काठमाडौं, १३ असार/रासस

अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य–मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्ने कुरामा स्पष्ट रहेको बताएका छन् ।

उनले भने–“निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।” प्रतिनिधिसभाको बुधवारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने । उनले लोकतन्त्र र गणतन्त्र एवं निर्वाचन पद्धतिका लागि लामो सङ्घर्ष भएको स्मरणसमेत गरे ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने आशङ्कालाई स्पष्ट पार्दै अर्थमन्त्री डा महतले भने–“लोकतन्त्र, गणतन्त्र र विधिको शासनका पक्षमा लडेका हामी निर्वाचनको निष्पक्षताविरुद्ध उभिन्छौं भनेर कल्पना पनि गर्न सक्दैनौं । निर्वाचन कार्यालयहरू जिल्ला–जिल्लामा छन् । ती कार्यालयहरू त्यसरी नै चल्नेछन् । कुनै आशङ्का नराख्न म अनुरोध गर्दछु ।”

जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था यथावत् नै रहेको उनले सदनलाई जानकारी गराए । विगतजस्तो व्यवस्था भए मात्र निर्वाचन आयोगको स्वतन्त्रता कायम रहने अर्थमन्त्री डा महतको भनाइ छ ।

त्यसअघि नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले निर्वाचन कार्यालयका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाउँदै सदनमा विरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here