• सञ्जय मित्र

हरेक वर्ष कृष्णाष्टमीलगत्तै आउने शुक्रवारदेखि आइतवारसम्म गणिनाथ–गोविन्द भगवान्को पूजा गरिन्छ । कानू, हलुवाई, मधेसी आदि जातीय समूहको कुलदेवता वा कुलगुरुको रूपमा पूजित गणिनाथ–गोविन्द भगवान्को पूजा निकै धुमधामका साथ गरिन्छ । यसै अवसरमा बाबा गणिनाथको जीवनीगत परिचय यहाँ प्रस्तुत छ ः–

वर्तमान भारत बिहार प्रान्तको वैशाली जिल्ला अन्तर्गत पर्ने महनारमा श्री मंसाराम गङ्गा नदीको किनारमा आफ्नी पत्नीका साथ बस्दथे । कुनै सन्तान थिएन । मंसाराम सात्विक विचारका थिए । उनी आफ्ना अन्य सामाजिक कार्यका साथै भगवान् शिवको उपासना निकै ध्यानमग्न भएर गर्दथे । भगवान् शिव उनको उपासनाले प्रसन्न भई सपनामा आएर भने – तिम्रो उपासना पूरा भयो । अर्को दिन उनी जङ्गलमा गए, एउटा नवजात शिशु देखे । शिशु मधुर मुस्कान छरिरहेका छन, उनको आभामण्डलबाट अद्वितीय, अलौकिक, दिव्य शक्तिको प्रकाश निस्किरहेको छ । पीपलको रूखबाट उक्त बालकको अलौकिक प्रभावको कारण मधु चुहिन थाल्यो । बालकले मधुपान गरे । बालकको तेजबाट सम्पूर्ण वनका जीवजन्तु खुशी भएर यताउति विचरण गर्न थाले । श्री मंसारामले उक्त बालकलाई आफ्नो घर लिएर आए ।

बालकको दिव्य शक्तिको प्रभावले सम्पूर्ण गाउँले आश्चर्यचकित थिए । उनले बालकरूपमा नै चमत्कार देखाउन शुरू गरे । मंसाराम आफ्ना स्वाजातीय तथा स्वजनहरूलाई भोज खुवाउन चाहन्थे तर उनको गरीबीले बाधा उत्पन्न गरिरहेको थियो । बालकले आफ्ना पालकपिताको चाहना पूरा गर्न निमन्त्रणपत्र लेखे र आफ्नो शक्तिले सबैकहाँ पुर्याए ।

भोजको तयारीको लागि भाँडो आवश्यक हुन्छ । मंसाराम कुम्हारकहाँ गए, जो उनको गरीबीसित परिचित थिए । उनले भाँडा दिन अस्वीकार गरे । बालकले आफ्नो लीला देखाए । जब कुमालेले माटोको भाँडा पोल्नको लागि आवा लगाए, आवामा आगो नै बलेन । कुमालले आफ्नो ईश्वरको स्मरण गरे अनि तुरून्तै आफ्नो गलतीको अनुभूति भयो । त्यसपछि उनी बालकको शरणमा गए । बालकले भने– तिम्रो आवामा आगो बल्यो । अनि कुमालले माटोको भाँडो बनाएर दिए । मंसाराम ग्वालाकहाँ गए । ग्वाला एउटा आँखाले कानो थिए । उनले भने– दूध छैन । बाच्छीले दूध दिंदैनन् । बालकले फेरि लीला देखाए जसले गर्दा बाच्छीहरूले दूध दिन थाले । साथै ती ग्वालाको आँखा पनि ठीक भयो । मंसारामको घरमा अलिकति चामलको खीर (तसमई) पकाइयो । खीरको मात्रा देखेर मंसाराम चिन्तित भए, के यति खीर सबैलाई पुग्ला ? तर त्यहाँ पनि बालकको लीला नै थियो कि तसमई जति खाँदा पनि सकिएन । बालकको चमत्कार देखेर सबैले एकै स्वरमा भगवान् शिवको जय–जयकार गरे । त्यसपछि बालकको नाम गणिनाथ राखे ।

बालक गणिनाथ तपस्याको लागि हिमालय गए । अठार वर्षको तपस्यापछि गणिनाथ फर्केर आए । तपस्याबाट उनले अष्टसिद्धि तथा नौ निधिमाथि महारथ हासिल गरे । उनी घर फर्केपछि यज्ञको आयोजन गरियो । बाबा गणिनाथले समाजलाई चार उपदेश दिए – वेदको अध्ययन गर । सच्चाइ र धर्मको पालन गर । काम, व्रmोध, लोभ, अभिमान तथा आलस्य त्याग गर । समाजमा नारीको मान सम्मान र रक्षा गर ।

