गोलबजार (सिराहा), २ भदौ/रासस
पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिराहा र सप्तरी खण्डमा निर्माणाधीन पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सो खण्डका अधिकांश भागमा कालोपत्रको काम सकिए पनि निर्माणाधीन आधा दर्जन पुलको निर्माण कार्य लामो मयसम्म सम्पन्न हुन नसक्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

निर्माण गर्ने ठेक्का पाएका कम्पनी/व्यवसायीको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहँुदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

सिराहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा पुल निर्माणको काम शुरू भएको तीन वर्षसम्म करीब ७० प्रतिशत मात्र काम भएको छ । “तीन वर्षभित्र निर्माण कार्य सक्ने भनी विसं २०७६ मैं सो पुलको सम्झौता भएको हो,” हुलाकी मार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी इन्जिनीयर बेचनकुमार भण्डारीले भने, “तर पुल र्माणको समयावधि सकिसक्दा तीन वर्षमा भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ ।” सम्झौता अवधि सकिएकोले पुनः म्याद थपका लागि निर्माण कम्पनीले कार्यालयमा निवेदन दिएको उनले बताए ।

पूर्वमा बलान खोलादेखि पश्चिम सदरमुकाम सिराहा बजारसम्मको सडकमा कालोपत्र सकिएको छ । गागन खोलामा पुल निर्माण हुन नसक्दा सिराहाका एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राचन/रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ ।

हुलाकी सडक सिराहा खण्डको बलान नदीदेखि कमलासम्मको करीब २९ दशमलव ८८ किलोमिटरमा सडक कालोपत्र इसके पनि गागन खोलामा समयमा पुल नबन्दा सडकमा सहजरूपमा यातायातका साधन सञ्चालन हुन नसकेको सूचना धिकारी भण्डारीले बताए ।

गागन खोलाको पुल नबन्दा अहिले भगवानपुरबाट सिराहाका लागि जाने बसलगायतका ठूला सार्वजनिक यातायातका धन लहान बजार हँुदै जानुपर्ने बाध्यता रहेको बसका चालक सुभाष साहले बताए ।

“सडकमा कालोपत्र भइसक्यो, गाडी गुडाउन पनि त्यो बाटो सहज छ,” चालक साहले भने, “गागन खोलामा पुल बन्यो भने भगवानपुरबाट मुश्किलले आधा घण्टादेखि ४५ मिनेटमा सिराहा पुुग्छौं ।” गागन खोलाको पुल नबन्दा अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान बजार हुँदै डेढ/दुई घण्टाको बाटो तय गरेर सिराहा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

यसैगरी, सप्तरी खण्डमा निर्माण कम्पनीले पुल निर्माणको कार्य (फिनिसिङ) अन्तिम चरणमा अलपत्र अवस्थामा छाडेको छ । कञ्चनपुरदेखि बलान नदीसम्म ३२ किमीमध्ये राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किमी सडकमा कालोपत्र सकिएको करीब एक वर्षभन्दा बढी समय भइसक्दा पनि पुल निर्माणको जिम्मा पाएको कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा सवारीसाधन चलाउन सास्ती भइरहेको स्थानीयको गुनासो छ ।

“सप्तरी खण्डमा निर्माणाधीन पाँचवटा पुलको निर्माण काम करीबकरीब अन्तिम चरणमा पुगेको छ,” हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख विजयकुमार थापाले भने, “सबै पुल करीबकरीब तयार भइसकेका छन्, थोरै काम मात्र बाँकी छ ।” पुलको दुवैतिर सय/सय मिटरको भागमा ग्राभेल बिछ्याएर कालोपत्र गर्नुपर्नेमा त्यो हुन नसकेकोले वर्षा भएपछि सडक हिलाम्मे हुने गरेको प्रमुख थापाको भनाइ छ ।

पुलको दायाँबायाँ दुवैतिर ग्राभेल माटो नहाल्दा हिउँदमा धूलाम्य र वर्षामा हिलाम्मे हुने गरेको छ । ठेकेदार कम्पनीको लापरवाहीले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । अहिले पश्चिम सप्तरीको भारतीय बजार लौकहासँग जोडिएको बेल्ही गाउँबाट दैनिक तीनवटा सार्वजनिक बस राजविराजको लागि चले पनि ठाउँठाउँमा पुलनजीक हिलाम्य सडकमा गाडी अडकिएर समस्या हुने गरेको बताइएको छ ।

मुतनी नदीको पुल अरनिको/लामा/बाग्मती जेभी काठमाडौंले २०७२ असार २५ मा सम्झौता गरी २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने भएपनि २०८० सम्ममा पनि पुल निर्माण हुन सकेको छैन ।

अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको सप्तरीको बलान बिहुल गाउँपालिका–४ का रामशङ्कर भण्डारीले बताए । समयमा पुल निर्माण नहुनुमा निर्माण कम्पनीसँगै हुलाकी सडक योजना कार्यालय इटहरीको उदासीनता पनि मुख्य कारण रहेको उनको भनाइ थियो ।

सडक कालोपत्र भएपनि पुलमा देखिएको सामान्य समस्या अड्काएर ठेकेदार कम्पनीले लापरवाही गरेको बोदे बर्साइन नगरपालिका–५ का बृजेशकुमार यादवले बताए । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका बइन्जिनीयर अमोदकुमार भगतका अनुसार राजविराजदेखि पश्चिममा पर्ने मुतनी, पम्प केनाल, कजरा दहलगायत पुलको ठेक्का म्याद सकिसकेकाले निर्माण कम्पनीले पुनः म्याद थपका लागि कार्यालयमा निवेदन दिएको जानकारी दिए ।

कार्यालय र निर्माण कम्पनी प्रतिनिधिबीच भएको बैठकमा आउँदो दशैंभित्र पूर्णरूपले पुल तथा पुलनजीक सडक कालोपत्र गर्ने सहमति भएको हुलाकी सडक निर्देशनालय योजना कार्यालय, इटहरीका सूचना अधिकारी प्रमोद खतिवडाले बताए ।

यसबाहेक हुलाकी सडकमा पर्ने सप्तरीको बोदे बर्साइन–३ कुसमहार चोक र वडा नं ६ का प्रितमपर कटहा नदीको पुलमा पनि कालोपत्र हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here