• विश्वराज अधिकारी

यो आलेख तयार पारिरहँदा प्रधानमन्त्री पुष्पकमल दहालले भारतको औपचारिक भ्रमण आरम्भ गरिसकेका छन् । भारतको राजधानी नयाँ दिल्ली पुगिसकेका छन् ।

दहालले बुधवार (१७ जेष्ठ, २०८०) देखि भारतको चार दिने भ्रमण प्रारम्भ गरेका हुन् । आफ्नो यो भ्रमणको क्रममा उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा भारतसँग गम्भीर वार्ता गर्ने काठमाडौंमा भएको एक कार्यक्रममा उल्लेख गरेका थिए ।

समाचारहरूमा उल्लेख भए अनुसार प्रम दहाललाई स्वागत गर्न भारत सरकारका विदेश राज्यमन्त्री मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन् । भारत प्रवेश गर्दैगर्दा विमानस्थलमा प्रम दहाललाई स्वागत गर्न भारतका विदेश राज्यमन्त्री पुग्नुले भारत र विशेषगरी मोदी सरकारले प्रम दहालको भारत भ्रमणलाई उच्च महत्व नदिएको र केवल औपचारिकता पूरा गरेको भन्ने यथार्थ सहजै बुझ्न सकिन्छ । हुनत २०७८ सालमा तत्कालीन प्रम शेरबहादुर देउवा भारत भ्रममा जाँदा उनको स्वागतार्थ इन्दिरा गाँधी विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षाराज्यमन्त्री अजय भट्ट पुगेका थिए । उनको स्वागत पनि राज्यमन्त्रीबाट नै भएको थियो । परिवर्तित परिवेशमा भारत सरकारले त्यस्तो नगरेर नेपालको प्रधानको स्वागतको लागि वरिष्ठ मन्त्रीलाई पठाउनुपर्ने हो । तर भारतले त्यस्तो गरेन । यसलाई भारतको कूटनीतिक कमजोरी वा हेपाहा प्रवृत्ति मान्नुपर्छ ।

नेपालमा जुनसुकै दलबाट कुनै व्यक्ति प्रधानमन्त्री हुनासाथ निजले भारत भ्रमणका लागि भारतसमक्ष निवेदन हाल्ने चलन छ । याचना गर्ने चलन छ । याचकले नै याचना गरेपछि, दाताले पनि सोही अनुसार दान दिने नौलो कुरा होइन । भारत बोलाउने नौलो कुरा होइन ।

यो स्तम्भकारको अनुभवमा, नेपालमा भएको २०४७ सालको राजनीतिक परिवर्तनपछि आज यो आलेख तयार पारिरहँदासम्म, नेपालको कुनै प्रमलाई भारतले उच्च सम्मानका साथ, भारत भ्रमणका लागि निमन्त्रण दिएको छ भने ती प्रम हुन् कृष्णप्रसाद भट्टराई । भट्टराईले शेरबहादुर, पुष्पकमल आदिले जस्तो त्यहाँ (भारत भ्रमणमा) पुग्न भारतसमक्ष निवेदन हालेका थिएनन् । भट्टराईको आफ्नै किसिमको राजनीतिक व्यक्तित्व थियो । हुनत भारत भ्रमणका लागि पुष्पकमलले व्यग्रता देखाउनु नौलो कुरा होइन । उनले आफ्नो हित र भारतको हितका लागि गर्न सकिने हरेक कार्य गर्दै आएका छन् । भारत सरकारले पुष्पकमलाई गुन लगाएको छ भने पुष्पकमलले भारतलाई गुन लगाएका छन् । स्पष्ट शब्दमा भन्ने हो भने भारतले पुष्पकमललाई उपयोग गरेको छ भने पुष्पकमलले भारतलाई । १२ बुँदे सम्झौता पुष्पकमलले आफ्नो हितका लागि गरेको र त्यो सम्झौता आफ्नो हितमा पार्न भारतले पुष्पकमलको उपयोग गरेको तथ्य अहिले घामझैं छर्लङ्ग छ ।

प्रम पुष्पकमल दहालको भारत भ्रमणको व्यापारिक महत्वको चर्चा गर्नु पूर्व दहालको राजनीतिक व्यक्तित्व र उनको प्रम पदको तौलबारे कुरा गर्नु उपयुक्त हुन्छ । उनको राजनीतिक व्यक्तित्व र प्रम पदको तौलले भारत प्रशासनले उनका कुराहरू कति गम्भीरताका साथ सुन्ने छ, कार्यान्वयन गर्नेछ भन्ने कुरा निर्धारण गर्नेछ ।

