भारत, उत्तरप्रदेशको बलियामा भीषण गर्मी र लूको प्रकोप लगातार जारी छ। जिल्ला अस्पतालमा हिट वेबका कारण मर्नेहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। १५ जूनमा यहाँ २३ जनाको मृत्यु भयो भने १६ जूनमा २१ जना र १७ जूनमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बुजुर्ग छन् र उनीहरू भिन्दाभिन्दै रोगबाट पीडित थिए। चिकित्सकका अनुसार हीटवेबका कारण शरीरको अङ्ग फेल भएर मृत्यु भएको बताइन्छ।
हिट वेबको कारण त्यहाँ स्वास्थ्यकर्मी र प्रशासन प्रमुखको सरुवा भइरहेको छ। उनीहरूलाई दिइएको पत्रमा देशको अधिकांश भागमा सामान्यभन्दा बढी तापमान रहने सम्भावना छ। तसर्थ यस्तो स्थितिमा जिल्लामा भेक्टरजनित र जलजनित रोग बढ्ने सम्भावना छ। पत्रमा भीड हुने स्थानमा शुद्ध पेयजलको व्यवस्था गर्नुपर्ने, गर्मीबाट बचाउको लागि शेल्टर्सको व्यवस्था गर्नुपर्ने, व्यस्त स्थानमा मौसमको पूर्वानुमान र तापमान डिस्प्ले बोर्ड राख्नुपर्ने, जनचेतनामूलक प्रचारप्रसार गर्नुपर्ने निर्देशन दिइएको छ।
त्यस्तै बिहारमा पछिल्लो एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने त्यहाँ पनि गर्मीले बेहाल स्थिति छ। झारखण्डमा गत २४ घण्टाभित्र लूको कारण १३ जनाको मृत्यु भएको छ। त्यहाँ शनिवारको तापमान ४६ डिग्री रेकर्ड गरिएको थियो।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)