• सञ्जय मित्र

यात्रामा आउने बस्तीका नामहरूले पनि कहिलेकाहीं ध्यान तान्ने गर्छन् । यात्राका क्रममा आइरहने बस्तीका नामले भने साथीहरूबीच चर्चा पनि पाइरहेको हुन्छ । कहिलेकाहीं आफ्नै गाउँठाउँको नाम पनि आउँछ, अनजान ठाउँमा । आफ्नै गाउँ वा आफ्नै गाउँको आसपासका बस्तीको नाम आउँदा कताकता आफ्नोपनको अनुभूति पनि हुन पुग्छ । कुन बस्ती आयो र गयो भन्ने सामान्यतया थाहा हुँदैन तर परिचित नामको बस्ती आउनासाथ ध्यानाकृष्ट भइहाल्दो रहेछ । हिंड्दाहिंड्दै पनि परिचित बस्तीसित यसको के मेल खान्छ भनेर विचार पनि आइहाल्छ र हेर्न थाल्छौं रूख, चोक, गल्ली, घरको बनावट, मानिसहरूको पहिरन र सम्भव हुँदासम्म अन्य पक्ष । केही नभए पनि सडकको तुलना गर्दै अगाडि बढिरहँछौं ।

धेरै त होइन, यात्राको क्रममा भारतको बिहार, झारखण्ड, पश्चिम बङ्गाल, असम, उडिसा, चेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश तथा मध्य प्रदेशका केही जिल्लाहरूको भ्रमण भएको छ । अधिकांश भ्रमण साथीहरूको साथमा गरेको छु । साथीहरूसित वर्षको एक/दुई पटक सानो र ठूलो भ्रमणमा निस्कने गरेको छु । ठूलो भ्रमण साउनमा बाबाधामको यात्रा सँगसँगै हुने गर्छ । भारतको बिहार राज्यको सुल्तानगंजस्थित उत्तरवाहिनी गङ्गा नदीमा जल लिएर झारखण्डको देवघरस्थित रावणेश्वर महादेवमा जलार्पण गरी कतै एकातिरको यात्रा गर्ने गर्छौं । यसरी यात्रा गर्दा सम्भव भएसम्म पहिले नपुगेको ठाउँसम्म जाने र सम्भव भएसम्म नयाँ ठाउँ हेर्ने हाम्रो ध्येय हुने गर्छ । यसपटक पनि यस्तै भयो र यसपटक भने पहिले कहिल्यै नाम नसुनेका धेरै ठाउँका भ्रमण ग¥यौं । नाम चलेका तीर्थस्थलहरू पनि पहिलेभन्दा अलिक बढी नै पुग्यौं । एक/दुई ठाउँले भने गज्जबसित नामको संयोग मिल्न पुग्यो ।

बिहारमैं एउटा चोकको नाम गौरा देखियो । गौरा देख्नासाथ दुई कुराको सम्झना भयो– रौतहट सदरमुकाम गौर र गौरापर्व । जिस्कने क्रममा भनिहालें पनि गौरा दुई किसिमले स्त्रीलिङ्ग हुने देखिन्छ । पहिलो यो कि गौरा भन्नासाथ शिवकी पत्नीलाई बुझिन्छ, जसलाई गौरी पनि भनिन्छ । दोस्रो यो कि गौर शहरकी पत्नी हुन् गौरा । दोस्रो चाहिं पूर्णतया जिस्क्याइँमात्र थियो । गौरको स्त्रीलिङ्गी गौरा भनेर । गौर बजारको तुलनामा गौरा बस्ती निकै सानो देखेका थियौं, सानो चोकजस्तो । भित्र कतै ठूलो गाउँ वा बस्ती थियो होला तर जति देख्न पायौं, त्यत्तिलाई मात्र आधार लिन सक्यौं ।

गौरामा साथीहरूले पान खाए, चिया खाए । थकाइलाई अलिकति विश्राम दिए । यात्राको क्रममा गाडीको चालकलाई निद्रा नलागोस् भन्नेतिर पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । चालकलाई अल्छी लाग्नासाथ गाडी एकातिर साइड नगरी हुँदैन । साइड गरेपछि यात्रामा रहेका सबैजना गाडीबाट ओर्लेर थोरै समयमा गर्नुपर्ने कामहरू पनि सिध्याउँछन् । जब चालकले अलिकति ताजा अनुभूति गर्न थाल्छ, तब फेरि यात्रा शुरू हुन्छ । गौरामा यस्तै पुग नपुग आधा घण्टा व्यतीत गर्छौं ।

केही दिनपछि हुन्छौं उत्तर प्रदेशमा । उत्तर प्रदेशको राजधानी लखनऊ कटिसकेका छौं । अझै दुई रात उत्तर प्रदेशमैं बस्नुपर्नेछ । अनि यात्रा शुरू हुन्छ मध्य प्रदेशको । उत्तर प्रदेशको यो यात्रा विशेष भएको छ । आजको रात बसाइँ हुन्छ यस्तो ठाउँमा जसको नाम कहिल्यै सुनिएको छैन । बस्नको लागि ठाउँको खोजी गर्दै अगाडि बढ्दै जाँदा करीब एक सय किलोमिटरको यात्रा तय गरिसकेका छौं । यात्रामा यस्तो भइरहन्छ । धेरै रात परिसकेको छैन तर पानी परिरहेको छ र सडककै छेउछाउमा बस्ने ठाउँको खोजी गरिरहेका छौं । यसै क्रममा यो ठाउँमा आइपुगेका छौं ।

