• सञ्जय मित्र

१. विषय प्रवेश

मधेस प्रदेशमा आठ जिल्ला छन् । हरेक जिल्लामा साहित्यकारहरू छन् । हरेक जिल्लाबाट विभिन्न साहित्यिक कृतिहरू प्रकाशन भइरहेका छन् । प्रदेशको साहित्यिक कृतिको विश्लेषण पनि भइ नै रहेको छ । साहित्यका विभिन्न विधामध्ये लघुकथा एक हो । लघुकथाको क्षेत्रमा पनि मधेस प्रदेशमा निकै ठोस कामहरू भइरहेका छन् । लघुकथा प्रतिष्ठानले हरेक दिन साँझमा लघुकथासम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ । लघुकथाका एकल तथा संयुक्त कृतिहरू प्रकाशन भइरहेका छन् । विभिन्न पत्रपत्रिकामा लघुकथा तथा तिनका समीक्षा आइरहेका छन् । प्रदेशबाहिरका विभिन्न मञ्चहरूमा मधेस प्रदेशका लघुकथा प्रकाशित भइरहेका छन् ।

यस्तै, बाग्मती प्रदेशको मकवानपुरमा दर्ता भई प्रकाशनरत लोकभावना वैचारिक तथा साहित्यिक त्रैमासिक पत्रिकाले ६१औं अङ्क ‘लघुकथा विशेषाङ्क’को रूपमा प्रकाशित गरेको छ । यसै अङ्कमा परेका मधेस प्रदेशका लघुकथाहरूको आधारमा ‘मधेस प्रदेशका लघुकथाको विषयगत विश्लेषण’ सङ्क्षिप्त आलेख प्रस्तुत गरिएको छ ।

२. मधेस प्रदेशका लघुकथा

 ‘जनभावना’ त्रैमासिकको ‘लघुकथा विशेषाङ्क’मा मधेस प्रदेश दुर्ई किसिमले आएको छ । बाराका नवराज रिजालले ‘नेपाली लघुकथामा सामाजिक चिन्तन’ शीर्षकमा विशेषाङ्कको आमुख लेखेका छन् । यो नै पत्रिकाको मूल आलेख हो । पत्रिकाको अन्तिममा रौतहटका विवेक वाइवाले ‘अतिथि सम्पादकको कुरो’ शीर्षकमा एउटा लघु आलेख लेखेका छन् । यो अतिथि सम्पादकीय हो । पत्रिकाको यस अङ्कमा वाइवा ‘अतिथि सम्पादक’ छन् ।

यस ‘लघुकथा विशेषाङ्क’मा प्रकाशित लघुकथाका कथाकारहरूको लघुकथाको अन्त्यमा ठेगाना दिइएको छ । अधिकांश रचनाकारको ठेगाना दिइएको भएपनि केही रचनाकारको ठेगाना भने नदिइएको पनि देखिएको छ । रचनाकारले आफैंले नलेखेको वा लेख्न नचाहेको वा लेखेर पठाएको भएपनि प्रकाशित हुन नसकेको हुन सक्छ ।

एक लघुकथाकारका दुर्ई लघुकथा प्रकाशित छन् र दोस्रो लघुकथाको अन्त्यमा ठेगाना दिइएको छ । दिइएको ठेगानाको मधेस प्रदेशका निकै कम लघुकथा परेका छन् । र लघुकथाको अन्त्यमा दिइएको ठेगानाकै आधारमा मधेस प्रदेशका लघुकथाको विषयगत विश्लेषण गरिएको छ ।

पत्रिकामा किशुनदयाल श्रीकृष्ण, गोपाल अश्क, नवराज रिजाल, यमुना प्रधानाङ्ग मुना, यशु श्रेष्ठ, रेणु गुप्ता र सञ्जय साह मित्रका दुर्ई/दुर्ई लघुकथा प्रकाशित छन् ।

