• अनन्तकुमार लाल दास

जनसङ्ख्या वृद्धि आज सम्पूर्ण विश्वको लागि चुनौतीको विषय रहेको छ । यस चुनौतीको सामना गर्न सम्पूर्ण विश्व एकजुट हुनु आवश्यक छ किनभने यसको समाधान हामी सबै मिलेर नै गर्न सक्छौं । बढी जनसङ्ख्या व्यवस्थापनका लागि बढी संसाधन आवश्यक पर्दछ । एउटा विकसित राष्ट्रले आफ्नो नागरिकलाई सजिलै बढी संसाधन उपलब्ध गराउन सक्छ तर विकासशील देशहरूलाई कैयन प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसपछि पनि विकासशील देशको हरेक आवश्यकताको पूर्ति हुँदैन ।

विकासशील देशका नागरिकहरूको आवश्यकता पूर्ति नहुनुको कारण मूल कारण गरीबी हो किनभने अपर्याप्त भोजनबाट शारीरिक दुर्बलता र शारीरिक दुर्बलताको कारण कम उत्पादन र कम उत्पादनले गर्दा गरीब झन् गरीब हुँदै जान्छ । यसबाट अन्य क्षेत्रमा पनि निराशाजनक समस्या उत्पन्न भइरहेको छ । अर्थको कमीले गर्दा कृषि, पशुपालन र उद्योगमा पनि उन्नति भइरहेको छैन । मानिसहरू जसोतसो जीवनयापन गरिरहेका छन् । कुनै पनि देशको शक्तिको आकलन त्यहाँ बसोवास गर्ने नागरिकको सामथ्र्यले हुन्छ तर यो त्यस बेला मात्र निश्चित हुन्छ, जब उनीहरूसँग जीवनयापनको लागि हरेक किसिमको साधन उपलब्ध होस् । जनसङ्ख्या वृद्धि एउटा विस्फोटक समस्या हो जसले उत्पादनभन्दा बढीको माग गर्दछ । हामी नेपालीले जति कोशिश गरे पनि अभाव कम गर्न सकिरहेका छैनौं । जनसङ्ख्या वृद्धिले गर्दा बेरोजगारी, बेकारी र पलायनजस्ता समस्या उत्पन्न भएको छ ।

यी कुरालाई ध्यानमा राखेर यसप्रति जागरुकता फैलाउन आवश्यक छ । वास्तवमा ११ जुलाई सन् १९८७ सम्म वैश्विक जनसङ्ख्याको तथ्याङ्क ५ अर्ब पार गरिसकेको थियो । जसलाई मध्यनजर गरी वैश्विक हितलाई ध्यानमा राखेर प्रतिवर्ष ११ जुलाईका दिन विश्वभरि जनसङ्ख्या दिवस मनाउन थालियो । देश र विश्वमा निरन्तर भइरहेको जनसङ्ख्या वृद्धिलाई दृष्टिगत गरी जनसङ्ख्या दिवसको अवसरमा यसप्रति जागरुकता र सँगसँगै यसबाट हुने दुष्परिणामबारे समेत आम नागरिकलाई जागरुक र सचेत गर्ने प्रयास हुँदै आएको छ । एउटा तथ्याङ्कले सन् २०१९ मा चीनको १.४३ बिलियन र भारतको १.३७ बिलियन जनसङ्ख्या विश्वको कुल जनसङ्ख्याको १९ प्रतिशत र १८ प्रतिशत देखाएको छ । जुन गतिले विश्वको जनसङ्ख्या वृद्धि भइरहेको छ यसबाट मानिसको स्थिति झन् जटिल र दयनीय हुने सङ्केत गरेको छ ।

नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको ६६ प्रतिशत मानिस कृषिमा निर्भर छ, तर कृषि उद्योगमा पनि त्यो क्षमता रहेन जसले सीमित घेराभन्दा बाहिर गएर मानिसको भार वहन गर्न सकोस् । उद्योग तथा जागीरमा पनि थोरै मानिस खप्न सक्छन् । यस परिवेशमा बेरोजगारी र पलायन पनि प्रतिवर्ष बढिरहेको छ । प्रसिद्ध अर्थशास्त्री माल्थसका अनुसार जुन गतिलेले जनसङ्ख्या वृद्धि भइरहेको छ, त्यस गतिले उत्पादन बढाउन सकिंदैन । यस कारण बुझ्ने मानिसको कर्तव्य आआफ्नो समाजमा अनावश्यक जनसङ्ख्या बढ्नबाट रोक्नु हो ।

कुनै पनि मुलुकको विकासका लागि त्यहाँको नागरिकको जीवनशैली माथि हुनु आवश्यक छ र नागरिकको जीवनस्तर उकास्नको लागि हाम्रो लोकतान्त्रिक सरकारले प्रयत्न गर्नुपर्छ । अशिक्षा र गरीबीले पीडित मानिस कहिल्यै पनि कुनै देशको ताकत बन्न सक्दैन । कि जनसङ्ख्याको अनुपातमा साधन उत्पन्न गर्नुपर्छ वा साधन अनुरूप जनसङ्ख्या व्यवस्थित गर्नुपर्छ । यदि साधन र जनसङ्ख्याबीच सन्तुलन छैन भने त्यसलाई सन्तुलन गर्नु आवश्यक हुन्छ र साधनको तुलनामा यदि जनसङ्ख्या बढ्छ भने यसको परिणाम अशिक्षा, बेरोजगारी र गरीबी नै हुन्छ ।

सन्तानको स्याहारसुसार र शिक्षाको लागि कुनै पनि परिवारको आर्थिक स्थिति राम्रो हुनु आवश्यक छ तर जनसङ्ख्या वृद्धिले गर्दा यस प्रकारको सामथ्र्य थोरै मानिसहरूसँग छ । एउटा लोकोक्ति के छ भने यदि अतिथिलाई राख्ने र खुवाउने क्षमता छैन भने उनलाई आमन्त्रित गर्नु हुँदैन । भोकमरी, गरीबी र अशिक्षाको कारण सन्तानलाई घरमैं बसाएर राख्नु कुनै पनि विवेकशील अभिभावकका लागि लाजलाग्दो कुरो हो । यस कारण प्रत्येक परिवारले राष्ट्रको समस्यालाई समेत ध्यानमा राखेर सन्तानोत्पत्तिलाई सीमाबद्ध गर्ने ख्याल गर्नुपर्छ । हाम्रो सरकारले पनि जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नको लागि समय–समयमा विभिन्न प्रकारको सूचना जारी गरिरहन्छ किनभने यो कुनै स्यानो समस्या होइन । अहिले पनि विज्ञापन सन्देशजस्तै ‘स्यानो परिवार, सुखी परिवार’, ‘हामी दुई, हाम्रा दुई’ जस्ता नाराको माध्यमले जनसङ्ख्या वृद्धि रोक्न जागरुकता पैmलाइन्छ । तर अशिक्षाले गर्दा यस प्रयासमा सक्दो सफलता हासिल भइरहेको छैन । हिजोआज सामाजिक शिक्षाको माध्यमले सानै उमेरदेखि यस सम्बन्धमा जागरुक गराउने प्रयास जारी रहेको छ । त्यहीं अर्कोतर्फ परिवार नियोजनको माध्यमले पनि जनसङ्ख्या नियन्त्रण गर्न बेग्लै प्रकारको प्रयास पनि भइरहेको छ ।

