• सञ्जय मित्र

सम्बन्ध भैरव अर्याल स्मृति सम्मानसित रहेको छ ।

म एक दिन भैरव अर्याल स्मृति सम्मान पाउन योग्य हुन्छु भन्ने मलाई लागेको थियो तर अहिले नै म पाइहाल्छु भन्ने मलाई मनको कुनै कुनासम्ममा थिएन ।

एक दिन म रेडियोमा समाचार सम्पादन गरिरहेको थिएँ, साँझतिर । सोही समयमा अनिता न्यौपानेले विनम्रतापूर्वक अभिभादन गर्दै निर्णय भइसकेको खबर नै दिइन् । एकैछिनमा समाचार  आउँछ भनेको सुन्दा त मन खुशीले उपु्रmँउपु्रmँ गर्न थाल्यो । त्यस बेला मेरा साथमा थिए समाचारवाचक तथा कलाकार भाइ कुमार चन्दन । उनलाई तत्काल यो समाचार सुनाएँ । समाचारको प्राविधिक देवेन्द्र चौधरीजीलाई पनि नसुनाउने कुरै भएन ।

समाचारवाचक तथा प्राविधिक दुवै जना भाइ हुन् । भाषा र साहित्यको काममा दुवै लागिरहन्छन् । कुमार चन्दनका केही रचना प्रकाशित पनि छन् र गायन तथा नृत्यका साथै अभिनयका अन्य क्षेत्रमा राम्रो सम्भावना भएका प्रतिभा हुन् । प्रोत्साहन गर्ने संस्था पाउने हो भने कुमार चन्दनले निकै राम्रो गर्न सक्छन् भन्नेमा मलाई शङ्का छैन, तर स्नातक गरिसकेपछि उमेरले पनि पारिवारिक जिम्मेवारी खोज्दोरहेछ । कुमार चन्दनको प्रतिभा यस्तै जिम्मेवारी बोधको भारमा थिचिएर हराउने हो कि भन्ने चीसो आशङ्का पनि रहेको छ ।

म स्नातक पढ्न हेटौंडा गएको थिएँ र त्यहाँ एक युगसम्म साहित्यिक कर्म गरेर बसें । त्यस युगमा एक युवकले गर्नुपर्ने वा गर्न सक्नेभन्दा धेरै नै मैले गरेंजस्तो लाग्छ । युवावयको जोश मैले साहित्यिक गतिविधिमा नै खर्चेको हुँ हेटौंडामा । अहिलेसम्म हेटौंडाले सम्झिइरहेको छ । मेरो लागि यो सन्तोषको पक्ष हो ।

हेटौंडामा हुँदा सामान्य व्यङ्ग्य लेख्थें । २०५० को दशकलाई अखबारको उत्कर्ष अर्थात् स्वर्णकाल पनि भन्न सकिन्छ । अखबारहरू निकै फस्टाएका थिए । अखबारले निकै राम्रो गरेका थिए । मैले पनि हेटौंडामा बसेर अखबारमा लेख्ने काम गरेको हुँ । हेटौंडा बस्दा मैले हप्तामा दुईवटासम्म व्यङ्ग्य दुई अखबारलाई दिन्थें । हिमालय टाइम्स दैनिक र स्पेसटाइम दैनिकमा हप्ताका दुई हास्यव्यङ्ग्य रचना प्रकाशित हुन्थे । यो अनिवार्य नै थिएन तर पनि हिमालय टाइम्समा भने अनिवार्यजस्तै थियो । स्पेसटाइम दैनिकमा भने हप्तामा एउटा लेख्थें, अधिकांश व्यङ्ग्य नै हुन्थ्यो, तर साहित्य र समाजका विविध पक्षसित सम्बन्धित लेखहरू पनि लेख्थें । हेटौंडा बसेर त्यति बेला काठमाडौंबाट प्रकाशित हुने केही दैनिक पत्रिका तथा केही साहित्यिक पत्रपत्रिकाहरूमा हास्यव्यङ्ग्य रचना प्रकाशित गराइरहन्थें ।

