- सञ्जय मित्र
डा यशवन्त कुमारद्वारा सम्पादित ‘बिहार के लोकतीर्थ’ हिन्दी भाषामा रहेको छ । यस पुस्तकलाई मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउन्डेशनले सन् २०१९ मा प्रकाशन गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपियाँ राखिएको छ । हामीले फोटोकपी गर्ने एफोर साइजमा तर फोटोकपी कागजभन्दा अझ निकै स्तरीय चिल्लो कागजमा, रङ्गीन हार्ड कभर तथा हार्ड कभरलाई छोप्नेगरी रङ्गीन चिल्लो गाता भएको यस पुस्तकभित्रका कतिपय पाना पूर्णतया चिल्लो र रङ्गीन छन् ।
जगत्गुरु स्वामी लक्ष्मणाचार्य, अयोध्याका स्वामी बालमुकुन्दाचार्यजी महाराज, स्वामी शिवजी सिंह तथा मन्त्री, पूर्वमन्त्री, सांसद र विधायकहरूको शुभकामना सन्देश तस्वीरसहित छापिएको यस पुस्तकको बाह्याकृति जति आकर्षक छ, भित्रको विषयवस्तु झन् आकर्षक रहेको छ । पुस्तकको शीर्षक ‘बिहार के लोकतीर्थ’ भनिएको छ र मुख्यगरी बिहार राज्यको सीमाभित्र रहेका ऐतिहासिक, पौराणिक र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानहरूका बारेमा प्रकाश पारिएको छ । तथ्य, लोककथ्य, मान्यता, विश्वास, मिथक र साक्ष्य आदिलाई आधार बनाएर लेखिएका लेखहरू साँच्चिकै पठनीय छन् ।
विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विद्यावारिधि उपाधि हासिल अनि सिद्धहस्त खोजकर्ता, अनुसन्धानकर्ता र लेखकहरूद्वारा विभिन्न ठाउँका बारेमा लेखिएका लेखहरूको सङ्कलनको रूपमा आएको यो पुस्तक आफैंमा विशिष्ट बन्न पुगेको छ । चार दर्जनभन्दा बढी लेख सङ्कलित ‘बिहार के लोकतीर्थ’ अत्यन्तै लोभलाग्दो रहेको छ । महाविधावारिधि (डिलिट्) उपाधिले विभूषित अतिविशिष्ट विद्वान् डा अवधेश्वर अरुणको भूमिकाले यस कृतिको ओज अझ बढाइदिएको छ ।
कृतिको पहिलो आलेख डा कृष्णचन्द्र झा ‘मयङ्क’को रहेको छ– ‘दरभङ्गा महाराज के देवीमन्दिर’ । अलिकति ऐतिहासिक सन्दर्भसहित दरभङ्गामा रहेको माँ श्यामा, माधवेश्वर, रुद्रकाली, कङ्काली आदि मन्दिरका बारेमा विभिन्न सन्दर्भसहित चर्चा गरिएको छ । दरभङ्गाभन्दा ६० किलोमिटर दक्षिण–पूर्वमा अवस्थित कुशेश्वर महादेव र भूतनाथ मन्दिरको विषयमा डा किरणशङ्कर प्रसादले चर्चा गरेका छन् । रामायणमा निकै महत्व दिइएको महिला पात्र अहल्याको बारेमा डा कल्पना कुमारीले ‘अहल्याकी मोक्षभूमि ः अहल्यास्थान’ले सुन्दर चर्चा गरेपछि अझ विस्तृतरूपमा कन्हैया कुमारले ‘महर्षि गौतमका आश्रम एवं कुण्ड’ शीर्षकमा स्पष्ट पारेका छन् । यो स्थान दरभङ्गा जिल्लामा रहेको कमतौल रेलवे स्टेशनभन्दा करीब पाँच किलोमिटर पश्चिम–दक्षिणमा रहेको बताइएको छ । मधुवनी जिल्लामा रहेको प्रसिद्ध शक्तिपीठ उच्चैठ दुर्गा स्थान, कपिलेश्वर महादेव तथा उगना महादेवको बारेमा डा रामविलासले ‘भक्ति और आस्था का प्रतीक उच्चैठ दुर्गास्थान’ शीर्षकमा प्रकाश पारेका छन् । यसैगरी, यसमा मङ्गरौलीकी बुढियामाई, राजनगरकी काली, गिरिजास्थान तथा हरलाखीमा रहेको भगवान् रामको तीरको बारेमा पनि प्रकाश पारिएको छ । मधुबनी जिल्लाकै तीर्थस्थलको बारेमा पत्रकार कपिल झाले ‘शिव और पार्वतीकी क्रीडाभूमि कलुआही’को चर्चा गर्दै रामायण तथा महाभारतकालका विभिन्न सन्दर्भ र साक्ष्यलाई पनि प्रस्तुत गरेका छन् ।