विश्व जनसङ्ख्या दिवस मनाउने पहिलो कारण जनसङ्ख्या वृद्धिप्रति विश्व समुदायलाई जागरुक गर्नु थियो तर छिट्टै परिवर्तन देखा परेन । जसैजसै समय परिवर्तन हुँदै गयो, प्रयास जारी रह्यो र पीढी पनि परिवर्तन हुँदै गयो त्यसपछि वर्तमान पीढीमा परिवर्तन देखापरिरहेको छ । आज धेरैजसोले पारिवारिक विचारविमर्शपछि परिवार नियोजन गर्ने गरेको अनुभवले देखाएको छ । केही परिवार त अब एउटै बच्चामा सीमित हुन थालेको छ । जनसङ्ख्या दिवस र पाठ्यक्रममा यो विषय समावेश भएपछि मानिसहरू खुलेर यस विषयमा कुराकानी गर्न थालेका छन् । यसबारे जागरुकता फैलाउन र्यालीहरूको पनि आयोजन गर्ने गरेका छन् । यो जनचेतना विद्यालयमा पढ्ने केटाकेटीहरूलाई समेत प्रदान गरिन्छ । परिणामस्वरूप बाल्यकालदेखि नै उनीहरू बढी जनसङ्ख्या भनेको, धेरै संसाधन जुन विकासशील व्यक्ति र देश दुवैको लागि एउटा चुनौती हो, भन्ने बुझ्न थालेका छन् ।

कुनै पनि देशमा युवा र कार्यशील जनसङ्ख्या र यसबाट हुने आर्थिक लाभलाई जनसङ्ख्याको लाभको रूपमा हेरिन्छ । वर्तमान नेपाल युवा पलायनको समस्याले ग्रसित छ । यदि युवा पलायनलाई रोक्न सकियो भने वा यसको समुचित उपयोग नेपालको अर्थ व्यवस्थालाई गति दिन गर्न सकियो भने यसबाट नेपाललाई नै लाभ हासिल हुन्छ । तर यदि शिक्षा गुणस्तरीय भएन, रोजगारको अवसर सीमित भयो, स्वास्थ्य र आर्थिक सुरक्षाको साधन उपलब्ध भएन, यसमा सुधार भएन भने कार्यशील जनसङ्ख्याले अभिशापको रूप धारण गर्न सक्छ । अर्थात् भ्रष्टाचारमा वृद्धि हुन्छ । विधिको शासन लागू हुन सक्दैन र लोकतन्त्र नै खतरामा पर्छ । यस परिवेशमा यदि जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न सकिएन भने स्थिति झन्–झन्् भयावह र जटिल हुँदै जान्छ ।

जनसङ्ख्या वृद्धि एउटा नयाँ चुनौतीको रूपमा हामी सबैको सामु उपस्थित भएको छ र आज पनि यसलाई नियन्त्रण गर्न सरकारलाई कठिनाई भइरहेको छ । बढी जनसङ्ख्याको कारण बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । मानिसहरूको बसोवासका लागि कृषियोग्य भूमि र जङ्गलको फडानी भइरहेको छ । यदि यसैगरी जनसङ्ख्या वृद्धि हुँदै रह्यो भने मानिसहरू समक्ष गाँस, बास, कपासको विकराल स्थिति उत्पन्न हुन सक्छ । यसबाट बच्ने एकमात्र उपाय के हो भने जसरी भए पनि बढी रहेको जनसङ्ख्यालाई नियन्त्रण गर्नुपर्छ । अन्यथा विकासमा विनाशले ग्रहण लगाउन बेर लगाउँदैन । यस सम्बन्धमा सबैको सहमतिबाट जनसङ्ख्या नियन्त्रण कानून ल्याउन सरकारको तर्फबाट खाँचो रहेको छ । जनसङ्ख्या वृद्धिको गतिलाई न्यून गर्नुमा नै नेपालको सुख र समृद्धि निर्भर छ । यो कुरा केही मानिसलाई तीतो लाग्न सक्छ तर सत्य के हो भने यदि आज जनसङ्ख्या नियन्त्रणका लागि कुनै कठोर पाइला चालिएन भने एक दिन त्यो पनि आउन सक्छ, जब जीवित रहनको लागि अरूको हत्या गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here