पुष्पकमलको राजनीतिक व्यक्तित्वको उत्पत्ति हत्या, हिंसा, लुटपाट (बैंक) बाट भएको हो । आज उनी जे छन्, जहाँ छन्, त्यो उनले गरेका अति रक्तपातपूर्ण कार्यहरूको देन हो । बाँदरे मूढामा भएको निर्दोष नागरिकको क्रूरतापूर्वक हत्या होस्, शिक्षक लेखनाथ अधिकारीको हत्या, यस्ता अनेक हत्याहरूको जिम्मेवारी पुष्पकमलले लिनैपर्छ । उनले यो जिम्मेवारी नलिए पनि, इतिहासले मृत्युपर्यन्त यी कार्यका लागि उनलाई पछ्याइ नै रहने छ । उनी तत्कालीन माओवादी दलका अध्यक्ष थिए, उनले जिम्मेवारी नलिए, कसले लिने ? पाँच हजार मानिसको हत्याको म जिम्मेवारी लिन्छु भनेर स्वयं पुष्पकमलले भनिसकेका छन् ।

राजनीतिक अडान नभएको, पदका लागि जे पनि गर्न तयार रहने, परे हदैसम्म भूmट बोल्ने पहिचान बनाएका पुष्पकमलको राजनीति व्यक्तित्व उच्च छैन । लडाकूहरूको सङ्ख्या उल्लेख गर्दा दलसँग केवल ६/७ हजार लडाकू रहेको तर पच्चीस हजार लडाकू देखाई पार्टीलाई फाइदा पु¥याएको झूट बोलेको र यस्तो झूट बोलेकोमा उनले गर्व गरेको भिडियो पुरानै भए तापनि बेलाबेला भाइरल हुने गर्दछ ।

अब दहालको प्रम पदको तौलको कुरा गरौं । संसदीय व्यवस्थाको छिद्र र कमजोरी प्रयोग गरेर दहाल चुनावमा निर्वाचित भएका हुन् । आफ्नो चुनाव क्षेत्र त्यागेर गोरखाबाट चुनाव लड्नु र विजयी हुनु उनको लोकप्रियता होइन, उनले तयार पारेको कुटिल रणनीतिको उपहार थियो । त्यसपछि उनी प्रम हुनु पनि एक लोभीपापी सम्झौताको परिणाम थियो । राजनीतिमा सदा सफल रहन र उच्च पद (प्रम) हात पार्न उनले इमानदार राजनीति होइन, रणनीति र षडयन्त्र प्रयोग गरेका छन् । संसद्मा पहिलो ठूलो दल, दोस्रो ठूलो दल क्रमशः नेपाली काङ्ग्रेस र नेकपा एमाले हुँदाहुँदै तेस्रो ठूलो दल, अर्थात् नकपा मओवादी केन्द्रबाट पुष्पकमल दहाल प्रम हुनु संसदीय व्यवस्थाको खिल्ली उडाउनु थियो । उनको दल सम्मिलित गठबन्धन बनाएर चुनाव लड्नु पनि जनतालाई दिइएको धोखा थियो ।

पुष्पकमल दहाल प्रम भए तापनि उनी प्रम हुने आधार राजनीतिकरूपमा बलियो त छैन नै, नैतिकरूपमा त झनै बलियो छैन । ज्यादै कमजोर छ । उनको प्रम पद मुख्यगरी नेपाली काङ्ग्रेस र नेकपा एमालेको लोभ र कमजोरीको परिणाम हो । अझै निष्कर्षमा भन्ने हो भने नेपाली काङ्ग्रेसमा आफू सदा बलियो रहिरहने, सातै–आठौंपटक नेपालको प्रम हुने र नेपालको राजनीतिलाई नित्य आफ्नो वरिपरि घुमाउने देउवाको कुचेष्टाले गर्दा पुष्पकमल पटकपटक र तेस्रोपटक नेपालको प्रम हुन पुगेका हुन् । उनको राजनीतिक सफलताको सिंढी अहिले देउवा बनेका छन् ।

नेपालको राजनीतिमा पुष्पकमलको व्यक्तित्व कागजको बाघजस्तो बनेको छ । उनी प्रम त हुन्, तर उनले कार्य भने नेपाली काङ्ग्रेसको लागि गर्नुपर्ने स्थिति छ । अर्कोतिर आफू प्रम पदमा रहनका लागि दहाल जे पनि गर्न तयार छन् र त्यो जे पनि गर्दा राष्ट्रिय अहित भए पनि उनलाई त्यसले केही लछार्दैन ।

अब कुरा गरौं दहालको चारदिने भारत भ्रमणले नेपालीको व्यापार विकासमा पार्ने सम्भावना बारे ।