डा शत्रुघ्न राय ‘शशाङ्क’ले समस्तीपुरका केही प्रमुख तीर्थस्थलहरूका बारेमा ‘साम्प्रदायिक सद्भावका प्रतीक ः खुदनेश्वर महादेव’ शीर्षकमा प्रकाश पारेका छन् । बागेश्वरी नन्दन कुँवरले ‘धर्मभूमि चम्पारण’ शीर्षकमा चम्पारणको धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्वलाई स्पष्ट पार्दै वाल्मीकिले रामायणको रचना गरेदेखि सीताले धरणी प्रवेश गरेको स्थलसम्म यहीं रहेको बताएका छन् । यसमा नरदेवी मन्दिर, बेतियाकी काली, केसरिया महादेव, सोमेश्वरनाथ महादेवसहित अरेराज आदिको सुन्दर चर्चा गरेका छन् । यसैगरी, अविनाश कुमारले ‘केसरियाका बौद्धस्तूप’ शीर्षकानुकूल चर्चा गर्दै अन्य केही स्थलका बारेमा पनि प्रकाश पारेका छन् । गणेश सारङ्गले ‘जगत् जननी जानकीकी भूमि सीतामढी’ शीर्षकमा सीताको जन्मभूमि पुनौराधाम, रामजानकी मन्दिर, अन्हारी, उर्विजा कुण्ड, हलेश्वर स्थान, पञ्च पाकड, बाबा नगेश्वरनाथधाम आदिको बारेमा उल्लेख गरेका छन् । रामनिवास शर्माले ‘ईशाननाथ, दमामी’ सीतामढी डुमराबाट २२ किलोमिटर टाढा रहेको रामजानकीसित सम्बन्धित मन्दिरको बारेमा लेखेका छन् । त्रिलोकीप्रसाद शर्माले ‘परशुरामके आराध्य शिवका देकुलीधाम’ शीर्षकमा शिवहर जिल्लामा रहेको देकुलीधामको रामायणसित सम्बन्ध स्थापित गरिएको लेख रहेको छ । सचिन कुमारले ‘कटरागढकी चामुण्डामाता’ शीर्षकमा मुजफ्फरपुर–दरभङ्गा सडकभन्दा अलिकति उत्तरमा रहेको शक्तिपीठलाई केन्द्रित गरी प्रकाश पारेका छन् । डा सञ्जय पङ्कजले ‘सर्वधर्म समभावकी भूमि मुजफ्फरपुर ः यही विराजते हैं बाबा गरीबनाथ’ शीर्षकमा मुजफ्फरपुरमा रहेका विभिन्न धार्मिकस्थलहरूको वर्णन गरेका छन् ।
प्रा राकेश सम्राटले ‘आनन्द भैरवकी भूमि ः भैरवस्थान’लाई चिनाएका छन्, जुन सीतामढीको रून्नीसैदपुरनजीक रहेको छ । डा अल्पना कुमारीले ‘बाबा खगेश्वरनाथ महादेव’ शीर्षकमा मुजफ्फरपुर जिल्लाको मतलुपुर गाउँँमा रहेको करीब तीन हजार वर्ष पुरानो महादेव मन्दिरको बारेमा जानकारी दिएकी छन् भने यसै जिल्लाको पानापुरस्थित भस्मीदेवीको बारेमा सतीश कुमारले प्रकाश पारेका छन् । डा रामेश्वर प्रसादले वसन्तपुरपट्टीको जगन्नाथ स्वामीका बारेमा चर्चा गरेका छन् । वैशाली जिल्लाको ऐतिहासिक, पौराणिक तथा पुरातात्विक परिचय सङ्क्षेपमा प्रस्तुत गर्दै डा यशवन्त कुमारले ‘चौमुखी महादेव’बारे पठनीय सामग्री प्रस्तुत गरेका छन् । यो आलेख निकै परिश्रमपूर्वक तयार पारिएको विशिष्ट रहेको छ । कपिलदेव सिंहले ‘बूढीमाई’ शीर्षकमा वैशाली जिल्लाको चर्चित शक्तिपीठको चर्चा