरी गर्नेबारे तालीम दिन्छन् । यस प्रकारको प्रशिक्षणले गर्दा विद्यार्थीहरू समयपूर्व नै परीक्षाको तयारीमा फोकस गर्न थाल्छन् र सबै विषयमा समानरूपले समय पनि दिन थाल्छन् । प्रायः के देखिएको छ भने विद्यार्थी तिनै विषयमा बढी ध्यान दिन्छन् जसमा उनीहरूको रुचि बढी हुन्छ । परिणामस्वरूप परीक्षामा चाहेजस्तो ग्रेड वा अङ्क हासिल हुँदैन । यसर्थ विभिन्न विषय र परीक्षाको तयारी गराउने बढीजसो कोचिङ्ग संस्थाले विद्यार्थीहरूलाई समयको सदुपयोग कसरी गर्ने भन्ने सिकाउँछन् ।

कोचिङ संस्थाको काम तोकिएको समयमा कोर्स पूरा गर्नु मात्र नभई पढाइ सँगसँगै उनीहरूमा हुने कमजोरीहरूबारे पनि सचेत गराउँछन् र त्यसलाई कसरी सुधार्ने भन्ने पनि सिकाउँछन् । कमजोरी हटाउनको लागि कोचिङ संस्थाद्वारा समय–समयमा सेमिनार वा वन टू वन सेशन आयोजना गर्छन् । साथै विद्यार्थीहरूलाई छुट्टाछुट्टै पढाइन्छ पनि । यसमा त्यस्ता विषयमा बढी ध्यान दिइन्छ, जसमा विद्यार्थीहरूको रुचि थोरै हुन्छ वा उनीहरू कमजोर हुन्छन् । विद्यार्थीका अभिभावकलाई पनि घरमा पढ्ने वातावरण कसरी दिने भन्ने छलफलमा सामेल गराउँछन् ।

अहिले एकै समयमा बढी विषयको तयारी गर्नुपर्ने हुन्छ । यस परिवेशमा सबै विषयमा समानरूपले ध्यान दिनु अलि कठिन नै हुन्छ । यहींबाट कोचिङ संस्थाको भूमिका प्रारम्भ हुन्छ । एउटै समयमा विभिन्न विषयको तयारी गराउन कोचिङ संस्थाको भूमिका अहम् हुन्छ । प्रायः विद्यार्थीहरूलाई कुन विषयमा कति समय खर्च गर्ने भन्ने थाहा हुँदैन र कतिपय विषयमाथि उनीहरूले ध्यान नै दिंदैनन् । तर यदि उनीहरू कुनै कोचिङ संस्थामा तयारी गरिरहेका छन् भने त्यहाँ शुरू देखि नै परीक्षाको दृष्टिकोणले सबै विषय महत्वपूर्ण हुन्छ भन्ने प्रेरणा दिइन्छ र बताइन्छ कसरी कुन विषयमा कति ध्यान दिनुपर्छ । समयानुसार क्लास टेस्ट र ग्रुप टेस्टको आयोजन पनि गरिन्छ ।

प्रायः के देखिन्छ भने राम्रो गर्ने विद्यार्थीहरू पनि परीक्षा भवनमा गएर नर्वस वा भ्रमित हुन्छन् र अपरिपक्व जवाफ दिएर फर्कन्छन् । यदि विद्यार्थीहरूलाई पहिलेदेखि नै परीक्षा भवनको माहौल तयार गरेर सम्भावित तनावसँग साक्षात्कार गराइयो भने उनीहरू परीक्षा भवनमा नर्वस हुँदैनन् र आफ्नो सम्पूर्ण ध्यान राम्ररी जवाफ लेख्नमा लगाउँछन् । यस कारण परीक्षा भवनको भय निकाल्नको लागि कोचिङ संस्थाहरूले कैयन प्रकारका परीक्षा सञ्चालन गर्छन् ।

आज गाउँदेखि सदरमुकामसम्म कोचिङ कक्षा सञ्चालनमा छ ।  आज कोचिङ संस्थाहरू कुनै पनि परीक्षाको तयारी गराउने अहम् भूमिका निर्वाह गरिरहेका छन् तर कुन कोचिङ संस्थामा आफ्नो सन्तानलाई दाखिल गर्ने भन्ने कुरामा अभिभावकहरूको मनमा सदैव द्विविधा रहन्छ । यस कारण अभिभावकहरूले कुनै पनि कोचिङ संस्थामा आफ्नो सन्तानलाई पठाउनुपूर्व विज्ञापनमा मात्र ध्यान नदिई त्यसको उपलब्धिबारे प्रत्यक्ष पत्ता लगाउनुपर्छ । कोचिड्ढो टापर लिस्टमा जुन विद्यार्थीको नाम हुन्छ ऊ त्यहाँको उत्पादन हो वा होइन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । त्यस संस्थाले कति वर्षदेखि सेवा दिइरहेको छ ? त्यसमा शिक्षाको आधुनिक उपकरणहरूको उपयोग भइरहेको छ वा छैन जस्ता कुराहरूलाई प्राथमिकताका साथ ध्यान दिनुपर्छ । यसबाहेक त्यहाँ गएर एक साताको डेमो लिनुपर्छ जसबाट त्यहाँ कस्तो पढाइ भइरहेको छ बुझ्न सकिन्छ । त्यहाँ पढिसकेका विद्यार्थीहरूसँग छलफल गर्नुपर्छ । प्रायः विद्यार्थी र अभिभावकहरूले यस्ता कुरामाथि ध्यान दिंदैनन् र परिणाम विद्यार्थीहरूले भोग्नुपर्छ ।