किशुनदयाल श्रीकृष्ण रौतहटका सर्जक हुन् । उनको पहिलो लघुकथा हो, इयाद हए हमरा । बज्जिका भाषामा यो लघुकथा रहेको छ । यस शीर्षकको नेपाली अनुवाद हुन्छ– सम्झना छ मलाई । आन्तरिक दृष्टिबिन्दुमा लेखिएको यस कथामा म पात्रलाई  बाल्यकालको सम्झना रहेको छ । यसमा विपन्नता, अज्ञानता र शिक्षित–अशिक्षितको भेदलाई प्रस्तुत गरिएको छ । श्रीकृष्णको दोस्रो लघुकथा हो, इन्टरनेटको दुरुपयोग । यसमा गाउँमा विद्यालयमा निशुल्क इन्टरनेट उपलब्ध भएपछि किशोरवयमा देखिएको विकृतिलाई विषयवस्तु बनाइएको छ । दुरुपयोग नगर भनेर सम्झाउँदा तार नै काटिदिएको सङ्केत लघुकथामा गरिएको छ ।

गोपाल अश्क नेपालमा प्रसिद्ध लघुकथाकार हुन् । उनी पर्सा, वीरगंजका हुन् । उनका लघुकथालाई नेपालमा मानक लघुकथा पनि मानिएको छ । यसमा अश्कको पहिलो लघुकथा हो, चिन्ता । यस लघुकथामा स्वानुभूतिको गन्ध पाइन्छ । एक कर्तव्यनिष्ठ र जिम्मेवार पिताको चिन्ता यसमा देखाइएको छ । यो यथार्थपरक रचना हो । विषय र प्रस्तुति दुवै यथार्थ लाग्छन् । लघुकथाको अन्तिममा आएको प्रश्न, ‘यो किन हुँदोरहेछ ?’ पढेपछि सोझै पाठकको ध्यान शीर्षकतिर तानिन्छ । अश्कको दोस्रो लघुकथा हो, बिग्रिंदै गएको अक्षर । यस लघुकथामा पहिले निकै राम्रो अक्षर हुने एक लेखकको अक्षर बिग्रिंदै गएको प्रस्तुत गर्दै यसले पारेको प्रभावलाई देखाइएको छ । उमेरसँगै धेरै कुरो बग्दोरहेछ अक्षर, सम्बन्ध, प्रवृत्ति । यसैगरी, अक्षरसित जोडिएका हुन्छन्– स्मृति, नाता र समय । अक्षरले दिंदो पनि रहेछ अनेक थोक । यो गम्भीर विषय भएको कथा हो । पाठकलाई आफ्नो जीवनको धेरै क्षणलाई यसले जोड्ने सामथ्र्य राखेको छ ।

बाराका साहित्यकार नवराज रिजाल यस ‘लघुकथा विशेषाङ्क’मा दुईपटक आएका छन् । आमुखपछि रिजालका दुर्ई लघुकथा प्रकाशित छन् । पहिलो लघुकथा हो, परिचय । यस कथामा ऊ पात्रलाई चिन्न नसकेर जथाभावी आरोप लगाइएको छ । नबुझी केवल बाह्य देखाइका भरमा एक किसिमको परिचयको आरोप लगाइहाल्ने मानवीय प्रवृत्तिको पर्दाफास गरिएको छ । मान्छेको परिचय बुझ्न आग्रहभन्दा माथि उठ्नुपर्ने यसमा बताइएको छ । रिजालको अर्को लघुकथा हो, भोक । भोकसित मानिसको सपना पनि बाँचेको हुन्छ । घरको भान्सामा उब्रिएको खानालाई जथाभावी फाल्न नहुने यसमा बताइएको छ । फ्याँक्न लागेको अन्नले भोको पेटमा मुस्कान दिने गरेको मार्मिक पक्षलाई पात्र र परिवेशमार्फत कथामा प्रस्तुत गरिएको छ ।

यमुना प्रधानाङ्ग मुना पर्साकी हुन् । यस अङ्कमा प्रकाशित उनका दुई लघुकथामध्ये पहिलो हो, बुई । प्रतिभाको कदर हुन नसकेको कुरालाई दुर्ई साथीको संवादमार्फत विषयवस्तु बनाइएको छ । दुईजनाले कुराकानी गरिरहँदा तेस्रोले आफ्नो पार्टीमा पनि सोही प्रवृत्ति रहेको अथ्र्याएको छ । प्रतिभाको कदर हुन नसकेकोमा यस लघुकथामा असन्तोष अभिव्यक्त भएको छ । दोस्रो लघुकथा हो, परिणाम । भाषणको सार्थक परिणाम यस कथामा देखाइएको छ । भाषण सुनेपछि भाषणको विषय अनुसार घरभित्र परिवर्तन आएको विषयवस्तु रहेको छ । सबै दृष्टिकोणले यो लघुकथा सार्थक रहेको छ ।