गरेका छन् । सुषमा सिंहले ‘श्री बाबा पातालेश्वरनाथ मन्दिर’ शीर्षकमा वैशालीकै उकबेलपुरमा रहेको शिवमन्दिरको बारेमा चर्चा गरेकी छन् । वैशालीकै कोनहाराघाट पनि प्रसिद्ध तीर्थस्थल हो । यसको सम्बन्ध नेपाल–अङ्ग्रेज युद्धसित पनि रहेको छ । डा अवधेश कुमारले मोक्षदायिनी कोनहाराघाटको बारेमा सङ्क्षेपमा लेखेका छन् भने कुमारी अमीषा सिंहले किंवदन्तीसहित कोनहाराघाटमैं रहेको ‘नेपाली छावनी मन्दिर’ शीर्षकमा प्रकाश पारेकी छन् । हरिपुरमा रामको चरण चिह्न रहेको विश्वासलाई चित्रसहित प्रा अरविन्दकुमार सिंहले ‘श्री रामचौडा मन्दिर’ लेखेका छन् । राकेश कुमारले ‘लक्ष्मीनारायण मन्दिर’ शीर्षकमा वैशाली जिल्लाकै वभनगामा कुडवामा रहेको मन्दिरबारे लेखेका छन् । वैशालीकै ‘लोकदेव बाबा रामपाल’ शीर्षकमा अनिल कुमार तथा ‘माँ शारदाधाम’ शीर्षकमा डा मनोज कुमारले लेखेका छन् । मेलाको लागि प्रसिद्ध सोनपुरमा रहेको ‘बाबा हरिहरनाथ मन्दिर’को बारेमा अजीत कुमारले प्रकाश पार्दै विभिन्न किंवदन्तीहरू पनि प्रस्तुत गरेका छन् । यहीं रहेको ‘नौलखा मन्दिर’को बारेमा रामचन्द्र सिंह त्यागीले प्रकाश पारेका छन् ।
सारणमा रहेका विभिन्न धार्मिकस्थलका बारेमा प्रकाश पार्ने क्रममा शशिभूषण शर्माले सारणको परिचय दिंदै ‘अति पावन है माँ गढदेवीका मन्दिर’ शीर्षकमा चर्चा गरेका छन् । राजा दशरथले गरेको पुत्रयेष्ठि यज्ञसमेतलाई प्रस्तुत गर्दै प्रा अनिलकुमार सिंहले ‘अम्बिका स्थान ः आमी’मा विभिन्न धार्मिक मिथक तथा किंवदन्ती र साक्ष्यहरू प्रस्तुत गरेका छन् । सिवान जिल्लाका दुर्ई प्रमुख तीर्थस्थलका बारेमा प्रा विजयकुमार सिंहले ‘बाबा महेन्द्रनाथधाम’ शीर्षकमा तार्किक लेख प्रस्तुत गरेका छन् । गोपालगंज जिल्लाको अत्यन्त प्रसिद्ध तीर्थस्थलको बारेमा प्रकाश पार्दै डा राजीव कुमारले ‘सबकी सुनती है माँ थावेवाली’ लेखेका छन् । पटनाको प्राचीन तीर्थस्थलको बारेमा डा अरविन्द कुमारले ‘नगररक्षिका ः माँ पटनदेवी’ शीर्षकमा मटनदेवी, महावीरमन्दिर, शीतला मन्दिर, काली तथा अखण्डवासिनी आदि स्थानबारे स्पष्ट पारेका छन् । मगध नरेश जरासन्धका पिता वृहद्रथले सधैं पूजा गर्नेको मन्दिर ‘वैकटधाम’को बारेमा राजकुमार राजुले प्रकाश पारेका छन् भने विश्वप्रसिद्ध स्थल नालन्दाको बारेमा वीरेन्द्रकुमार ओझाले ‘नालन्दा के कण–कण में हैं बुद्ध और महावीर’ शीर्षकमा सङ्क्षेपमा शीर्षकानुकूल विषयवस्तुलाई प्रस्तुत गरेका छन् । भोजपुर जिल्लाको सदरमुकाममा रहेको प्रसिद्ध तीर्थस्थलको बारेमा प्रा तृप्ति सिंहले ‘आरा ः आरण्य देवी’ शीर्षकमा प्रकाश पारेकी छन् । डा रणवीरकुमार ‘राजन’ले ‘राममय है बक्सर ः अद्भुत हैं यहाँकी पञ्चकोशी यात्रा’ शीर्षकमा अत्यन्त खोजपूर्ण आलेख प्रस्तुत गरेका छन् । यसैगरी, डा धनञ्जय सिंहले ‘कल्याणमयी है माँ अस्कामिनी’ शीर्षकमा सूर्यवंशी राजा हरिश्चन्द्रका छोरा रोहिताश्वद्वारा स्थापित जिल्ला रोहतासको बारेमा पनि प्रकाश पारिएको छ । त्यहाँ अवस्थित शक्तिपीठ भुलनीधाम, गुप्तेश्वरधाम, गुप्ताधाम, तुतला भवानी, रोहितेश्वर मन्दिर, ताराचण्डी आदिबारे परिचयात्मक प्रस्तुति दिइएको छ ।
