प्रस, वीरगंज, १७ जेठ/

मध्यतराईका जिल्ला पर्सा, बारा, रौतहटलगायतका जिल्लामा एक सातायता गर्मी अत्यधिक बढेको छ । दिउँसोको समयमा यस क्षेत्रमा तापक्रम बढेर ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण जनजीवन निकै प्रभावित भएको छ । मध्यतराईमा बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या भइरहेको छ । गर्मीकै कारण विद्यार्थीहरू कक्षाकोठामा बेहोश हुन थालेका छन् । बुधवार पर्साको पटेर्वासुगौली गाउँपालिकाको एक विद्यालयमा एकजना छात्रा कक्षाकोठामैं बेहोश भइन् । कक्षा ४ मा पढ्ने ती छात्रा अत्यधिक गर्मीले कक्षाकोठामैं बेहोश भएकी हुन् ।

पटेर्वासुगौली गापाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले विद्यालयमा पङ्खाको अभाव नरहेको तर गर्मी अत्यधिक बढेकोले पठनपाठनमा समस्या भइरहेको बताए । गापाका तीनवटा मावि, चारवटा आवि र प्रावि गरेर २४ वटै सामुदायिक विद्यालयमा पङ्खा जडान भएको उनको दाबी छ । गर्मी बढेसँगै विद्यालयमा बिदा दिनुपर्ने अभिभावकहरूले आवाज उठाएका छन् ।

वीरगंज महानगरमा १९ देखि २६ गतेसम्म बिदा

यसैबीच, वीरगंज महानगरले अत्यधिक गर्मीलाई मध्यनजर गर्दै जेठ १९ देखि २६ गतेसम्म बिदा दिएको छ । महानगरले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकोले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी जेठ १९ देखि २६ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ । जेठ २७ गते शनिवार सार्वजनिक बिदा भएकोले वीरगंज महानगरका ३२ वटा वडामा रहेका निजी तथा सामुदायिक विद्यालयहरू जेठ २८ गतेदेखि खुल्ने जनाइएको छ । वीरगंज महानगरमा करीब ९३ वटा सामुदायिक र १५० वटा निजी विद्यालय सञ्चालनमा छन् ।

गर्मीले छात्रा बेहोश

प्रस, पंचगावाँ /

वनदेवी आधारभूत विद्यालय भतौडामा अध्ययनरत कक्षा ४ कि छात्रा सहाबुन नेसा गर्मीका कारण बेहोश भएकी छन् ।

बुधवार बिहानको कक्षामा अध्ययन गरिररहेकी छात्रा नेसा अत्यधिक गर्मी बढेसँगै कक्षाकोठामा पङ्खासमेत नभएको कारण बिहान ९ बजे बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाषप्रसाद दासले बताए । पटेर्वासुगौली गाउँपालिका–१ गदियानी निवासी नेसा बेहोश भएपछि उनलाई विद्यालयमा प्राथमिक उपचार गरिएको र थप उपचारको लागि वीरगंज पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here