यस ठाउँको नाम कतै लेखिएको भेटिंदैन । हरेक पसलको आफ्नो बोर्ड छ तर बोर्डमा अचम्म तरीकाले ठाउँको नाम नलेखिएको एकरूपता रहेको छ । ठाउँको नाम थानाको बोर्डमा लेखिएको देखिन्छ– मोतीनगर । थानानजीकै मुख्य सडककै छेउमा एउटा लजमा बसोबास भएको छ । खाना पकाउनको लागि तरकारी किन्न बजार निस्कन्छौं । यसरी निस्कँदा अलिकति थप ठाउँ हेर्न सकिन्छ र बोलीचाली तथा व्यवहार र स्थानीय वस्तुसित साक्षात्कार हुन्छ भन्ने मलाई लागिरहन्छ । अझै सिमसिम पानी परिरहेको छ । हल्का रात पनि झर्न लागेको छ । यसले गर्दा जो जस्तो अवस्थामा छ, ऊ आफ्नै किसिमले आफ्नो निवासतिर दौडिरहेको छ । एकदम गतिशील साँझ देखिएको छ ।

तरकारी किन्नको लागि चौराहामा पुगिसकेका छौं । ठेला र गुम्ती पसलमा हरिया तरकारीहरू छन् । साँझको समय भइसकेकोले कतिपय तरकारी सकिन लागेका छन् । मोतीनगर चौराहाभरि रहेका बिसौं तरकारी पसलमा मूला भने पाइन्न । त्यहीं थाहा भयो टमाटरको मूल्य निकै बढिसकेको रहेछ, दुई सय रुपैयाँ किलो ।

पकाउनलाई तरकारीको व्यवस्था गरेर लजमा फक्र्यौं । त्यहाँ खाना पकाउने व्यवस्था हुन थाल्यो । र फेरि पनि खोजी हुन थाल्यो मूलाको । एकपटक अरू बजार जानुपर्ने भयो । यसपटक अलिकभित्रसम्म पनि पुग्नुपर्ला कि ? यो नियोजित आवश्यकता थियो । अघि बजार जानेमध्ये एकजनालाई चिया नखाइ भएको रहेनछ । यसले गर्दा नियोजितरूपमा फेरि खोज्न जानुपर्छ भन्न थालेपछि निस्केका हुन्छौं । एउटा गल्लीमा बोर्डमा लेखिएको हुन्छ– गौर । अचम्मित हुन्छु र त्यसको फोटो खिच्ने प्रयास गर्छु । गौर टाइपिङ इन्स्टिच्युट– यही लेखिएको छ ।

अहिले त हूबहू मिल्न पुगेको छ । फोटो खिच्ने प्रयास गर्छु । अँध्यारोले छेक्न खोज्छ । मोबाइलले फोटो खिच्दा दुई/चार जनाले देखिसकेका छन् । केही पाइलो अगाडि बढेपछि रोकेर एकजनाले प्रश्न ते¥स्याउँछन्– किन फोटो खिचेको ? अर्कोले एउटा शब्द थपेर प्रश्नलाई अगाडि बढाउँछन्– किन त्यस घरको फोटो खिचेको ?

साधुको भेषमा छ । जवाफ दिन्छु–घरको हैन, बोर्डको फोटो खिचेको हुँ । बोर्डमा गौर लेखिएको छ । हामी पनि गौरनजीकैका हौं । हाम्रो जिल्लाको सदरमुकाम गौर हो । यहाँ यो गौर भनेको के हो ?

गौर एउटा जात हो । गौरलाई गौड पनि भन्छन् । अन्य एक/दुई उदाहरण दिन्छन् । चार/पाँच जना छन् । सिमसिम पानी परिरहेकै छ । म बाहिर उभिएको छु । साथीहरू अगाडि बढिसकेका छन् । तिनीहरूले मलाई अझै केही जातको नाम भनिरहेका छन् । सबै परिचित जातकै नाम हुन् । आज जसको लजमा बसेका छौं, तिनी हुन्– तेली । हाम्रो टोलीमा पनि आधा मानिस तेली छन् । उनी धेरै खुशी हुन्छन् । सक्दो सेवा गर्ने प्रयास गरेका हुन्छन्, सुविधा थप्ने प्रयास गरेका हुन्छन् । निकै सदाशयतापूर्वक तिनको व्यवहार देखिन्छ ।

तिनीहरूलाई शङ्का लागेको हुन्छ । कुनै अफिसको मानिस होला बोलबमको भेषमा । बोलीबाट यही थाहा भयो । फोटो खिच्नेबेलामा त्यहाँ केही सेकेन्ड अलमल गर्दासम्म केही बोलेका थिएनन् तर पछि थोरै केरकार गर्न खोजेका थियौं । आफूहरू नेपाली भएको बताएपछि बोलबमप्रति हुनुपर्ने भाव तिनीहरूमा देखिन थाल्छ । फोटो खिच्दा अप्ठ्यारो पर्छ कि के हो ? मनमा अलिकति पर्न थालेको थियो तर मैले जस्तै तिनीहरूले पनि जानकारी लिन खोजेका रहेछन् ।

यात्रामा पनि कसैको निजी घर वा पसलको फोटो खिच्दा धेरैले फोटो खिच्नुको कारण जान्न खोजिरहेका हुँदारहेछन् । हामी भने आफूलाई ज्यादै परिचित वा ज्यादै अपरिचित वस्तुको फोटो खिच्न मन पराउँछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here