- बैधनाथ श्रमजीवी
कुनै बेला शिक्षालाई ज्ञानको विषयवस्तुको केन्द्रबिन्दुमा राखेर सोच्ने गरिन्थ्यो तर अहिले यो वैचारिकी एकादेशको कथा हुन गएको छ । यतिबेला अभिभावकदेखि विद्यार्थीसम्म सबैले के सोच्ने गर्छन् भने कुन शिक्षा पढाउँदा अथवा पढ्दा भविष्यमा बढीभन्दा बढी पैसा कमाउन सकिन्छ । वास्तवमा भन्ने हो भने पूँजीवादी शिक्षाले लामो समयसम्मको षड्यन्त्रमूलक प्रशिक्षणबाट यस्तो भाष्य तयार पारेको छ – जीवन भनेको पैसा हो र पैसाविना उत्तम जीवन जिउन सम्भव नै छैन ।
झट्ट हेर्दा यो विषय सा¥है नै राम्रो देखिन्छ तर वास्तवमा यो निकै घातक र स्वार्थले भरिएको एउटा गम्भीर षड्यन्त्र हो । पूँजीपतिवर्गको लागि उसको पक्षपोषण गर्दै निजी सम्पत्तिलाई चिरकालसम्म स्थायित्व दिने कुरा त्यसभित्रको अन्तर्यमा रहस्यमय ढङ्गबाट लुकेको देखिन्छ । यस प्रकारको भनाइले पूँजीवादले आफूलाई अमरत्व प्राप्त गर्ने तथा श्रमजीवी जनतालाई युगौंसम्म दुःखको भुमरीमा फसाइराख्ने खेलको कुरा यहाँ गम्भीरतापूर्वक आत्मसात् गर्न सकिएन भने वास्तविकताबाट निकै टाढा पुगिन्छ र लाग्न थाल्छ वास्तवमा पैसाविनाको जीवन बेकार हो । त्यसले मानव समाजमा सामूहिकता, सद्भाव तथा समुदायप्रतिको एकत्वको विरुद्ध सबैलाई निजी स्वार्थ र अवसरवादी चरित्रको जनशक्ति तयार पार्ने काम गरेको छ । वास्तवमा पूँजीवादको यो भाष्य कस्तो हो भने गुलियो विष जस्तै हो । यसले बिस्तारै समाजलाई ध्वस्त पारेको छ तर उसलाई थाहा पनि छैन ।
त्यसैले यतिबेला संसारभरिका विद्यालयहरूमा दिइने शिक्षाले विद्वान् उत्पादन गर्नुको सट्टा पूँजीवादलाई चाहिएको बिकाउ र टिकाउ मानवरूपी माल उत्पादन गरिरहेको छ । पूँजीवादी राज्यसत्ताले गरेको निजी सम्पत्तिको व्यवस्थाले समाजभित्र व्यक्तिले जति पनि सम्पत्ति राख्न सक्ने राजनीतिक पृष्ठभूमि कानूनीरूपमा नै तयार पार्ने भएकोले समाजका सबै वर्ग, तह, तप्का पूँजीको निमित्त अस्वस्थ प्रतिस्पर्धामा लागेका देखिन्छन् । पूँजी प्राप्त गर्नको लागि जुनसुकै काम गर्न प्रत्येक व्यक्ति तम्तयार भएर एकाबिहानै घरबाट अबेला राति फर्किने गरी निस्केको देखिन्छ । यसरी अकुत पूँजी प्राप्त गर्नको लागि वैध अवैध सबै प्रकारका कामहरूमा प्रायः सबैजसो व्यक्ति पूर्णरूपमा संलग्न रहेको सजिलै देख्न सकिन्छ । यस प्रकारको अस्वस्थ प्रतिस्पर्धामा सरकारको सबैभन्दा माथिल्लो कुर्सीमा विराजमान ब्यूरोक्रेट्सदेखि राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरूको समेत खुल्लमखुल्ला संलग्नता रहेको देखिन्छ । अनैतिक बन्ने यस होडमा सबैभन्दा बढी अनुकूलता संसदीय राजनीतिले बढी सुगमता र सहजता प्रदान गरेको छ । प्रजातन्त्र, गणतन्त्र तथा सङ्घीयताको नाममा दलाल पूँजीवादी व्यवस्थाले विकास र समृद्धिको ललीपप बाँडेर वास्तवमा कमिशन