बाबाको उपदेश आसपासका क्षेत्रका सबैले सुन्न थाले, सुन्न आउन थाले । उनको आशीर्वाद प्राप्त गरेर सबैको कष्ट दूर हुन थाल्यो । वैशालीका राजा धर्मपाल पनि उनका शिष्य भइसकेका थिए ।

एक समयको कुरो हो । राजाका छोरालाई सर्पले टोक्यो । सर्पले टोकेपछि राजाको छोरो मर्यो । राजाले बाबाको स्मरण गरे । बाबाले राजाको छोरालाई जीवित तुल्याए र दीर्घायुको आशीर्वाद पनि दिए । राजाले बाबाको आश्रमको लागि पलवैयाको सम्पूर्ण भूमि बाबाको चरणमा समर्पित गरे । त्यस राज्यका साराले खुशी भएर बाबा गणिनाथको जय–जयकारको उद्घोष गरे ।

कालान्तरमा बाबा गणिनाथले राजा चव्रधरकी पुत्री क्षेमासित विवाह गरे । बाबा गणिनाथ जस्तै क्षेमा पनि धर्म र धर्मको रक्षा गर्ने स्वभावकी थिइन् । क्षेमालाई खेमा नामले पनि चिनिन्छ । गणिनाथ र क्षेमाबाट तीन छोरा र दुई छोरी गरी पाँच सन्तान– क्रमशः रायचन्द्र, श्रीधर, गोविन्द, सोनमती र शीलमती भए । पाँचै दाजुभाइ–दिदीबहिनी पनि गणिनाथजस्तै वेद, शस्त्र र शास्त्रमा प्रवीण भए ।

बाबा गणिनाथको राज्य चौध कोसमा फैलिएको थियो । राज्यको कदली वनमा डाँकाहरू अड्डा जमाएर बसेका थिए । जो कोही कदली वन जान्थ्यो, उसलाई लुट्थे, मार्थे । बाबा गणिनाथले कदली वनलाई डाँकाहरूबाट मुक्त गराउन छोराहरू रायचन्द्र र श्रीधरलाई पठाए । दुवैजनाले कदली वनका डाँकाहरूको समूल नाश गरे । कदली वनलाई स्वतन्त्र बनाए ।

त्यत्ति बेला जादु–टोनाले समाज आक्रान्त थियो । पलवैयादेखि कामाख्यासम्म जादू–टोना गर्नेहरूको आतङ्क थियो । जादू–टोना गर्नेहरूबाट समाजलाई मुक्त गराउन बाबा गणिनाथले आफ्ना छोरा गोविन्दलाई पठाए । गोविन्दजीले आफ्नो योग तथा तपोबलले आफ्नो राज्यदेखि कामाख्यासम्म त्यस्ता मायावी शक्तिहरूलाई नाश गरे । समाजलाई जादू–टोनाको आतङ्कबाट मुक्त गराए ।

पलवैया राज्यभन्दा बाहिर यवनहरूको अत्याचार बढिरहेको थियो । यवनहरूकै कारण समाजमा धर्म कार्य हुन सकिरहेको थिएन । यवनहरूबाट समाजलाई मुक्ति दिलाउन बाबा गणिनाथले एउटा सेना तयार पारे । उक्त सेनामा ३६० ठाउँका मानिस सामेल भए । सेना परिचालन तथा सञ्चालनको जिम्मा रायचन्द्र र श्रीधरलाई दिए । गणिनाथ सेना र यवनहरूबीच भयङ्कर युद्ध भयो । युद्ध चलिरहेकै समयमा युद्ध मैदानमा गोविन्दजी पनि आए । गोविन्दजी आएपछि बाबा गणिनाथको सेनामा थप उत्साह बढ्यो । युद्धमा यवनहरूको पराजय र गणिनाथ सेनाको विजय भयो । यवनहरूका सरदार थिए लाल खाँ । बाबाको योगशक्तिबाट प्रभावित भएर लाल खाँ उनका शिष्य बने र जीवनपर्यन्त सेवा गरिरहे ।

बाबा गणिनाथ तथा माता क्षेमाले पलवैयाधाममा एकसाथ समाधि लिए । दुवैजनाले समाधि लिएको पलवैया भन्ने ठाउँ बिहारको हाजीपुर जिल्ला हो । गणिनाथ गोविन्द भगवान्लाई कुलदेवता मान्नेहरूका लागि पलवैया एक तीर्थस्थलको रूपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here