यशु श्रेष्ठ रौतहटका सर्जक हुन् । नेपालमा बालकथाको क्षेत्रमा नवयुवाहरूमा सबैभन्दा बढी कृति निकाल्ने सर्जक हुन् श्रेष्ठ । यस अङ्कमा उनको पहिलो लघुकथा हो, हराभरा । परदेशलाई हराभरा बनाउनमा आफ्नो जीवन अर्पण गरेका एक पात्रलाई देशको सम्झना भएको छ । समय घर्किसकेर पनि देशलाई हराभरा बनाउने बोध हुनुले यो लघुकथा सकारात्मक भावको हुन गएको छ । अर्को कथा हो, फरक मान्छे । विभिन्न चरा तथा पशुसित बस्न मन पराउने एक पात्रको चरित्र यसको मुख्य विषयवस्तु हो । मानिसले धोका दिने तर घरपालुवा पशुपक्षीले भने धोका नदिएको यसमा बताइएको छ । छल गर्ने प्रवृत्तिमाथि अविश्वास रहेको विषयवस्तु यसमा रहेको छ ।

छैटौं लघुकथाकार हुन्, रेणु गुप्ता । रौतहटकी गुप्ताको यस अङ्कमा परेको पहिलो लघुकथा हो, बालअधिकार । समाजसेवीबाटै पनि बालबालिकालाई धोका हुन्छ भन्ने यसमा देखाइएको छ । बालबालिकाका लागि काम गर्ने व्यक्तिले पनि बालबालिकामाथि अन्याय गर्ने गरेको प्रवृत्ति यसमा देखाइएको छ । दोस्रो कथा हो, अनाथ । बसपार्कबाट अनाथालय पुगेको सडक बालकलाई कसैले धेरै माया गर्दा माया गर्नेको अनुहारमा पिताको छवि खोज्ने गरेको मार्मिक विषयवस्तु हो यस कथाको ।

यस अङ्कमा मेरा पनि दुर्ई लघुकथा रहेका छन्, अचम्मको खुशी र मिटरब्याजी । आफ्नै रचना भएकाले यहाँ आफैंले विश्लेषण गर्न उचित लागेन ।

३. समापन

 ‘लोकभावना’ त्रैमासिक पत्रिकाको ‘लघुकथा विशेषाङ्क’मा मधेस प्रदेशका अन्य जिल्लाका रचनाहरू समावेश भएका ठेगानाको आधारमा देखिएको छैन । ठेगाना उल्लेख नभएका कतिपय रचनाहरूमा मधेस प्रदेशका अन्य जिल्लाका रचनाहरू हुन सक्छन् ।

यस ‘विशेषाङ्क’को आधारमा मधेस प्रदेशमा समसामयिक विषयमा बढी लघुकथा लेखिने गरेको स्पष्ट भएको छ । अधिकांश लघुकथा समसामयिक विषयवस्तुमा आधारित छन् । काल्पनिक वा स्वैरकाल्पनिक विषयवस्तुका रचनाहरू छैनन् । प्रकाशित सम्पूर्ण कथामा मानवीय पात्रहरू प्रयोग गरिएका छन् । आन्तरिक दृष्टिबिन्दुमा रचित केही रचनाहरूमा भने ‘नितान्त निजी अनुभूति’ जस्तो लाग्ने गरी प्रस्तुति रहेको छ । बाह्य दृष्टिबिन्दुमा रचित रचनाहरूमा प्रस्तुतिगत पार्थक्य रहेको छ ।

लघुकथाहरूमा बालपात्र, किशोर तथा नवयुवा र प्रौढ सबै किसिमका पात्रहरू आएका छन् । अधिकांश कथामा भौगोलिक परिवेशको प्रस्तुति कमजोर रहेको देखिन्छ ।

समग्रमा मधेस प्रदेशका लघुकथाहरूको विषयगत प्रस्तुति यही हो भन्न सकिने होइन तर यस विशेषाङ्कलाई भने मधेस प्रदेशका लघुकथाको विषयवस्तुलाई आँखीझ्यालको रूपमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here