तथा भ्रष्टाचारको संस्थागत जालो बलियो ढङ्गले फैलाएको छ । चौतर्फीरूपमा भ्रष्टाचारी बन्न अभिप्रेरित गर्ने वातावरण निर्माण गरेर दलाल पूँजीवादी व्यवस्थाले कथित प्रजातान्त्रिक तथा गणतान्त्रिक काङ्ग्रेस र कम्युनिस्ट नामधारी संसद्वादमा चुर्लुम्म डुबेका पार्टीहरू जनताको नेता अथवा जनप्रतिनिधिहोइन, बरु वास्तवमा यिनीहरूको मुख्य नेतृत्व पूँजीवादी व्यवस्थाको दलाल मात्रै हो भन्ने कुरा जनताले अझैपनि बुझिसकेको छैन । तथाकथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्था अहिले कस्तो छ भने राजनीतिकरूपमा पूर्णतः यो जनविरोधी भइसकेको छ । आर्थिकरूपमा समेत यो दलाल पूँजीवादी व्यवस्थाले देशको अर्थतन्त्रमा यस्तो नकारात्मक अवस्था उत्पन्न गरेको छ कि देशभित्र कुनैपनि वर्ग, तह, तप्काका व्यक्ति बस्न रुचाउँदैनन्। कसैलाई पनि आफ्नो भविष्य उज्वल देश भित्र देखि रहेको छैन । फलस्वरूप अस्सी लाख भन्दा बढि नागरिक नेपाल बाहिर गइसकेका छन् ।
कुनैपनि मुलुकलाई बिगार्नु छ भने सबैभन्दा पहिले त्यस देशको शिक्षालाई बिगार्नु पर्छ किनभने शिक्षा बिग्रेपछि त्यो देश आफै बिग्रिन्छ । यो सिद्धान्त दलाल पूँजीवादी व्यवस्थाले संसारभरि लागू गरेको देखिन्छ । नेपालमा यतिबेला सामुदायिक र निजी गरी दुई प्रकार विद्यालय देखिन्छ जहाँ सामुदायिक विद्यालयमा सरकारको अर्बाैं रुपियाँँ लगानी छ त्यो त्यहीँ निजी विद्यालयमा केही लाख लगाएर सञ्चालकहरू अर्बाैं कमाउन सफल रहेको देखिन्छ । वास्तवमा निजी विद्यालयहरूमा बाहिरबाट हेर्दा शैक्षिक माफियाको रूपमा अरूको अनुहार देखिएपनि वास्तविकता त्यो होइन । किनभने सरकारमा रहेका ब्युरो क्रेट्सहरू, राजनीतिक दलका नेताहरूको निजी शिक्षामा बढी भन्दा बढी लगानी रहेको गरेको अवस्थालाई इनकार गर्न सक्ने अवस्था छैन । यस्तोमा निजी शिक्षा कमाई खाने भाडोको रूपमा स्पष्ट रूपमा स्थापित हुँदै गएको छ । मुख्यतः शिक्षामा अध्ययन गर्न आइपुगेका सिधा सोझा अभिभावकहरू दोहोरो मारमा पर्ने गरेका छन् । एकातर्फ उनीहरूको ढाड अत्यधिक महंगो शिक्षाले सेक्ने गरेको छ भने अर्काेतर्फ त्यहाँबाट उत्पादित माग दलाल पुँजीवादी व्यवस्थाको दास बाहेक केहिपनि रहने गरेको छैन । उनीहरूमा न त स्वाभिमान नै भेटिन्छ न त नैतिकता नै ।
हिजोआज सबै विद्यालयहरू अध्ययनअध्यापन को हिसाबले कमजोर अवस्थामा देखिन्छ । यसको मुख्य दोष दलाल पुँजीवादी व्यवस्थामा आएको संकट हो । वास्तवमा निजी विद्यालयहरू केवल मुनाफा मुखी चिन्तन अक्तियार गर्न थालेपछि पठनपाठन प्रभावित हुनु स्वभाविक हो । जहाँसम्म सामुदायिक विद्यालयको दिनप्रतिदिन खस्किँदै गएको शैक्षिक गुणस्तरको कुरो हो यसकोलागि मुख्य जिम्मेवार नेपालको सरकार नै रहेको देखिन्छ । पहिलेका जिल्ला शिक्षा कार्यालयहरू यतिबेला बुख्याचा भन्दा अरू कुनै भुमिकामा देखिन्न । स्थानीय तहको निगरानीमा शिक्षा गएपछि पहिलेजस्तै फेरि शिक्षामा राजनीति हाबी हुन गएको छ । यसले गर्दा सामुदायिक विद्यालयहरू जो पहिलेदेखिनै भौतिक समस्या, आर्थिक समस्या, दरबन्दीको समस्या, शैक्षिक सामग्रीको कारणले शैक्षिक गुणस्तर उठाउन सकेको थिएन् यो समस्या झन् झन् बिकराल बन्दै गएको देखिन्छ ।