हेटौंडाभन्दा बाहिर मात्र होइन, हेटौंडाका अखबार तथा साहित्यिक पत्रपत्रिकाहरूमा पनि विभिन्न विधाका साथै हास्यव्यङ्ग्य रचना लेखिरहन्थें । हेटौंडामा व्यङ्ग्यकार नै त होइन तर एउटा साहित्यकारको रूपमा भने बिस्तारै परिचित भइसकेको थिएँ ।

आदरणीय देवप्रसाद श्रेष्ठले कुराकानी साप्ताहिकको जिम्मा दिएपछि म आफ्नै मनले पहिले कार्यकारी सम्पादक र अनि त्यसपछि सम्पादक पद लेख्न लगाएर पत्रिकालाई राम्रोसित चलाएँ । पत्रिकामा जानु अघि नै देवसरसित प्रस्ताव राखेको थिएँ– एक पृष्ठ साहित्यलाई मात्र दिन्छु । उनले सहर्ष स्वीकार गरेपछि मैले सम्हालेको केही हप्तासम्म अनौपचारिक रूपमा साहित्य र यससित सम्बन्धित खबरहरू प्राथमिकतामा राखेर दिन थालें । केही महीनापछि मकवानपुरका साहित्यकारहरूले कुराकानी साप्ताहिकमा रुचि लिन थाले । पुष्पलाल पुस्तकालयमा स्थानीय पत्रिकाहरूमध्ये कुराकानी साप्ताहिक खोज्नेहरू धेरै हुन्थे । म आफैं पनि पुष्पलाल पुस्तकालयको नियमित पाठक थिएँ । विभिन्न पत्रपत्रिका पढ्न पुग्थें । मुख्यगरी साहित्यिक रुचि भएका तथा साहित्य लेख्ने वा साहित्य पढ्नेहरूको नजरमा कुराकानी साप्ताहिक पुग्न थालेपछि हो, साहित्य शृङ्खला शुरू गरेको ।

कुराकानी साप्ताहिकमा सम्भवतः साढे दुई सय हो कि तीन सय जति अङ्क साहित्य शृङ्खला प्रकाशित भएको थियो । मकवानुरका मुख्यगरी हेटौंडाका सयौं सर्जकको पहिलो रचना साहित्य शृङ्खलामा प्रकाशित भएको थियो । मकवानपुरमा प्रतिभा उत्पादनमा यसको ठूलो भूमिका रहेको आज पनि धेरैले स्वीकार गर्दछन् । यसमा हास्यव्यङ्ग्यलाई पनि स्थान र प्राथमिकता दिइन्थ्यो । विशेषाङ्क पनि निकालेको हो ।

अहिले हास्यव्यङ्ग्यको लागि हेटौंडामा निकै सार्थक प्रयासहरू भइरहेका छन् । हाम्रो जमानामा अहिलेको जस्तो खासै वातावरण थिएन, तर हास्यव्यङ्ग्यको वातावरण बनाउन मैले  केही भूमिका खेलेको हुँ । हामी पाँचजना मिलेर पञ्चराम सम्पादक रही रामवाण हास्यव्यङ्ग्य साहित्यिक द्वैमासिक पत्रिकाको प्रकाशन शुरू गरेका थियौं । दुई वर्षभन्दा लामो समयसम्म यसले अत्यन्तै ऊर्जावान् भएर काम गरेको थियो । ऊर्जावान् यस अर्थमा कि नियमित पत्रिका प्रकाशन गर्ने, वार्षिकोत्सव मनाउने तथा हास्यव्यङ्ग्यकारलाई सम्मानित गर्ने । हास्यव्यङ्ग्य गोष्ठी पनि गरिएको थियो । एउटा त यस्तो कार्यक्रम भयो जुन तोकिएको समयमैं शुरू गरी तोकिएकै समयमा समापन भएको थियो । कतिपय प्रतिष्ठित अतिथिहरू आउँदा नआउँदै कार्यक्रम सकिइसकेको थियो । रामवाणले पछिल्लो चरणमा लेखकहरूलाई पारिश्रमिक दिन पनि शुरू गरेको थियो ।