कैमुर जिल्लामा रहेका विभिन्न धार्मिकस्थलका साथै पहाडमा रहेका मन्दिरहरूका बारेमा चर्चा गर्दै मृदुला रानीले ‘कैमूरकी मा मुण्डेश्वरी’ शीर्षकमा महिमा पनि गाएकी छन् । कपिलेश्वर शर्माले ‘मुक्तिनाथ गया’ शीर्षकमा अति नै प्रसिद्ध गया जिल्लाका तीर्थस्थलहरू यथाः विष्णुपद मन्दिर, मङ्गला गौरी तथा बोधगयाको बारेमा बताइएको छ । यसैगरी, सोनपुरमा रहेको कालीमन्दिरको पौराणिकताको बारेमा डा रामप्रसाद सिंहले ‘कालीमन्दिरकी पौराणिकता’ शीर्षकमा प्रकाश पारेका छन् । विभिन्न पौराणिक सन्दर्भलाई प्रस्तुत गर्दै प्रभाकर शर्मा ‘शास्त्री’ले ‘पञ्चतीर्थधाम’ जुन अरवल जिल्लामा रहेको छ, तर्कपूर्ण चर्चा गरेका छन् । अरवलकै पूर्वमा रहेको लारी गाउँँलाई धार्मिक दृष्टिले महत्वपूर्ण रहेको बताएका छन्– मनोज कुमार ‘कमल’ले ‘सतीनगरी लारी’ शीर्षकमा । यसैगरी, डा यशवन्त कुमारले औरङ्गाबाद जिल्लामा रहेको एक ठाउँ उमगा पहाडको ऐतिहासिक तथा पौराणिक महत्व बताउँदै सान्दर्भिक आलेख लेखेका छन्– ‘अति पावन है उमगा पहाड ः यहीं विराजती है माँ उमगेश्वरी’ शीर्षकमा । मगध जिल्लाको बराबर गाउँमा विश्वजीतकुमार ‘अलबेला’ले ‘सिद्धनाथकी भरती – बराबर’ शीर्षकमा प्रकाश पारेका छन् । यसैगरी, जहानाबाद जिल्लाको देवकुण्डको बारेमा महेन्द्रप्रसाद ‘देहाती’ले, डा यशवन्त कुमारले ‘जातिगत मन्दिरोंका गाँव ः सीतामढी’ शीर्षकमा बिहारको नवादा जिल्लामा रहेको सीतामढी नामक एक गाउँँको धार्मिक महत्वको बारेमा प्रकाश पारेका छन् । डा सुनयना रायले बिहारमा रहेका विभिन्न छवटा प्राचीन सूर्यमन्दिरका बारेमा ‘लोक–वेद मान्य महानायक सूर्य’ शीर्षकमा अत्यन्त खोजमूलक लेख प्रकाशित गरेकी छन् ।
यसरी ‘बिहारके लोकतीर्थ’ पुस्तक आफैंमा एक विशिष्ट ग्रन्थ बन्न पुगेको छ । हरेकले आफ्नो ठाउँको ऐतिहासिक, पौराणिक तथा धार्मिक महत्वको बारेमा थाहा पाउनुपर्छ । पुराना जानकारीहरू एक ठाउँमा सङ्कलन गरेर भावी पुस्ताका लागि प्रस्तुत गर्न सक्नु तथा एक ठाउँको बारेमा रहेको जानकारी अन्यत्रका जानकारहरूमाझ पुर्याउन सक्नुलाई निकै ठूलो कार्य मान्नुपर्छ । यस अर्थमा बिहारका विभिन्न धार्मिकस्थलहरूका बारेमा लेखिएको र प्रकाशन गरिएको यो कृति साँच्चीकै विशिष्ट रहेको छ । हरेक जिल्लाको नक्शा पनि राखिदिएको भए तथा प्रदेशको राजधानी पटनादेखि ती जिल्ला तथा स्थानको दूरी पनि राखिदिएको भए यस कृतिमा सुनमा सुगन्ध थपिने थियो । र पनि यस प्रकार आफ्नो पालिका, जिल्ला तथा प्रदेशका प्रमुख स्थलहरूको ऐतिहासिक, धार्मिक, पौराणिक महत्वका बारेमा कृति प्रकाशन गर्नुपर्ने प्रेरणा यस कृतिले सबैलाई दिन सफल भएको छ ।