शिक्षा मन्त्रालयको एक अध्ययन प्रतिवेदनमा २३ जिल्लामा गरिएको अनुसन्धानमा अङ्ग्रेजीमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि ३८ छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीको ७३.१ छ । आठवटा जिल्लामा काठमाडौंका विद्यार्थीको अङ्ग्रेजीमा सबैभन्दा राम्रो पाइएको छ भने काठमाडौं, भक्तपुर, ललितपुर, झापा, नवलपुरासी, इलाम, धादिङ, मोरड्ढा विद्यार्थीले मात्रै औसत अङ्क प्राप्त गरेका छन् ।
केन्द्रले सामुदायिक विद्यालयका नौ हजार ८५० र निजी विद्यालयका तीन हजार २९६ विद्यालयका विद्यार्थीको परीक्षण गरेको थियो ।
त्यसैगरी, सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको सिकाइ उपलब्धि अन्य विषयमा पनि उच्च रहेको छ । कक्षा ३ को गणितमा औसतभन्दा कम ११ जिल्लाका विद्यार्थीले औसत अङ्क पनि ल्याउन नसकेको अध्ययनमा उल्लेख छ ।
परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको छ । त्यसैगरी, गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको छ भने कक्षा ५ को सिकाइ उपलब्धि पनि खस्किँदै गएको छ ।
केन्द्रका अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४६ मा झरेको छ । गणितमा ५३ बाट खस्किएर ४८ मा पुगेको छ भने अङ्ग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकामा गत वर्षको अध्ययनमा ४७ मा झरेको प्रतिवेदनमा उल्लेख छ । केन्द्रले २३ जिल्लाका एक हजार ५४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो भने कक्षा ५ का २३ जिल्लाका एक हजार ५४३ विद्यालयका ४० हजार १५ जना विद्यार्थीको सिकाइ परीक्षण गरेको थियो ।
यसरी हेर्दा विद्यालयहरू चाहे सामुदायिक होस् अथवा संस्थागत शैक्षिकस्तर प्रशंसायोग्य कतै पनि छैन । नेपाली विषय जहाँ संस्थागत विद्यालयहरूमा निकै कमजोर सिकाइ उपलब्धिको अवस्थामा देखिन्छ भने सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी विषयको सिकाइ उपलब्धि चिन्ता गर्नुपर्ने तहमा रहेको छ । यसरी शिक्षाप्रतिको दृष्टिकोण ठीक नहुँदा वास्तवमा विद्यालयहरू चाहे संस्थागत होस् वा सामुदायिक दुवैको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको मात्रै होइन कि शैक्षिक व्यवस्था नै असफल हुन लागेको देखिन्छ । फलस्वरूप यतिबेला विदेशमा पढ्न जाने विद्यार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ। जुन राष्ट्रको लागि अहितकर नै छ ।