नेपालको प्रमको हैसियतमा, उच्च प्रशासकको हैसियतमा, दिल्ली पुगेका पुष्पकमल दहालको व्यक्तित्वको विस्तृत तथा पूर्ण विवरण भरतका प्रशासक (प्रधानमन्त्री, मन्त्री आदि) हरूले राखेका छन् । सो विवरणको अध्ययन एवं मूल्याङ्कनसमेत गरेका छन् । नेपालको हितमा आफ्ना अडानहरू ठोसरूपमा भारतका उच्च प्रशासकहरू समक्ष राख्न सक्ने क्षमता र आत्मविश्वास दहालमा छैन भन्ने कुरा भारतका उच्च प्रशासकहरूलाई राम्ररी थाहा छ । यसैगरी राष्ट्रको हितभन्दा आफ्नो हित विकासका लागि दहाल भारतको औपचारिक भ्रमणमा आएका हुन् भन्ने कुरा चतुर एवं अनुभवी नेता तथा वर्तमान प्रम नरेन्द्र मोदीलाई थाहा छैन भनी मान्न सकिंदैन ।

विभिन्न तथ्य, सूचना एवं जानकारी विश्लेषण गर्दा दहालको यो भ्रमणले नेपालको व्यापार–विकासमा कुनै ठोस योगदान पुर्याउने सम्भावना देखिंदैन । दहालको यो भ्रमण नेपालको व्यापार विकासमा महत्वपूर्ण होला भन्ने विश्वास यो स्तम्भकारलाई पटक्कै छैन । यो स्तम्भकारको त्यो विश्वास पूर्णतया गलत होस् भन्ने कामना यस स्तम्भकारको छ ।

अब निष्कर्षतिर लागौं । नेपाल–भारत बीच समानताको आधारमा व्यापार हुनुपर्छ । नेपालले आफूलाई नेपाल–भारत व्यापारमा एउटा बलियो साझेदारको रूपमा प्रस्तुत गर्नुपर्छ । हुन पनि नेपाल अहिले भारतको लागि एउटा ठूलो र राम्रो आम्दानी दिने बजार भएको छ । नेपालीहरूले खाडी मुलुक, युरोपेली मुलुक, क्यानाडा, अस्ट्रेलिया, अमेरिकामा श्रम बेचेर ल्याएको पैसा घुमाउरो बाटो भएर भारत पुग्ने गरेको छ । सबैले सजिलै बुझ्ने भाषामा भन्ने हो भने नेपालीहरूले आफ्नो आम्दानीको ठूलो अंश भारतीय वस्तु एवं सेवा खरीद गर्न खर्च गरिरहेका छन् । यी तथ्यहरूको आलोकमा नेपालले आफूलाई भारतसँग हुने व्यापारमा बलियो साझेदार रहेको भारतीय पक्षलाई बोध गराउनु आवश्यक छ ।

नेपालका उच्च प्रसाशक (प्रम, मन्त्री) हरू भारत पुगेर याचना गर्ने होइन । हामीलाई यी सुविधा दिएर, हामीमाथि दया गर भन्ने होइन । तर नेपालका नेताहरू भारत पुग्नासाथ लम्पसार पर्छन् र भारतसँग याचना गर्छन् । कमजोरी हाम्रा नेताहरूमा छ । हाम्रा नेताहरू नै हीन भावनाको शिकार छन् । यस्तो किन भएको होला ? यस्तो हुनुको प्रमुख कारण हो हाम्रा नेताहरूले आफ्नो स्वार्थका लागि भारतसँग अनेक सहयोगको याचना गर्नु, देश र जनताको हितमा अडान लिन नसक्नुस अडान नलिनु ।

सर्वाधिक महत्वपूर्ण कुरा त के हो भने विभिन्न किसिमका वस्तुहरू हामीले नेपालमैं उत्पादन गरेर, आर्मनिर्भरता प्राप्त गरेर, भारतबाट हुने आयात परिमाणमा ठूलो कटौति गर्न अति आवश्यक छ । लागतको हिसाबले नेपालमा उत्पादन गर्दा महँगो पर्ने, तर भारतबाट आयात गर्दा सस्तो पर्ने प्रकृतिका वस्तुहरू समेत हामीले नेपालमैं उत्पादन गर्नुपर्छ । अनेक लागतमाथि नियन्त्रण गरेर, उच्च प्रवधि प्रयोग गरेर, हामीले नेपालभित्र सस्तोमा अनेक वस्तु उत्पादन गर्ने अठोट गर्नुपर्छ । हामी भारतको ठूलो बजार भएर उसलाई ठूलो आर्थिक फाइदा पुर्याउने, अनि उल्टो उसलाई ‘लौ न हामीमाथि दया गरिदेऊ’ भन्न जाने परम्परा अब हामीले तोड्नुपर्छ । हामी समान व्यापार साझेदार हौंस याचक कदापि होइनौं ।

के नेपालका प्रम पुष्पकमल दहालले भारत समक्ष नेपालको पक्षमा बलियो भएर उभिने  साहस गर्लान् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here