जीवनवृत्तिको क्रममा म हेटौंडाबाट रौतहट आउनुपरेपछि सबैको चाहना हुँदाहुँदै पनि रामवाण सेलाएर गएकोमा हामी पञ्चरामलाई अहिलेसम्म पछुतो रहेको छ ।

विभिन्न नामबाट बेलामौकामा हास्यव्यङ्ग्य लेख्ने काम गरिरहेकै थिएँ । अद्यपर्यन्त जारी छ । यसैबीच बारामा दर्ता भई काठमाडौंबाट प्रकाशनरत नवप्रज्ञापन साहित्यिक त्रैमासिकमा मेरो एउटा हास्यव्यङ्ग्य प्रकाशित भयो । सम्पादक–प्रकाशक नवराज रिजाल निकै प्रभावित भए र प्रशंसा गरे । आजभोलि यत्तिकै रचना पढेर प्रशंसा गर्नेहरू कमै भेटिन्छन् । त्यसैबाट फुरुङ्ग भएको थिएँ । प्रोत्साहित भएको थिएँ, पुरस्कृत भएको अनुभूति गरेको थिएँ ।

पछिल्लो समयमा हेटौंडाकै आकृति क्रिएशनले मेरो ‘व्यङ्ग्यम्’ साहित्यिक कृति निकाल्यो । कृतिले अपेक्षित चर्चा पायो । यसको प्रकाशनपछि हास्यव्यङ्ग्य क्षेत्रका चर्चित अनुहारहरूसित अझ परिचित हुने मौका जु¥यो । हेटौंडाका हास्यव्यङ्ग्यकारहरूसित पुनः परिचित हुने मौका पनि यस कृतिले जुराइदियो । यद्यपि विभिन्न प्राविधिक कारणले यस कृतिको औपचारिक लोकार्पण वा विमोचन हुन सकेन तर जहाँजहाँ र जसजसको हातमा पुग्नुपर्ने थियो, पुगेको सन्देशहरू आए ।

कृतिको प्रकाशनपछि हो, हास्यव्यङ्ग्य साहित्यिक अनलाइन फित्कौलीडटकममा नियमित जस्तै रचनाहरू आइरहेका छन् । यसलाई पनि उपलब्धि नै मान्नु उचित हुन्छ मेरा लागि ।

गत वैसाख ८ गते हेटौंडामा साहित्य उत्सवको क्रममा एउटा सत्रमा पुरस्कार वितरण कार्यक्रम पनि थियो । सङ्गमले चयन गरेका पुरस्कृत हुने प्रतिभाहरूको लाइनमा बस्दा नै एउटा जिम्मेवारीको अनुभूति भएको थियो । प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भूपाल राईको हातबाट पुरस्कृत तथा सम्मानित भएँ ।

कतिपयलाई यही लाग्यो, एउटा ‘व्यङ्ग्यम्’ कृति निकालेर नेपालका सर्वोच्च हास्यव्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित, परिवारजनकै सहयोगमा स्थापित पुरस्कार प्राप्त गर्ने सौभाग्य पायो । कार्यक्रममा बोल्न पाएको भए शायद म खुशीभन्दा बढी द्रवीभूत हुन्थें र अलिकति विगत सुनाउँथें । ‘व्यङ्ग्यम्’लाई मात्र देख्नेहरूले मेरो मकवानपुरे योगदान नबुझेको हुनुपर्छ ।

भैरव अर्याल स्मृति सम्मान यसभन्दा पहिले देशमा सुपरिचित विशिष्ट व्यङ्ग्यकारहरूले प्राप्त गरिसकेका छन् । उनीहरूका सामु उभिने हैसियत नहोला तर मैले यो पुरस्कार पाउँदा धेरै मकवानपुरे सर्जकहरूले खुशी प्रकट गरेका थिए । मैले पाएको पुरस्कारमा र पाउँदा खुशी हुने सर्जकहरूमा मैले अझ के अनुभूति गरेको छु भने मैले हास्यव्यङ्ग्य साहित्यमा अझै लामो यात्रा गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here