विद्यार्थीहरू जति समय कोचिङमा व्यतीत गर्छन् त्यसभन्दा बढी समय घरमा अभिभावक समक्ष बिताउँछन् । यस कारण के आवश्यक छ भने कोचिङ सँगसँगै घरमा पनि उनीहरूलाई पढ्ने वातावरण प्राप्त होस् जहाँ उनीहरू आफ्नो तयारीलाई निरन्तरता दिन सकून् । यस कार्यमा अभिभावकको भूमिका अहम् हुन्छ । यसर्थ अभिभावकहरूले विद्यार्थीहरूलाई पढ्नको लागि प्रोत्साहित गरिराख्नुपर्छ । उत्साहपूर्वक उनीहरूको कमजारीबारे अवगत गराइराख्नुपर्छ । यसबाहेक विद्यार्थीहरूलाई त्यस्ता चीजहरू, जसबाट उनीहरूको तयारी प्रभावित हुन सक्छ,  टाढा राख्ने प्रयास गर्नुपर्छ । अर्थात् कोचिङ संस्थाको तुलनामा अभिभावकको भूमिका धेरै महŒवपूर्ण हुन्छ । दुई–चार घण्टाभन्दा बढी समय विद्यार्थीहरू घरमंै व्यतीत गर्छन् । अर्थात् परीक्षाको वास्तविक तयारी उनीहरू घरमैं गर्छन् । यस कारण समयको सदुपयोगलाई लिएर अभिभावकको भूमिका अहम् हुन्छ ।

कोचिङ्गबाट जहाँ यति फाइदा हुन्छ त्यहीं यसबाट केही घाटा पनि हुन्छ । प्रतिस्पर्धा र सर्वोत्कृष्ट ग्रेड हासिल गर्ने होडले गर्दा बाल्यकालदेखि नै कोचिङ लिन थाल्छन् र यसरी उनीहरूको बाल्यकालको अपहरण हुन्छ । त्यहीं अर्कोतिर विद्यार्थीहरू पहिले विद्यालय जान्छन् त्यसपछि कोचिङमा सामेल हुन्छन् । दुवै ठाउँबाट गृहकार्य गर्न बढी दबाब पर्छ । यसरी विद्यार्थीहरूमा तनाव उत्पन्न हुन्छ । निद्र्रा पूरा हुँदैन र उनीहरू ससाना कुरामा पनि रिसाउन थाल्छन् । यस्ता धेरै अभिभावक छन्, जो सन्तानलाई घरमैं पढाउने गर्छन् र उनका सन्तान कक्षामा टप पनि गर्छन् । यदि तपाईंसँग ज्ञान र समय छ भने यसलाई आफ्नो सन्तानमाथि खर्चिनु बेस हुन्छ अन्यथा कोचिङ पठाएर समय र पैसा बर्बाद गर्नुको कुनै प्रयोजन छैन ।

आज कोचिङ व्यवसाय धेरै मुनाफा दिने व्यवसाय बन्दै गएको छ । गाउँघर वा साना शहरमा हुने कोचिङ व्यवसाय त कोचिङ उद्योगको सानो रूप मात्रै हो । यसको वास्तविक रूप टेक्निकल परीक्षा, जस्तै–मेडिकल, इन्जिनीयरिङ, एमबिए, लोकसेवा आयोगजस्ता परीक्षामा सफल हुनको लागि तयारी गराउने हो । पहिले डाक्टर र इन्जिनीयर बन्ने सपना थोरै विद्यार्थीको हुन्थ्यो, आज सबै विद्यार्थीले यस्तै सपना देख्छन् । त्यसैले आज यी क्षेत्रमा प्रवेश धेरै गार्हो हुन्छ किनभने यसका लागि विशेष परीक्षा दिनुपर्छ र त्यसका लागि विशेष पढाइ पनि गर्नुपर्छ । यस्तो पढाइ कोचिङ सेन्टरमैं हुन सक्छ । हिजोआज राजधानी लगायत ठूल्ठूला शहरहरूमा यस प्रकारका कोचिङ सेन्टरहरू छन् जसले एउटा ठूलै उद्योगको रूप लिइसकेको छ ।

निष्कर्षतः के भन्न सकिन्छ भने कोचिङ व्यवसाय आज ठूलो व्यवसाय बन्दै गएको छ । कोचिङ्गमा पढाउने शिक्षकहरूलाई पनि राम्रो आमदनी भइरहेको छ । अभिभावकहरूले पनि आफ्नो सन्तानमाथि यस प्रतिस्पर्धात्मक युगमा सफल हुने सोचका साथ खर्च गरिरहेका छन् । सबै एक अर्काभन्दा अघि बढ्ने होडमा लागेका छन् । यस कारण राम्रो शिक्षाबेगर केटाकेटीहरूको भविष्य उज्ज्वल हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here